‘वेब समिट कतार’मा नेपालको एआई कम्पनी ‘टिङ टिङ’

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

‘वेब समिट कतार २०२६’मा नेपाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘टिङ टिङ’ले ऐतिहासिक उपस्थिति जनाएको छ। कतारको दोहामा फेब्रुअरी ४ मा सम्पन्न चारदिने सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने ‘टिङ टिङ’ एक मात्र स्टार्टअप कम्पनी बनेको छ।

विश्वभरका प्रविधि विशेषज्ञ, दिग्गज लगानीकर्ता र नवप्रवर्तनकारी कम्पनीहरूको कुम्भमेला मानिने यस समिटमा १२० देशका १६ सयभन्दा बढी स्टार्टअपहरू सहभागी थिए। कम्पनीहरूबिचको कडा प्रतिस्पर्धा पार गर्दै टिङ टिङले आफ्नो स्थान सुरक्षित गरेको हो। नेपालमै निर्मित आफ्नै रिरी (Riri) इन्जिन र स्थानीय भाषालाई सूक्ष्म रूपमा बुझ्ने अत्याधुनिक प्रणालीका कारण कम्पनीले विश्वमञ्चमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको निर्माण टोलीले बताएको छ।

सम्मेलनको ‘स्टार्टअप सोकेस’मा टिङ टिङकी डाइरेक्टर अफ इन्जिनियरिङ एन्जेलिका साहले कम्पनीको तर्फबाट विशेष प्रस्तुति दिएकी थिइन्। सो क्रममा उनले भनिन्, ‘नेपालका ठुला बैंक, इन्टरनेट सेवा प्रदायक र सरकारी निकायहरूको सञ्चार प्रणालीमा सफलतापूर्वक प्रयोग भई ‘ब्याटल टेस्टेड’ भइसकेको हाम्रो प्रविधिले अब विश्वबजारमा पनि ठुला समस्याहरू समाधान गर्न सक्छ।’

के हो टिङ टिङ ?
टिङ टिङ एउटा कृत्रिम बौद्धिकताद्वारा सञ्चालित व्यावसायिक सञ्चार प्रणाली हो, जसले संस्थाहरूलाई ठुलो परिमाणमा सञ्चार र बुझाइ निर्माण गर्न सघाउँछ। यसले भ्वाइस, टेक्स्ट, टेलिफोन वा सामाजिक सञ्जालजस्ता सबै सञ्चारमाध्यमलाई एउटै इन्टेलिजेन्ट प्रणालीमा एकीकृत गर्ने निर्माण टोलीले जनाएको छ।

सुझावित समाचार