लालबन्दी मेयर गोल्डकपको उपाधि बेङ्खाडीको पोल्टामा

मंगलबार, २७ माघ, २०८२
डिजिटल संस्करण

सर्लाहीको लालबन्दीमा सम्पन्न प्रथम लालबन्दी मेयर गोल्डकप २०८२ को उपाधि महोत्तरीको बेङ्खाडी युवा क्लबले जितेको छ । मंगलबार महोत्तरीको बेङ्खाडी युवा क्लब र घरेलु टोली जीवेश्वर युवा क्लबबिच भएको फाइनल खेलमा बेङ्खाडी युवा क्लब विजयी भएको हो ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–२ गोल अन्तरले घरेलु टोली जीवेश्वर युवा क्लबलाई पराजित गर्दै महोत्तरीको बेङ्खाडी युवा क्लबले उपाधि उचालेको हो । 

खेल लालबन्दी नगरपालिका– १ स्थित नवलपुर फुटबल रंगशालामा सम्पन्न भएको आयोजक जीवेश्वर युवा क्लबले जनाएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएका अवसरहरू सदुपयोग गर्न सकेनन् । जितसँगै बेङ्खाडी युवा क्लबले तीन लाख नगदसहित रनिङ सिल्ड पाएको छ भने उपविजेता बनेको आयोजक जीवेश्वर युवा क्लबले एक लाख ५० हजार, सिल्ड र मेडलमा चित्त बुझाउनुपर्याे । फाइनल खेलको म्यान अफ दी म्याचको उपाधि बेङ्खाडी युवा क्लबका खेलाडी रञ्जित आलेमगरले जिते । 

यस्तै, प्रतियोगिताको विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षकको उपाधि बेङ्खाडीका रोहन घिसिङले, उत्कृष्ट डिफेन्डरको उपाधि जीवेश्वरका रोहित बम्जनले, उत्कृष्ट मिडफिल्डरको उपाधि बेङ्खाडीका प्रदीप म्रिङचिङले, उत्कृष्ट फरवार्डको उपाधि जीवेश्वरका सागर कटुवालले, प्रतियोगिताको उत्कृष्ट गोलकर्ताको उपाधि धनुषा– ११ का वसन्त कुमालले र प्लेयर फ अवार्ड जीवेश्वर युवा क्लबका आदित्य चौधरीले प्राप्त गरे । 

गत माघ १६ गतेबाट जारी प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लब पर्सा, रतनपुर युनाइटेड युथ क्लब बारा, नेपाल खेलकुद क्लब रौतहट, धनुषा– ११ धनुषा, गोलबजार स्पोर्टस् क्लब सिराहा, न्यु त्रियुगा स्पोर्टस् क्लब सप्तरी, गाईघाट युवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फुटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल सङ्घ हेटौँडा, बेङ्खाडी युवा क्लब महोत्तरी र आयोजक जीवेश्वर युवा क्लबले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष दीपबहादुर बुढाथोकी (दीपेन्द्र)ले जानकारी दिए ।

सुझावित समाचार