नयाँ युगको सँघारमा उभिएको नेपाल

चेतनाको संक्रमणमा उभिएको नेपालमा पुरानो सोचले काम गर्न छोड्दै छ र नयाँ सोचले अझै स्पष्ट आकार लिइसकेको छैन

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

नेपाल फेरि एउटा राजनीतिक मोडमा उभिएको छ । सरकार फेरिने सम्भावना, दलभित्रको शक्तिसंघर्ष, गठबन्धनको पुनर्गठन, सडक र संसदबिचको तानातान यी सबै दृश्य हामीले पटक–पटक देखिसकेका छौँ । सतहमा हेर्दा यो सत्ता राजनीतिक हलचलजस्तो देखिन्छ । तर, अलि गहिरिएर हेर्ने हो भने, यो केवल सरकार बदलिने प्रक्रिया मात्र होइन; यो राजनीतिक चेतनाको संक्रमणकाल हो । जहाँ पुरानो सोचले काम गर्न छोड्दै छ र नयाँ सोचले अझै स्पष्ट आकार लिइसकेको छैन ।
आज नेपालमा समस्या ‘कुन दल सत्तामा आयो’ भन्ने होइन । समस्या ‘सत्तामा पुगेर के सोचिन्छ र के गरिन्छ’ भन्ने हो । यही विन्दुमा आएर हाम्रो राजनीति बारम्बार अड्किन्छ । सरकार फेरिन्छ, अनुहार फेरिन्छ, शैली फेरिन्छ, तर शासनको मनोविज्ञान उही रहन्छ । त्यसैले नागरिकको जीवनमा गुणात्मक परिवर्तन देखिँदैन । यो समस्या व्यक्ति वा दलको मात्र होइन, सोचको हो ।

नेपालका ठुला राजनीतिक दलहरू कुनै समय परिवर्तनका प्रतीक थिए । तिनले निरंकुशता भत्काए, जनताको आवाज उठाए र व्यवस्था परिवर्तन गरे । तर, समयसँगै ती दल आफैँ व्यवस्थाका कैदी बन्दै गए । आज दलहरूमा संगठन त छ, तर स्पष्ट दृष्टि छैन । नेतृत्व त छ, तर दार्शनिक स्पष्टता छैन । घोषणापत्र त छन्, तर भविष्यको विश्वसनीय नक्सा छैन । परिणामतः राजनीति उद्देश्यभन्दा पदतर्फ, सेवाभन्दा स्वामित्वतर्फ, परिवर्तनभन्दा संरक्षणतर्फ मोडिएको छ । राजनीति जब सेवाबाट स्वामित्वमा रूपान्तरण हुन्छ, नैतिकता स्वतः कमजोर हुन्छ । आजको नेपाली राजनीति यही मोडमा अड्किएको देखिन्छ ।

हामी राजनीतिक संकटलाई प्रायः सत्तासंघर्षका रूपमा व्याख्या गर्छौँ । तर, यो आधा सत्य मात्र हो । वास्तविक संकट सत्ता कसले लियो भन्ने होइन, सत्ता केका लागि प्रयोग गरियो भन्ने हो । राज्यको उद्देश्य के हो, सरकार किन चाहिन्छ र नागरिक केवल मतदाता हो कि सहनिर्माता, यी आधारभूत प्रश्नमा स्पष्टता नहुँदासम्म सत्ता सधैँ आशाकेन्द्रित रहन्छ । उद्देश्य अस्पष्ट हुँदा संघर्ष अनिवार्य हुन्छ, चाहे व्यवस्था जुनसुकै नामले चिनियोस् ।

आजको नेपाली समाज २१औँ शताब्दीको छ, डिजिटल, खुला र वैश्विक । तर, राजनीति अझै पुरानो सोच र पुरानो भाषामै अड्किएको छ । राज्यलाई रोजगारी दिने संस्थाका रूपमा हेर्ने दृष्टि अझै बलियो छ । विकासलाई बजेट र संरचनाको सूचीमा सीमित गरिन्छ । नागरिकलाई सिर्जनशील शक्ति होइन, लाभग्राही वा उपभोक्ताका रूपमा मात्र बुझिन्छ । यही कारणले ठुलो संख्यामा युवाहरू राजनीतिबाट टाढा हुँदै छन् । उनीहरूलाई राजनीति नचाहिएको होइन; यस्तो राजनीतमा चाख नभएको हो ।

आजको नागरिक नयाँ प्रश्न सोध्न थालेको छ । म किन सधैँ उपभोक्ता मात्रै रहुँ ? म किन निर्णय प्रक्रियाबाहिर रहुँ ? मेरो भूमिका मतदानमा मात्रै किन सीमित होस् ? यी प्रश्न विद्रोहका नारा होइनन् । यी चेतनाको परिपक्वताका संकेत हुन् । इतिहासले देखाएको छ, जब समाजले नयाँ प्रश्न सोध्न थाल्छ, पुरानो राजनीति असहज हुन्छ । नेपाल अहिले त्यही चरणमा उभिएको छ ।हरेक युग परिवर्तनसँगै नयाँ मानव चेतना जन्मिन्छ । आज नेपालमा देखिनथालेको चेतना भनेको उत्पादक चेतनायुक्त नागरिकको हो । यो नागरिक अनुदानभन्दा क्षमता खोज्छ, आदेशभन्दा सहभागिता खोज्छ र पहिचानभन्दा माथि उद्देश्य खोज्छ । यस्तो चेतनालाई पुरानो राजनीतिक संरचनाले सजिलै समेट्न सक्दैन । यही असहजता आज देखिने राजनीतिक तनावको वास्तविक कारण हो ।

नयाँ सोच भन्नाले अर्को दल खोल्नु वा पुराना नारालाई नयाँ शब्दमा दोहो¥याउनु होइन । नयाँ सोच भनेको राजनीतिक दर्शनको पुनर्संरचना हो । यसले राज्यलाई वितरणकर्ता होइन, सक्षम बनाउने संयन्त्रका रूपमा हेर्छ । शिक्षालाई रोजगार खोज्ने साधन होइन, सिर्जना गर्ने आधारका रूपमा बुझ्छ । विकासलाई उपभोगको गति होइन, उत्पादनको गुणस्तरसँग जोड्छ । यस्तो सोचले नागरिकलाई केन्द्रमा राख्छ, तर निर्भर होइन, उत्तरदायी र सहनिर्माता बनाउँछ ।

यस सन्दर्भमा राजनीति अब शासनको अभ्यास मात्र रहन सक्दैन । पुरानो राजनीति भन्छ, ‘हामी शासन गर्छौँ ।’ नयाँ युगको राजनीति भन्छ, ‘हामी सहनिर्माता बन्छौँ ।’ संसद् बहसको मञ्च मात्र होइन, समाधान खोज्ने प्रयोगशाला बन्नुपर्छ । सरकार आदेशकर्ता होइन, संयोजक बन्नुपर्छ । नागरिक दर्शक होइन, सक्रिय सहभागी बन्नुपर्छ । यस्तो रूपान्तरणविना लोकतन्त्र औपचारिक संरचनामा सीमित रहन्छ ।

नेपाल आज पतनको बाटोमा छैन । नेपाल पुरानो संरचनाबाट बाहिर निस्कने प्रक्रियामा छ । यो प्रक्रिया अव्यवस्थित देखिन सक्छ, तर यही असहजताभित्र नयाँ सम्भावना लुकेको हुन्छ । संसार आज प्रकृतिमैत्री, समुदायकेन्द्रित र चेतना आधारित विकास मोडेल खोजिरहेको छ । नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक बनोटले यस दिशामा प्रयोगशाला बन्ने सम्भावना बोकेको छ ।

नेपाल आज नयाँ युगको सँघारमा उभिएको छ । यहाँ संकट छैन, संक्रमण छ । समस्या विचारको अभाव होइन, चेतनाको अभाव हो । व्यवस्था फेरिँदा इतिहास बदलिन्छ, तर चेतना फेरिँदा युग बदलिन्छ । अब प्रश्नको शासनमा बस्छ भन्ने होइन; प्रश्न कस्तो मानव निर्माण हुँदै छ भन्ने हो । यही प्रश्नको उत्तरले नेपाललाई पुरानो घुम्तीमा रोक्ने कि नयाँ युगतर्फ अघि बढाउने भन्ने निर्णय गर्नेछ ।

सुझावित समाचार