म्याग्दी हुँदै पूर्वी रुकुम जोड्ने वैकल्पिक मार्ग बन्छ : प्रचण्ड

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले म्याग्दी हुँदै पूर्वी रुकुम जोड्ने वैकल्पिक लोकमार्ग बन्ने बताएका छन्। स्थलमार्ग हुँदै आफ्नो निर्वाचन क्षेत्र जाने क्रममा बुधबार म्याग्दी आएका प्रचण्डले सदरमुकाम बेनीमा आयोजना गरेको चुनावी विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

बेनी–दरबाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने मार्गलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक राजमार्गको रूपमा विकास गरिने उनको भनाइ छ। म्याग्दी हुँदै जलजला पुगेको सडकको ट्र्याक निर्माणलाई पूर्णता दिएमा मध्यपहाडी लोकमार्गमा ६० किलोमिटर सडक छोटो हुनेछ।

नेकपाबाट म्याग्दीमा उम्मेदवार बनेका अर्जुन थापाले पश्चिम म्याग्दीको भाग्यरेखाको रूपमा आफ्नो चुनावी प्रतिबद्धतामा राखेको बेनी–दरबाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने मार्गलाई पूरा गराउन प्रचण्डले ढाडस दिएका हुन्।

‘यो सडक रणनीतिक महत्वको छ, यहाँबाट तपाईंहरूले नेकपाका उम्मेदवारलाई जिताएर पठाउनुस, म अहिले पूर्वी रुकुमको उम्मेदवार पनि बनेको छु र यो मार्ग बनाउने जिम्मेवारी पनि मेरै भएको छ, वैकल्पिक लोकमार्ग बन्छ तपाईंहरू ढुक्क हुनुस,’ प्रचण्डले भने।

संयोजक प्रचण्डले म्याग्दीको कृषि, जडीबुटीको विकास तथा प्राकृतिक र धार्मिक पर्यटनको विकासमा समेत आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। उनले विचार र मुद्दाको दृष्टिकोणमा नेकपा नै नेपालको नयाँ पार्टी भएको दाबीसमेत गरे।

महाधिवेशनबाट समाजवादी विचार र नेपाली विशेषताको समाजवाद घोषित रूपमा बोक्ने पार्टी नेकपा नै रहेको तथा राजनीतिक रूपमा समेत पछाडि परेका वर्ग र समुदायको हक, अधिकार र पहिचानको लागि संघर्ष गर्ने पार्टी नेकपा रहेको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले मुलुकको विकास र निकासका लागि आगामी निर्वाचनमा नेकपा ठुलो पार्टी बन्ने गरी जनताले अनुमोदन गर्ने दाबीसमेत गरे। जेन-जी युवाहरूको भावना सम्बोधन गर्ने अभिभावक पार्टी नेकपा नै रहेको बताउँदै उनले एमाले र कांग्रेससँग नेकपाको तुलना गर्न नमिल्ने जिकिर गरे।

सुझावित समाचार