अध्यागमनसँग मिलेर भिजिट भिसामा भएको लाखौँ असुली काण्डमा ट्राभल एजेन्सीका सञ्चालक रहेका बिचौलिया बालकृष्ण खड्का पाँच लाख रुपैयाँ धरौटीमा छुटेका छन्। ग्रिनलाइन होलिडेज प्रालिका सञ्चालक खड्कासँग मंगलबार विशेष अदालतले धरौटी माग्ने आदेश दिएको हो।
अख्तियार दुरुयोग अनुसन्धान आयोगले गत २५ मंसिरमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। जसमा प्रतिवादी रहेका भट्टराई यसअघि नै पाँच लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन्।
अख्तियारको अनुसन्धानमा खड्काले भिजिट भिसामा जाने मान्छे खोज्ने र भट्टराईले सोहीअनुसार प्रस्थान अनुमति दिने गरेको खुलेको छ। यसरी दिनमै अध्यागमनमा ५० लाख रुपैयाँभन्दा धेरै पैसा असुली हुने गरेको छानबिनमा खुलेको थियो। सहसचिव भट्टराई र बिचौलिया खड्काबिच नियमित रूपमा ह्वाट्सएपमा कुरा हुनुका साथै आर्थिक लेनदेन देखिएको थियो।
यस प्रकरणमा अख्तियारले तत्कालीन गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी, लेखकका पिएहरू बद्री तिवारी र जनक भट्ट, अध्यागमन विभागका तत्कालीन महानिर्देशक गोविन्द रिजाल तथा गृह मन्त्रालयका अन्य अधिकारीमाथि दोस्रो चरणमा छानबिन गरिरहेको छ।