आइतबार १० बजेसम्मका मुख्य १० समाचार

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

सनसनीपूर्ण खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित

नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को सनसनीपूर्ण आफ्नो पहिलो खेलमा दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग चार रनले पराजित भएको छ। 

आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८५ रनको लक्ष्य प्रस्तुत गर्याे। इंग्ल्यान्डको इनिङ्समा ज्याकोव बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक बनाएका थिए। प्रत्युत्तरमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदा १८० रन बनायो। 

पावर प्लेमा नेपालले दुई विकेट लिन सफल भएको थियो। तर, इंग्ल्यान्डले भने अर्कोतर्फबाट आक्रामक ब्याटिङ गर्दै ५७ रन बनायो।  पावर प्लेपछि पनि इंग्ल्यान्डले दमदार ब्याटिङ गर्दै बलियो स्कोर खडा गर्न सफल भयो। यता, नेपालले पनि सानदार सुरुवात गरेको थियो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले तीन ओभरमै ३१ नर जोड्दै इंग्ल्यान्डका बलरलाई दबाबमा राखेका थिए।

परीक्षा नै नदिएका र फेल भएका १८ चालकलाई लाइसेन्स जारी गर्ने यातायातका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

लिखित र ट्रायल नै नदिएका तथा फेल भएका १८ जना सवारीचालकलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने यातायात कार्यालयका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष ०७५/७६ मा प्रयोगात्मक परीक्षा (ट्रायल) नतिजा (फिल्ड) रिपाेर्टमा फेल तथा अनुपस्थित जनाइएका १८ जना व्यक्तिका नाममा ‘ए’ (मोटरसाइकल/स्कुटर) र ‘ई’ (ट्रयाक्टर) वर्गका लाइसेन्स जारी गरेको खुलेपछि अख्तियारले त्यसमा संलग्न कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो।

परीक्षा समितिको अध्यक्षको रूपमा रही यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटा, परीक्षा समितिका सदस्यहरू मेकानिकल सुपरभाइजर शम्भु दाहाल र जिल्ला प्रहरी कार्यालय जुम्लाका तत्कालीन प्रहरी नायब निरीक्षक (सइ) गंगाराम विकलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध विदेशमा रहेका व्यक्तिका नाममा लाइसेन्स जारी गर्न सिफारिस गरी लाइसेन्स जारीसमेत गरेको, ट्रायल नतिजामा फेल जनाइएकोमा कम्प्युटर प्रविष्टमा सम्पादन गरी फेल नतिजालाई पास बनाएर लाइसेन्स जारी गरेको आरोप छ ।

विदेशमा रहेका व्यक्ति शालिकराम भण्डारीको नाममा ‘ए’ वर्गको लाइसेन्स जारी भएको थियो । भण्डारी १९ भदौ ०७० देखि २३ भदौ ०७५ सम्म वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा थिए । उनलाई २० साउन ०७५ गतेको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल)मा पास गराइएको भेटिएको छ । त्यसका आधारमा पाँच दिनपछि २५ साउनमा भण्डारीको नाममा ‘ए’ वर्गको लाइसेन्स जारी गरेको भेटिएको छ । लिखित परीक्षा र ट्रायल तथा लाइसेन्स जारी हुँदा उनी मलेसियामै थिए ।

रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आइतबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(९) र (१०) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (घ)समेतको व्याख्याको प्रश्न सन्निहित रहेको देखिँदा उक्त संवैधानिक एवं कानुनी व्यवस्थाको व्याख्या प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइको बखत हुने हुँदा सुविधा सन्तुलनको दृष्टिबाट मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकोमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च गएका थिए।

अभिनेता थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटोफिचर)

अभिनेता सुनील थापाको पार्थिव शरीर आइतबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा मन्त्री, कलाकार, आफन्त तथा हजारौँ शुभेच्छुकको उल्लेख्य उपस्थिति थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने चलचित्र कलाकार संघको झन्डासमेत ओढाइएको थियो।

नेपाल प्रहरी प्रमुखदेखि कलाकार नीर शाह, शम्भुजित बाँस्काेटालगायतले आर्यघाटमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरे। थापाका छोराले दागबत्ती दिएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

यसअघि थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा राखिएको थियो, जहाँ कलाकार र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए। अभिनेता थापाको शनिबार बिहान काठमाडौंमा हृदयघातका कारण ६८ वर्षको उमेरमा निधन भएको हो।

‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता–कार्यकर्ता परिचालन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले जिम्मेवारी तोकिएकाबाहेक सबै नेता–कार्यकर्तालाई आफ्ना–आफ्ना क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ । ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरिएको हो ।

आइतबार बिहान सम्पन्न कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी पाएका नेता–कार्यकर्तालाई तोकिएको काम सम्पन्न गरी आफ्नो क्षेत्रमा फर्कन निर्देशन दिएको छ । ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले त्यहीँ खटिने’ नीतिअनुसार पार्टीका सबै साथीहरू चुनावी मैदानमा खटिने कांग्रेसले जनाएको छ ।

पार्टी पंक्तिलाई एउटै वडाको क्रियाशील सदस्य अर्को वडा वा अर्को क्षेत्रको वडामा गएर क्रियाशील नहुन अनुरोध गर्ने निर्णय गरिएको छ । साथै, भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध नेता–कार्यकर्तालाई पनि आफ्नै क्षेत्रमा सक्रिय हुन आग्रह गरिएको छ ।

सीमानाकामा नेपालीलाई सधैँको सास्ती

भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपालीसँग गौरीफन्टा सीमानाकामा गरिने अवैध असुली रोकिएको छैन । नाकामा खटिएका भारतीय भन्सार कर्मचारीले सामान ल्याएकोलगायत वहानामा नेपालीसँग पैसा असुल्ने गरेका छन् । स्वदेश फर्कनेको ठुलो भिड हुने चाडबाडका वेला अवैध असुलीको विषय अरू वेलाभन्दा बढी उठ्ने गरेको छ ।   

भारतको नयाँदिल्लीबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका बास्कोटाका खेमराज ओझाले भारतीय भन्सार कर्मचारीलाई सय रुपैयाँ बुझाएर आएको बताए । ‘घरपरिवारका लागि लुगाकपडा ल्याएको थिएँ, सामानको पैसा लाग्छ भन्यो,’ त्रिनगर नाकामा भेटिएका उनले भने, ‘हामीसँगै आएका पाँचजना थियौँ, सबैले सय–सय भारु बुझाएर आयौँ ।’ 

भारतको राजधानी नयाँदिल्लीमा होटेलमा काम गर्ने उनले पारिवारिक कामले आफू घर फर्कन लागेको बताए । भारतीय भन्सार कर्मचारीले सामान ल्याएर फर्कने नेपालीलाई सडकछेउमा सिसा र आल्मुनियमबाट बनाएको अस्थायी संरचनामा बोलाएर पैसा असुल्ने गरेका छन् । उनीहरूले सामानको पोका हेरेर डेढ–दुई सय रुपैयाँसम्म माग्ने गरेको घर फर्कने नेपालीहरू बताउँछन् ।

प्रधानमन्त्री कार्कीले भनिन्– आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ

आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेपाली क्रिकेट टोलीले देखाएको प्रदर्शनले आशा जगाएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले टोलीको खुलेर प्रशंसा गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री कार्कीले खेलमा जित–हार स्वाभाविक भए पनि मैदानमा देखिएको आत्मविश्वास र प्रतिस्पर्धात्मक खेल नै सबैभन्दा ठुलो उपलब्धि भएको बताइन्।

इंग्ल्यान्डले दिएको १८५ रनको चुनौती पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा क्रिजमा अनुभवी ब्याटर लोकेश बम रहे पनि नेपाल लक्ष्यमा पुग्न सकेन।

यद्यपि, प्रधानमन्त्री कार्कीले परिणामभन्दा पनि खेल्ने शैली महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नेपाली टोलीको प्रयास तारिफयोग्य भएको बताइन्।

उनले लेखेकी छिन्, ‘जित र हार खेलको हिस्सा हुन्। हामीले कस्तो खेल प्रस्तुत गर्यौँ भन्ने कुरा महत्त्वपूर्ण हो। आज नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। आशा अझै बाँकी छ।’

प्रधानमन्त्री कार्कीले बालुवाटारस्थित आफ्नो निवासबाट प्रत्यक्ष रूपमा खेल हेरेकी थिइन्। नेपाली टोलीको साहसी खेलले समर्थक र नेतृत्व दुवैमा आगामी खेलप्रति विश्वास बढाएको देखिन्छ।

टुँडिखेल : जहाँ खाली खुट्टाले विश्वकपको सपना देख्छन् [फाेटाेफिचर]

काठमाडौंको मुटुमा रहेको टुँडिखेलको धुलोमा राजनीतिको राप मात्र होइन, क्रिकेटको प्रेम पनि मिसिएको छ। टुँडिखेलको खुला मैदानमा अचेल बालबालिकादेखि युवासम्म क्रिकेट खेल्दै गरेका भेटिन्छन्। कतिपय त खाली खुट्टा नै खेलिरहेका हुन्छन्। सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपाल अहिले तेस्रोपटक विश्वकपको मञ्चमा उभिँदै गर्दा यो सफलतामा टुँडिखेलको पनि नाम जोडिन्छ।

रेडियोमा कमेन्ट्री सुनेर क्रिकेट कसरी खेल्ने भन्ने सिक्नुपर्ने त्यो समयमा युवाहरू यहीँ खेल खेल्थे। टुँडिखेलमा क्रिकेट खेलेका क्यानका पूर्वसचिव विनयराज पाण्डेले त्यो समयमा अहिलेजस्तो क्रेज नभएको बताउँछन्। ‘रेडियोमा क्रिकेट कमेन्ट्री सुनेर कसरी खेल्ने भन्ने सिक्नुपर्ने अवस्था थियो त्यतिवेला। टुँडिखेलमा मदन मेमोरियल नकआउट र विश्व ट्रफी भन्ने लिग सञ्चालन हुन्थ्यो। हप्ताको एक दिन शनिबार मात्र खेल हुन्थ्यो,’ उनी भन्छन्।

यी दुई टुर्नामेन्ट कात्तिकदेखि सुरु भएर फागुनमा सकिन्थ्यो। पाण्डेका अनुसार त्यस वेला नेपालमा ५–६ वटा क्लब थिए। ‘म सचिव हुँदा खेलकुद परिषदबाट वार्षिक तीन हजार बजेट आउँथ्यो र हामीले जस्तोसुकै अवस्थामा पनि निरन्तरता दिँदै आयौँ,’ उनले भने।

टुँडिखेलमै क्रिकेट खेलिरहेको अवस्थामा भेटिएका महोत्तरीका अमनकुमार झा पेसाले कुकुर ट्रेनर हुन्। पछिल्लो दुई वर्षदेखि उनी बिदाको समयमा साथीहरूसँग क्रिकेट खेल्न त्यहाँ पुग्छन्। काठमाडौंमा धेरै खुला ठाउँ नभएकाले पनि खेल्ने ठाउँको कमी भएको झा बताउँछन्। 

पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुनुपर्दैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित नहुने दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राख्दै सभापति थापाले  स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने नेपाली कांग्रेसको संकल्प रहेको उल्लेख गरे । 

अब प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बिमा हुनुपर्ने उनले बताए ।  ‘नत्र यो चल्न सक्दैन,’ उनले भने । बिमा कार्यक्रम चलाउन आफूले प्रशस्त अध्ययन गरेर तयारी गरेको पनि सभापति थापाले बताए ।

सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एक मात्र उपाय बिमा भएकाले कांग्रेसले सरकार बनाउँदा त्यसलाई प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो मूल प्रतिबद्धता रहेको उल्लेख गरे । 

रंगेलीमा घरभित्रै श्रीमतीको शव फेला, श्रीमान् पक्राउ

मोरङको रंगेलीमा आइतबार घरभित्र श्रीमती मृत फेला परेपछि श्रीमान् पक्राउ परेका छन्।

रंगेली नगरपालिका– २, जलियाकी ३५ वर्षीया मोरमई मुर्मू आइतबार दिउँसो साढे १२ बजे आफ्नो घरभित्रको कोठामा मृत फेला परेपछि श्रीमान्  साइना मुर्मू अनुसन्धानका लागि पक्राउ परेका हुन्।

मोरङ प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार आफ्नै घरभित्र श्रीमती मृत फेला परेको र स्थानीयले श्रीमानमाथि शंका गरेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। मृतकको नाडीमा सामान्य चोटजस्तो मात्र देखिएकाले शव परीक्षण प्रतिवेदनपछि आत्महत्या वा हत्या भन्ने यकिन हुने प्रहरीको भनाइ छ।
 

सुझावित समाचार