हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल र हेटौँडाकी अग्रज महिला उद्यमी ताराकुमारी राईलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान–२०८२ प्रदान गरेको छ ।
रेडियो मकवानपुरको १६औँ वार्षिकोत्सव तथा सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २८औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा उनीहरूलाई जनही १० हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।
समुदायमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै रम्तेल र राईलाई सम्मान गरिएको रेडियो मकवानपुरका स्टेसन प्रमुख गणेशदर्पण अधिकारीले जानकारी दिए। रम्तेलको अगुवाइमा हेटौँडा– १८ हर्नामाडीस्थित गुम्बाडाँडा पार्क निर्माण भएको छ । त्यस्तै, सोही स्थानमा वैदिक संस्कृत गुरुकुल सञ्चालनमा छ । गुरुकुलमा दलित तथा गैरदलित बटुकहरूले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाबाट सुरु भएको गुम्बाडाँडा पार्क हाल मकवानपुरको चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यस्तै, सम्मानित राई विगत साढे दुई दशकदेखि सौन्दर्यकर्मीको रूपमा सक्रिय छिन् । उनले हालसम्म करिब ६ हजार महिलालाई ब्युटिसियन तालिम प्रदान गरिसकेकी छिन् । तालिम प्राप्त धेरै महिलाहरू हाल आफ्नै पार्लर सञ्चालन गरी स्वरोजगारमा संलग्न छन् ।
सम्मान ग्रहण गर्दै दुवैजनाले सामुदायिक रेडियोबाट प्राप्त सम्मानले आफ्नो कर्मप्रति थप जिम्मेवारी र हौसला मिलेको बताए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली र दिव्यतारा सहकारीकी अध्यक्ष लक्ष्मीदेवी श्रेष्ठले सम्मान प्रदान गरेका हुन् ।
यसैगरी, रेडियो मकवानपुरको वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट रेडियोमा कार्यरत प्राविधिक नवीन आलेमगर सम्मानित भएका छन् । उनलाई सात हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । रेडियोले हरेक वर्ष दुईजनालाई सामुदायिक सम्मान र हरितालिका तिजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको स्टेसन म्यानेजर अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मेयर लामाले लोकतान्त्रिक गणतन्त्र अभ्यास गरिरहेका नेपालजस्ता देशका लागि सञ्चार अपरिहार्य सर्त भएको बताइन् । सामुदायिक रेडियो गैरनाफामूलक रूपमा सार्वजनिक हितका लागि सञ्चालन हुने भएकाले यसको आवश्यकता झनै बढ्दै गएको उनको भनाइ थियो । पछिल्ला वर्षहरूमा आर्थिक मन्दीका कारण सामुदायिक रेडियोहरू प्रभावित भएकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।