बाराको कोल्हवीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त गस्ती सुरु

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

आगामी निर्वाचनको सुरक्षालाई लक्षित गर्दै बाराको कोल्हवी क्षेत्रमा आजदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त गस्ती सुरु गरिएको छ। नेपाल सरकारको निर्णयअनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निकायहरूले आवश्यक जनशक्ति परिचालन गरेका हुन्।

संयुक्त गस्तीमा नेपाली सेनाका मेजर बेगम चन्द, सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन गण निजगढका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सन्दीप अर्याल तथा इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक रञ्जन मिश्रको नेतृत्व रहेको छ।

प्रहरीका अनुसार कोल्हवी नगरका मुख्य सडक, चोक–चोक तथा संवेदनशील क्षेत्रहरूमा संयुक्त गस्ती सञ्चालन गरिएको छ। विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरी पैदल तथा मोबाइल गस्ती तीव्र पारिएको छ। मतदान केन्द्र र मतगणनास्थलको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाइएको छ।

निर्वाचन सुरक्षाका लागि तीन घेराको सुरक्षा व्यवस्था लागू गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेना तैनाथ रहने व्यवस्था गरिएको छ। आवश्यक परेमा मात्र नेपाली सेनाले सक्रिय सुरक्षा भूमिका निर्वाह गर्ने सुरक्षा निकायले जनाएका छन्।

यसअघि मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएपछि नेपाली सेनाको परिचालन सुरु गरिएको हो।

सुरक्षा निकायहरूले निर्वाचन अवधिभर कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको जनाउँदै सर्वसाधारणलाई ढुक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

सुझावित समाचार