अभिनेता सुनील थापाको पार्थिव शरीर आइतबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा मन्त्री, कलाकार, आफन्त तथा हजारौँ शुभेच्छुकको उल्लेख्य उपस्थिति थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने चलचित्र कलाकार संघको झन्डासमेत ओढाइएको थियो।
नेपाल प्रहरी प्रमुखदेखि कलाकार नीर शाह, शम्भुजित बाँस्काेटालगायतले आर्यघाटमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरे। थापाका छोराले दागबत्ती दिएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
यसअघि थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा राखिएको थियो, जहाँ कलाकार र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए। अभिनेता थापाको शनिबार बिहान काठमाडौंमा हृदयघातका कारण ६८ वर्षको उमेरमा निधन भएको हो।



