जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद २५ दिन थप
सरकारले जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः थप गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
गत ९ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको म्याद तेस्रोपटक थप भएको हो।
हेटौँडा सडक विस्तार विवाद पूर्ण इजलासमा, फागुन १० का लागि पेसी
हेटौँडा बजार क्षेत्रको सडक विस्तारसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिँदै फागुन १० गतेका लागि पेसी तोकेको हो ।
यसअघि सडक विस्तारसम्बन्धी निर्णयसँग जोडिएका मिसिल फाइल नआएकाले सर्वोच्चले ती फाइल झिकाउन आदेश जारी गर्दै माघ १८ गतेको पेसी तोकेको थियो । सोही दिन न्यायाधीशद्वयको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । आइतबार मात्र मुद्दाको तारेख तोकिएको हो ।
सडक विस्तारका क्रममा आफ्नो घरजग्गा र सम्पत्तिमा क्षति पुगेको भन्दै रास्वपाकी पूर्वसांसदसमेत रहेकी विन्दवासिनी कंसाकारसहितका स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा गत मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा ‘कारण देखाऊ आदेश’ जारी गरेको थियो । साथै, सडक विस्तारको काम तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश पनि दिइएको थियो ।
९६.७ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा
नेपालमा ९६.७ प्रतिशत घरपरिवार विद्युत् सेवाको पहुँचमा पुगेका छन्। सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण ०८१/८२ ले यस्तो देखाएको हो।
प्रदेशगत आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम घरपरिवार विद्युतकाे पहुँचमा छन्। गण्डकीका ९९.५ प्रतिशत र कर्णालीका ८०.८ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा रहेका सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणअनुसार ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोनको सुविधा छ। यो तथ्यांकमा स्थिर टेलिफोन वा मोबाइल फोन दुवैलाई समेटिएको छ। बागमतीमा सबैभन्दा धेरै (९७.१ प्रतिशत) र सुदूरपश्चिममा सबैभन्दा कम (९२.६ प्रतिशत) घरपरिवार टेलिफोन सुविधाको पहुँचमा रहेको देखिएको छ।
चर्चित ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य प्रकरण : मुख्य अभियुक्त गोरेलाई दश वर्ष सजाय थपियो
चर्चित ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या कसुरमा आजन्म कैद सजाय पाएका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई अदालतले सजाय थप गरेको छ ।
उच्च अदालत विराटनगरले साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या कसुरमा जिल्ला अदालत मोरङबाट आजन्म कैद सजाय पाएका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले १० वर्ष कैद सजाय थप गरेको हो ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासमा एक हप्तादेखि भएको सुनुवाइपछि २५ माघमा मुख्य अभियुक्त गोरेलाई सनम शाक्यको हत्या कसुरमा थप दश वर्ष कैद सजाय थप भएको हो ।
सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
सरकारले फिर्ता लिने निर्णय गरेको सामाजिक सञ्जाल विधेयकलाई राष्ट्रिय सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
आज बसेको राष्ट्रिय सभाको बैठकले विचाराधीन रहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ औपचारिक रूपमा फिर्ता भएको घोषणा गरेको हो। सभाका अध्यक्ष नारायण दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक फिर्ता भएको जानकारी गराएका थिए।
यसअघि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरेकी थिइन्।
राष्ट्रिय सभाको ०८२ भदौ १३ गतेको बैठकले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा कुल ३५ जना सांसदहरूले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।
नेपालमा ८२ प्रतिशत घरपरिवारले प्रयोग गर्छन् इन्टरनेट
नेपालमा प्रत्येक पाँचमध्ये चार घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरण प्रयोग गर्ने गरेको पाइएको छ। सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण ०८१/८२ अनुसार ८२ प्रतिशत घरपरिवारले इन्टरनेटसहितको उपकरणको प्रयोग गर्छन्।
तथ्यांकअनुसार १५–४९ वर्ष उमेर समूहमा आफ्नै मोबाइल फोन हुने महिलाभन्दा पुरुषको संख्या धेरै छ। ८१.६ प्रतिशत महिला र ९०.४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको देखिन्छ।
निर्वाचनका लागि भारतले उपहार दिएका गाडी सिंहदरबारमा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको छ । निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू अहिले जलेको सिंहदरबारअगाडि पार्किङ गरिएको छ ।
यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठुला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ । भारततर्फबाट नेपाल सरकारलाई जिम्मा लगाइसकेपछि ती गाडीहरू निर्वाचनका क्रममा आवश्यकता र उपयोगिताका आधारमा विभिन्न स्थान तथा निकायहरूमा वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।
नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम साढे १० अर्बमाथि
साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार १० अंकले घटेको नेप्से सोमबार २६.०५ अंकले घटेर दुई हजार ६७२.३९ विन्दुमा कायम भएको हो।
आज ३२४ कम्पनीका दुई करोड ६७ लाख ६६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आइतबार ११ अर्ब ५९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये व्यापार समूह ०.२४ प्रतिशतले बढ्दा बाँकी समूहको सूचकमा गिरावट देखिएको छ। वित्त समूह सर्वाधिक २.२९ प्रतिशतले घट्दा विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्य समूह एक प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।
ट्रान्सपोर्टमा छापा मार्न गएको सशस्त्रको टोलीमाथि आक्रमण
वीरगन्ज महानगरपालिका– १०, आदर्शनगरको ट्रान्सपोर्ट एरियामा छापामारी गर्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको छ।
सोमबार बिहान उक्त क्षेत्रमा गएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार भन्सार कार्यालयको संयुक्त टोलीलाई उनीहरूले आक्रमण गरेका थिए।
आक्रमणबाट दुईवटा गाडीको सिसा फुटेको छ भने तीनजना सशस्त्र प्रहरी सामान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले जनाएको छ।
कपडा नियन्त्रणमा लिएपछि तस्कर समूहको ढुंगामुढाबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले जानकारी दिए।
आक्रमणमा परेर सशस्त्र प्रहरी सहायक निरीक्षक महमद मुस्ताक अली, सहायक हवल्दार जितेन्द्रप्रसाद सहनी र सहायक हवल्दार जितेन्द्र पासवान सामान्य घाइते भएका छन्।
कपडा व्यापारी मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा नियन्त्रणमा लिने क्रममा झडप भएको उनले बताए। उनका अनुसार अवैध रूपमा भण्डार गरी राखेको सात लाख मूल्यबराबरको कपडा बरामद गरिएको छ।
१० घण्टाभित्र २६ स्थानमा भेटघाट गर्ने लामिछानेकाे कार्यक्रम तय
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोमबार रुपन्देहीमा चुनावी अभियान जारी छ। रुपन्देहीको पाँचवटा निर्वाचन क्षेत्रमा सभापति लामिछानेले १० घण्टाभित्र २६ स्थानमा आफ्ना आफ्ना शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
बिहान ८ बजे रुपन्देहीको खैरेनी देवदहमा कार्यक्रम सुरु गरेका उनले साढे आठ बजे देवदह– ६, ढकेबारमा, ९ बजे देवदहको शंकरपुरमा, साढे ९ बजे मजौली ओम सत्या गाउँपालिकामा कार्यकर्ता भेटघाट गरेका छन्।
त्यसैगरी साढे १० बजे रोहिणी गाउँपालिकाको ढकदै बजारमा, त्यसैगरी ११ बजे भैरहवाको बुद्धचोकमा, सवा ११ बजे भैरहवाकै मिलनचोकमा, त्यसैगरी सवा १२ बजे भैरवाको किशोरपुरमा, दिउँसो १ बजे कोटैमाईमा, त्यसैगरी सवा १ बजे मर्चवारको मर्चुवारी माईमा, २ बजे मायादेवी गाउँपालिकाको प्रसाहमा, सवा २ बजे सियारी गाउँपालिकाको छपिया चोकमा उनले कार्यकर्ता भेटघाट कार्यक्रम राखेका छन् ।