चर्चित ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य प्रकरण : मुख्य अभियुक्त गोरेलाई दश वर्ष सजाय थपियो

सोमबार, २६ माघ, २०८२
डिजिटल संस्करण

चर्चित ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या कसुरमा आजन्म कैद सजाय पाएका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई अदालतले सजाय थप गरेको छ  । 

उच्च अदालत विराटनगरले साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या कसुरमा जिल्ला अदालत मोरङबाट आजन्म कैद सजाय पाएका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले १० वर्ष कैद सजाय थप गरेको हो । 

उच्च अदालत विराटनगरका  न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासमा एक हप्तादेखि भएको सुनुवाइपछि २५ माघमा मुख्य अभियुक्त गोरेलाई सनम शाक्यको हत्या कसुरमा थप दश वर्ष कैद सजाय थप भएको हो ।   

उच्च अदालत विराटनगरले सनम शाक्य हत्या कसुरमा  जिल्ला अदालत मोरङबाट जन्मकैद (२० वर्ष) सजाय अभियुक्तहरू  नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको सजाय १० वर्ष घटाएर १० वर्ष मात्रै कायम गरेको छ । उक्त कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न रहेका अभियुक्त मदन सिलवाललाई जिल्लाको फैसला उल्ट्याउँदै  तीन वर्ष मात्रै  कैद सजाय सुनाएको छ। अभियुक्तहरू लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै आजन्म कैद सजायको फैसला सदर  गरेको छ । 

सुन तस्करी प्रकरण कसुरमा संलग्न प्रहरी अधिकारीहरूसहित अन्य अभियुक्तहरूको हकमा जिल्ला अदालत मोरङले सफाइ  दिएको फैसलालाई नै सदर गरेको छ । सफाइ पाउने प्रहरी अधिकारीहरूमा पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपी सञ्जयबहादुर राउत, प्रजित केसी र सइ बालकृष्ण सञ्जेललगायत छन् ।

०७४ मंसिरमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएको थियो । सोही सुन खोजी गर्ने क्रममा १८ फागुन ०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे)का सहयोगी मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्यको  हत्या भएको  थियो । उनको शव १९ फागुनमा  स्कारपियो जिपभित्र विराटनगर– १, पोखरियामा फेला परेको थियो ।

घटनास्थलबाट तत्काल टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए । उक्त हत्यापछि सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो । छानबिन समितिको  प्रतिवेदनको आधारमा नेपाल प्रहरीले विभिन्न चरणमा सरकारी वकिलको कार्यालय मोरङमार्फत जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी निकासी गरी अवैध कारोबार गरेको र मानव अपहरण गरी हत्या गरेको आरोपमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो  ।

सबै अभियुक्तहरूउपर २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म  संगठित आपराधिक सन्जाल बनाएर १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार ५६३ ग्रामबराबर सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या गरेको  अभियोगको माग दाबी थियो । संगठित सुन तस्करी र सनम शाक्य हत्या कसुरको उक्त मुद्दामा जिल्ला अदालत मोरङले मुख्य आरोपी चूडामणि उप्रेती (गोरे)सहित दशजना व्यक्तिलाई कैद सजाय भएको थियो ।   

सुझावित समाचार