संयुक्त राज्य अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल इरान छोड्न सुझाव दिएको छ । दुई देशबिच तनाव बढिरहेका वेला शनिबार अमेरिकाले आफ्ना नागरिकलाई देश छाड्न सुझाव दिएको हो । इरानस्थित भर्चुअल अमेरिकी दूतावासले जारी गरेको एक सुझावमा अमेरिकी नागरिकलाई अमेरिकी सरकारको सहयोगमा भर नपरी प्रस्थान योजना तयार गर्न भनिएको छ । इरानभर अशान्ति बढेको र यात्रा अवरोध कायमै रहेको पनि सुझावमा जनाइएको छ ।
१९७९ को इस्लामिक क्रान्ति र तेहरानमा दूतावास बन्धक संकटदेखि नै संयुक्त राज्य अमेरिका र यसको कट्टर प्रतिद्वन्द्वी इरानबिचको तनाव लामो छ । डिसेम्बर २०२५ को अन्त्यमा सुरु भएको विशाल विरोध आन्दोलनमाथिको रक्तपातपूर्ण कारबाहीको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिएपछि तनाव बढेको छ । ट्रम्पले खाडीमा युद्धपोत तैनाथ गरेका छन्, जसमा विमानवाहक युएसएस अब्राहम लिंकन र यसको एस्कर्ट पनि समावेश छ । तथाकथित आर्मडा जनवरीको अन्त्यदेखि यस क्षेत्रमा तैनाथ गरिएको छ ।
के छ एड्भाइजरीमा ?
अमेरिकी एड्भाइजरीले अमेरिकीलाई ‘अहिले इरान छोड्न र अमेरिकी सरकारको सहयोगमा भर नपर्न’ सुझाव दिएको छ । अमेरिकी नागरिकले सम्भावित इन्टरनेट अवरुद्धको सामना गर्नुपर्ने बताइएको छ । ‘त्यसकारण, उनीहरूले सञ्चारको वैकल्पिक माध्यमको योजना बनाउनुपर्छ र यदि सुरक्षित छ भने इरानबाट स्थलमार्ग हुँदै आर्मेनिया वा टर्की जाने कुरामा विचार गर्नुपर्छ,’ एड्भाइजरीमा भनिएको छ । ‘उडान रद्द र अवरोधहरू सम्भव छन् । अद्यावधिकका लागि सीधै आफ्नो एयरलायन्ससँग जाँच गर्नुहोस् । यदि तपाईं छोड्न सक्नुहुन्न भने आफ्नो निवास वा अर्को सुरक्षित भवनभित्र सुरक्षित स्थान खोज्नुहोस् । खाना, पानी, औषधि र अन्य आवश्यक वस्तुको आपूर्ति गर्नुहोस् । प्रदर्शनबाट बच्नुहोस् र आफ्नो वरपरका घटनाबारे सचेत रहनुहोस्,’ एड्भाइजरीमा भनिएको छ ।
सुझावमा अगाडि भनिएको छ, ‘ताजा समाचारका लागि स्थानीय मिडियाको निगरानी गर्नुहोस् । आफ्ना योजना समायोजन गर्न तयार रहनुहोस् । आफ्नो फोन चार्ज राख्नुहोस् र परिवार र साथीलाई आफ्नो स्थितिबारे जानकारी गराउन सम्पर्क कायम राख्नुहोस् । इरानमा सुरक्षासम्बन्धी नवीनतम अपडेट प्राप्त गर्न स्मार्ट ट्राभलर नामांकन कार्यक्रम (एसटिइपी) मा दर्ता हुनुहोस् ।’ वासिंटनले अमेरिकी–इरानी दोहोरो नागरिकता भएकालाई इरानी राहदानीमा इरान छोड्न पनि सल्लाह दियो । इरानी सरकारले दोहोरो नागरिकतालाई मान्यता नदिने र अमेरिकी–इरानी दोहोरो नागरिकता भएकालाई केवल इरानी नागरिक मानिने एड्भाइजरीमा स्मरण गराइएको छ ।
इरान अमेरिका तनाव
इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका–इरान तनाव जारी छ, जसका कारण एक–अर्काले हवाई आक्रमणको चेतावनी दिएका छन् । ट्रम्पले इरानमाथि आक्रमण गर्ने बारम्बार धम्की दिँदै आएका छन् । सन् २०२५ को जुन १३ मा इजरायलले इरानविरुद्ध व्यापक सैन्य कारबाही सुरु गरेको थियो । उसले तेहरानका आणविक सुविधा, सैन्य प्रतिष्ठान र शासनसँग सम्बन्धित पूर्वाधारमा घातक प्रहार गर्यो । इजरायल र इरान–सम्बद्ध अतिवादी समूहबिचको लगभग दुई वर्षको शत्रुतापछि उक्त आक्रमण भएको थियो । सन् २०२४ मा दुई प्रत्यक्ष इजरायल–इरान टकरावपछि पहिलोपटक यो द्वन्द्व भयो ।
द्वन्द्व तीव्र हुँदै जाँदा अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित गर्दै तेस्रो पक्षको रूपमा लडाइँमा प्रवेश गर्यो । यसले द्वन्द्वमा नयाँ मोड लिनुका साथै द्वन्द्वमा घिउ थप्यो । स्वाभाविक रूपमा अमेरिकी आक्रमणलाई निस्तेज गर्ने क्षमता तेहरानसँग थिएन । वासिंटनको दबाबबिच जुन २४ मा युद्धविरामको घोषणासँगै अन्ततः बाह्र दिनको लडाइँ समाप्त भयो ।