कपिलवस्तुका प्रहरीबाट छाडा चौपाया नियन्त्रण अभियान : ५६ गाई भागीरथी गौ संरक्षण केन्द्रमा स्थानान्तरण

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण

कपिलवस्तुमा बढ्दो छाडा चौपायाका कारण किसानको बाली नष्ट हुनुका साथै सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रण अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानबाट संकलन गरिएका ५६ वटा छाडा गाईलाई बाणगंगा नगरपालिका– ८ स्थित भागीरथी गौ संरक्षण विकास केन्द्र (मोभुवन धाम)मा लगेर छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले छाडा चौपायाका कारण किसान र सर्वसाधारणले भोग्दै आएको समस्या समाधान गर्न प्रहरी स्वयं सक्रिय भएको बताए । ‘किसानले लगाएको बाली जोगाउन र सडक दुर्घटना न्यूनीकरण गर्न यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर अभियानलाई निरन्तरता दिइनेछ ।’

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले छाडा चौपायाका कारण हुने क्षति र जोखिम कम गर्न प्रहरी गम्भीर रहेको स्पष्ट पारे । ‘छाडा चौपायाले बाली नष्ट गर्नुका साथै सडकमा दुर्घटनाको अवस्था सिर्जना गरिरहेको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न गौ संरक्षण केन्द्रसँग सहकार्य गर्दै चरणबद्ध रूपमा चौपाया स्थानान्तरण गरिएको हो ।

प्रहरीको यो पहलले किसानलाई राहत पुग्ने र सडक सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयवासीको विश्वास छ । आगामी दिनमा पनि यस्ता अभियानलाई थप प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुझावित समाचार