इतिहासको पहिलो लोकतन्त्रमा यसरी हुन्थ्यो चुनाव

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण
  • इसापूर्व ५७४ मा ग्रिक नगरराज्यको एथेन्समा लोकतान्त्रिक निर्वाचनका लागि ६ हजार जनासम्म प्रतिनिधि सहभागी हुन्थे 

अन्य धेरै कुराजस्तै मतदान र लोकतन्त्रमा पनि प्राचीन विश्वको ठुलो देन छ । उसो त आदिम समाजमा पनि शासक(राजा वा नेता) मतदानमार्फत छान्ने गरेको मानवशास्त्रीहरू बताउँछन् । तथापि, ऐतिहासिक प्रमाणका आधार भने मतदान तथा लोकतान्त्रिक परम्पराको सबैभन्दा पुरानो अभ्यास प्राचिन ग्रिकका नगर राज्यमा भेटिन्छ । 

ग्रिक नगर राज्यमध्ये सबैभन्दा परिचित एथेन्समा इसापूर्व ५७४ मा सोलनले एक नयाँ संविधान जारी गर्दै समाजका उपल्ल्लो वर्गबाहिर पारिएका समूहलाई पनि राज्यमा सहभागी गराए । पछि क्लाइस्थिनीजले चुनावी व्यवस्थामा सुधार गर्दै मताधिकार थप विस्तार गरे । पाँचौँ शताब्दी इसापूर्वसम्म पुग्दा एथेन्सका अधिकाश पुरुषहरूलाई मत हाल्न पाउन सक्ने भइसकेका थिए । राज्य युद्धमा संलग्न हुने वा नहुनेदेखि सैन्य जनरलको नियुक्ति र खतरनाक हुन सक्ने व्यक्तिलाई राज्यबाट निर्वासित गर्नेदेखि विषयसम्म चुनावबाट निर्णय गरिन थाल्यो । अर्थात् ग्रिक लोकतन्त्रको स्वर्णयुगमा एथेन्स नगरराज्यभित्र हरेक महत्वपूर्ण निर्णय मतदानबाट टुंगो लाग्ने अभ्यास बसेको थियो ।  

एथेनियन लोकतन्त्रको जन्म र विकास
तत्कालीन समयमा एथेन्स नगर राज्यमा अभ्यास गरिने लोकतन्त्रलाई ‘डेमोक्रेटिया’ भनिन्थ्यो, जसको शाब्दिक अर्थ ‘जनताको शासन’ भन्ने हुन्छ । आज लोकतन्त्रका लागि प्रयोग गरिने अंग्रेजी शब्द ‘डेमोक्रेसी’ यही ग्रिक शब्द ‘डेमोक्रेटिया’बाटै आएको हो । तथापि ग्रिकमा जे अभ्यास भयो, त्यो लोकतन्त्रको प्रत्यक्ष मोडल थियो, जुन आजको प्रतिनिधिमुलक लोकतन्त्रभन्दा केही फरक छ । प्रत्यक्ष लोकतन्त्रमा नागरिकहरूको सार्वजनिक जीवनमा सक्रिय सहभागिता हुने गर्छ । 

प्राचिन ग्रिकको लोकतन्त्र पनि लामो संघर्ष, विद्रोहको प्रतिफल थियो । २,५०० वर्षभन्दा अघि सोलनको सुधार अघि भने ग्रिक नगर–राज्यमा शासन राजा महाराजा वा स्रोतमाथि पहुच भएका कुलीनहरूको मात्र विशेषाधिकार मानिन्थ्यो । शासनमा आम सर्वसाधरण नागरिकको सहभागिता वर्जित भएको असन्तुष्टि चुलिदै गएको थियो । भूमि स्वामित्व र सम्पत्तिको असमानता वितरणले समाजमा विभेद निक्कै चुलिएको थियो । ऋणको भारका कारण दासत्वमा धकेलिन मानिसको संख्या दिनानुदिन बढिरहेको सन्दर्भमा विद्रोह उठ्न पुग्यो । समाज विखन्डनको संघारमा गएपछि सोलोनले सुधारहरू अघि सारेका थिए । 

सोलनको सुधारले धनी गरिबबिचको गहिरो असमानता, त्यसले निम्त्याएको असन्तुष्टि र विद्रोहको विषयलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने प्रयास गरेको थियो । उनले ऋण खारेजी गर्दै आर्थिक कारणले दासत्वमा धकेलिएका एथेन्सवासीहरूलाई मुक्त गरे । सोलोनले समाजमा व्याप्त असमानताका विभिन्न तहलाई सम्बोधन गर्न धनसम्पत्तिमा आधारित चार–वर्ग प्रणाली पनि निर्माण गरे । आजको दृष्टिकोणमा यो व्यवस्था पनि असमान नै थियो । तर यस वर्गीकरणबाट त्यतिवेला अभिजात वर्गले मात्र अभ्यास गर्ने राजनीतिक र प्रशासनिक भूमिकामा अन्य वर्गका मानिसको प्रवेश सुनिश्चित गरिएको थियो । यी परिवर्तनले एथेन्सको सामाजिक संरचनालाई स्थिर बन्न सघायो । राज्यको दैनिक सञ्चालनमा व्यापक नागरिक सहभागिताको आधार तयार पार्यो । यिनै महत्वपूर्ण सुधारका प्रतिपातक भएका नाताले इसापूर्व चौथो शताब्दीका दार्शनिक एरिस्टोटलले सोलनलाई ‘आमनागरिकको पहिलो नायक’का रुपमा वर्णन गरिएका छन् ।

सोलनले सुरु गरेको सुधारलाई क्लाइस्थिनीजले थप सबल बनाए । इसापूर्व ५७० देखि इसापूर्व ५०८ बिच बाँचेकालाई क्लाईस्थिनीजलाई केहीले एथेनियन लोकतन्त्रका वास्तविक वास्तुकार पनि भन्ने गर्छन् । उनले जीवनको उत्तराद्र्ध अर्थात् इसा पूर्व ५०८ मा गरेका सुधारहरूले सहरको राजनीतिक परिदृश्यलाई नै रूपान्तरण गर्‍यो । कुलीन परिवारहरूको शक्तिलाई सीमित गर्न उनले समाजलाई ‘डेम्स’ भनिने दश सामुदायिक समूहमा विभाजित गरे । यस परिवर्तनले एथेन्सवासीको राजनीतिक पहिचान वर्गको सट्टा बसोवास गर्ने क्षेत्रको आधारमा गर्‍यो । 

यस क्रान्तिकारी कदमले विगतमा सत्तामाथि पकड राख्ने केही सीमित शक्तिशाली परिवारहरूको प्रभावलाई उलेख्य कमजोर बनायो । शासनको आधार वंशानुगतबाट क्षेत्रीय प्रतिनिधित्वमा सर्‍यो । क्लाइस्थिनीजका गठन गरेका दस सामुदायिक प्रणालीको अर्को उदेश्य पनि थियो, कुनै एकल गुटलाई सरकारमाथि हावी हुनबाट रोक्नु । योसँगै एथेन्सको शासन सिमित परिवारबाट वास्तविक रूपमा वृहत्तर मानिसको शासनमा बदलियो ।

सोलन र क्लिस्थेनिसका सुधारहरूले अभूतपूर्व नागरिक सहभागिताको ढोका खोल्यो । प्रत्यक्ष लोकतन्त्रको मोडेल सिर्जना गर्‍यो । तत्कालीन अवस्थाको प्रत्यक्ष लोकतन्त्रमा निर्वाचित प्रतिनिधि होइन, स्वयं जनता नै राज्यका महत्वपूर्णमा सहभागी हुन थाले । प्रत्यक्ष लोकतन्त्रको यस मोडेलमा चुनाव प्रतिनिधि छान्न नभई निर्णय गर्नलगायतमा केन्द्रित थियो । 

प्रत्यक्ष लोकतन्त्रमा मतदानको अभ्यास

ग्रिसको राजधानी एथेन्समा रहेको पहाडको ढिस्को, जहाँ एथेन्सका प्रतिनिधिहरू जम्मा भई लोकतन्त्रको अभ्यास गर्थे । तस्बिर : एजेन्सी

एथेनियन लोकतन्त्रको केन्द्र थियो, ‘एक्लेसिया’ वा आजको बुझिने भाषामा भन्दा नागरिक सभा । क्लिस्थेनिसको सुधारपछि एक्लेसिया शासनको मुख्य आधार बनेको थियो । यसले प्रत्यक्ष सहभागिताको सिद्धान्तलाई मूर्त रूप दियो । नगरराज्यका सबै वयस्क पुरुष नागरिक यस नागरिक सभामा अनिवार्य उपस्थित हुनुपर्थ्यो । कुनै समय सभामा ६,००० सम्म सहभागि हुन्थे । त्यति धेरै मानिस अट्ने गरी एक्रोपोलिसको पश्चिमतर्फको विशाल खुला क्षेत्र ‘नीक्स हिल’मा सभा बस्ने व्यवस्था गरिएको थियो । त्यस वर्षमा लगभग ४० पटक नागरिक सभाको बैठक बस्थ्यो । 

सभामा एथेन्सका नागरिकहरूले राज्यलाई प्रत्यक्ष रूपमा असर गर्ने मुद्दामा आफ्नो विचार राख्न सक्थे । आधुनिक प्रणालीमा जनताले निश्चित संख्यामा निर्वाचित प्रतिनिधिहरू चुनेर पठाउने संसद्मा जस्तो बहस र मतदान हुन्छ, त्यही काम एथेनियन लोकतन्त्रमा नागरिक स्वयं उपस्थित भएर गर्थे । सैन्य अभियान सञ्चालन गर्नेदेखि सार्वजनिक खर्चको सिमा तोक्नेसम्म, कुन राज्यसँग गठबन्धन गर्नेदेखि कानुन निर्माणसम्मका विषयहरू ती बैठकमा छलफल हुन्थे । सभाले गर्ने प्रत्येक निर्णय बहुमतको मतले निर्धारण गरिन्थ्यो । मतदान विधिका रूपमा सहभागीहरू हात उठाउनेदेखि सहमत असहमतहरूको संख्या देखाउन दुईवटा ठुला माटोको ग्याम्पोमा ढुंगा वा फुटेका भाडाका टुक्रा हाल्ने गरिन्थ्यो । 

एक्लेसियालाई सघाउन र नगरराज्यको दैनिक प्रशासनको काम गर्न ‘बोउले’ नामक एक ५०० सदस्यीय परिषद् गठन गरिएको थियो । यो एकप्रकारको नगरराज्यको प्रशासनिक निकायजस्तो थियो । परिषद्को क्षेत्राधिकारमा नगर सभामा छलफल गरिने एजेन्डा तय गर्नेदेखि वित्त व्यवस्थापन गर्ने र नागरिक कर्तव्यहरूको निरीक्षण गर्नेसम्मका विषय पर्थ्यो । 

त्यस परिषद्मा अभिजात वर्गको प्रभुत्व नहोस् भनेर प्रतिनिधि चयनमा चिट्ठाप्रथा लागू गरिएको थियो । चिट्ठामार्फत परिषद्का ५०० सदस्य चुनिएपछि तिनलाई ५० जनाको समूहमा विभाजित गरिरे प्रत्येकलाई दश सामुदायिक एकाइमध्ये एकको प्रतिनिधित्व गर्ने जिम्मेबारी दिइन्थ्यो । तिनले चक्रिय रुपमा बोउलेको नेतृत्व गर्थे । यो व्यवस्था एथेन्सभरि समान प्रतिनिधित्व सुनिश्चित गर्न बनाइएको थियो ।

एथेन्सको लोकतन्त्रलाई गतिशील बनाउन एक्लेसिया र बोउलेलगायत अन्य धेरै प्रमुख पद पनि सिर्जना गरिएको थियो । प्रत्येक वर्ष सभाले दसजना ‘रणनीतिज्ञ(स्ट्राटिगो)’ वा जनरल चुन्थे । प्रत्येक डेमबाट एकजना गरेर चुनिने दस सैन्य जनरल तिनको सैन्य कौशलको आधारमा मतदानबाट चयन गरिन्थे । ‘आर्कन’(प्रमुख मजिस्ट्रेट)’ प्रशासनिक अधिकारीहरूको अर्को समूह थियो, जो पनि चिट्ठाबाट चुनिन्थे । आर्कनहरू नगरका न्यायिक काममा जोड दिने भए पनि उनीहरू उस्तै पर्दा प्रशासनिक काममा पनि तानिन्थे । हरेक वर्ष नौजना आर्कन छानिन्थे र प्रत्येकलाई विशिष्ट जिम्मेवारी दिइन्थ्यो ।

एथेन्समा लोकतान्त्रिक प्रक्रियामा भाग लिनु नागरिक कर्तव्य थियो । अर्थात् शासकीय प्रक्रियाको बहसमा समेत सहभागी नहुनेहरूलाई आमरूपमा गैरजिम्मेबार मानिसको रूपमा हेरिन्थ्यो । सामाजिक रूपमा कलंकको हदसम्म व्यवहार गरिने डर र केही अवस्थामा जरिवानासमेत तोकिएकाले हरेक नागरिक शासन प्रक्रियामा सक्रिय सहभागी हुन्थे । 

कमजोर पक्ष 
एथेनियन लोकतन्त्र नागरिक सहभागितामा गर्व गथ्र्यो । तर, यसको अध्यारो पाटो भने त्यतिखेर ‘नागरिक’ हुन पाउने मापदण्ड एकदम साँघुरा थिए । एथेन्समा ‘नागरिक’ हुने अधिकार राज्यका पुरुषलाई मात्र सीमित गरिएको थियो । अझ सो पुरुषका आमाबाबु दुवै एथेन्सका नागरिक हुनुपर्थ्यो । महिला, विदेशी र राज्यमा विशाल संख्यामा रहेका दासदासी नागरिक हुने अधिकारबाट वञ्चित थिए । यसले विभिन्न सुधारको प्रयासका बाबजुद एथेन्सको समाजभित्र निहित गहिरो सामाजिक पदानुक्रमलाई प्रतिबिम्बित गर्दछ । 

प्रत्यक्ष निर्वाचनको अभ्यासका धेरै राम्रा पक्षका बाबजुद भिड चिन्तन भने सधैँ रहिरहन्थ्यो । यसमा प्रभावोत्तेजक भाषण दिएर ‘डेमोगाग’ नेताहरू भिडको मानसिकता बदल्ने क्षमता राख्थे  । भावनात्मक भाषणवाजी गरेर सभाका बहुसंख्यकलाई प्रभावित पार्नसक्ने क्षमताका कारण तर्कसंगत बहस र दीर्घकालीन योजनाविरुद्ध मत परेको देखिन्छ । भिडबाट बहकिएर गरिएको गलत निर्णयमा सबैभन्दा कुख्यात उदारण सोर्केट्सको मुद्दालाई मान्न सकिन्छ, जहाँ बहुमत नगरवासीले उनलाई मृत्युदण्ड दिने पक्षमा मत दिएका थिए ।

विभिन्न कमजोरीका बाबजुद एथेन्समा भएको पहिलो प्रमाणित ऐतिहासिक लोकतान्त्रिक प्रयोगले पछिसम्म राजनीतिक विचारमा स्थायी छाप छोड्यो । पछि अमेरिकी स्वतन्त्र संग्रामपछि अमेरिकाले राज्य प्रमुख र प्रतिनिधि चुन्ने अभ्यास गर्दा ग्रिसेली अभ्यासको पनि अध्ययन गरिएको बताइन्छ । तथापि, दुभाग्यवश अमेरिकी चुनावी अभ्यास पनि ग्रिकमा जस्तै महिला, आदिवासी र अश्वेतहरूलाई बहिष्करण नै गरियो । अश्वेत दासदासी अन्त्य र तिनलाई मताधिकार दिने विषय चर्किदा सो देश विभाजित नै भयो । लामो संघर्ष र आन्दोलनले पछि अश्वेत तथा महिलाहरूले पनि मताधिकार पाए । 

यसका कमजोरीका बाबजुद, एथेनियन लोकतन्त्रले नागरिक सहभागिता, सार्वजनिक बहस र जवाफदेहिताजस्ता आधारभूत सिद्धान्त स्थापित गर्‍यो जुन आज पनि प्रतिध्वनित भइरहेको छ । 

(लेखक सामुद्रिक पुरातत्वविद्, भूमध्यसागरीय प्राग्इतिहास अन्वेषक तथा टापु पुरातत्वविद् हुन् । उनको लेखलाई ‘ग्रिस आइएस’ म्यागेजिनबाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)

See More On

सुझावित समाचार