बैतडीमा भएको जन्ती बस दुर्घटनामा आठजनाको मृत्यु भएको छ। बिहीबार बेलुका जन्ती बोकेको बस पुर्चौडी नगरपालिका–७, बडूगाउँ मोडमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडी डिएसपी दीपककुमार रायका अनुसार ४५ जना घाइते भएकोमा ८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका ७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउपाँलिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला र बैतडीको पुर्चाैडी ७ की ४० वर्षीया पुष्पा अवस्थी छन्। घाइतेहरूको स्वास्थ्य चौकी कोटिलामा उपचारका लागि पठाइएको र कतिपयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जन्ती लिएर पुर्चौडीबाट बझाङतर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस बिहीबार बेलुका दुर्घटना भएको हो। बसमा १८ महिला र २७ पुरुष सवार थिए।
बेहुली लिएर फर्कँदै गर्दा बस दुर्घटनामा परेको डिएसपी रायले बताए। जन्तीहरू बझाङको बित्थडचिर गाउँपालिका ७ बाट आएका थिए।