बुधबार नेप्से परिसूचक स्थिरजस्तै रहेर कारोबार बन्द भएको छ। नेप्से ०.०४ अंकले मात्रै घटेको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ०.८१ अंकले बढेको छ।
आज कारोबार रकमसमेत अघिल्लो दिनको बराबरजस्तै छ। मंगलबार आठ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार आठ अर्ब ५३ करोडको कारोबार भएको हो।
नेप्सेका १३ समूहमध्ये पाँच समूहको मात्रै सूचक वृद्धि भएको छ। यद्यपि, सबै समूह एक प्रतिशतभन्दा कमको घटबढ देखिएको छ। बैंक, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बिमा समूहको सूचकमा मात्रै वृद्धि देखिएको हो।
बजार नगन्य अंकले घटे पनि रिडी पावर, सिँगटी हाइड्रो र आँखुखोला जलविद्युतका लगानीकर्ताले क्रमशः नौ, आठ र सात प्रतिशतभन्दा धेरै कमाएका छन्। ६ प्रतिशतभन्दा बढीको गिरावट देखिएका सुपर माई र शुभम् पावर सर्वाधिक गुमाउने कम्पनीमा परेका छन्।