- चुनावपछि बन्ने बंगलादेशी सरकार भारतसँग समन्वय गरेर अघि बढ्न इच्छुक हुने नयाँदिल्लीको आशा
२०२४ मा तत्कालीन प्रधानमन्त्री सेख हसिना र उनको अबामी लिग पार्टीलाई अपदस्थ गरेपछि बंगलादेशले पहिलोपटक चुनावको तयारी गरिरहेका वेला छिमेकी भारत, पाकिस्तान र चीनले यसलाई नजिकबाट हेरिरहेका छन् । बंगलादेश हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम प्रशासनद्वारा शासित छ । यस महिनाको चुनावमा सत्ताका लागि प्रतिस्पर्धा गर्ने दुई मुख्य दल बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) र जमात–ए–इस्लामी (जेआइबी) हुन् । दुवै पार्टीले जनवरीको अन्त्यतिर प्रचार सुरु गरेका थिए ।
ऐतिहासिक रूपमा भारतसँग घनिष्ठ सम्बन्ध रहेको अबामी लिगलाई २०२४ मा विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमाथि भएको क्रूर दमनमा उसको भूमिकाका कारण आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । हाल भारत निर्वासनमा रहेकी ७८ वर्षीया हसिनालाई प्रदर्शनकारीविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएकोमा दोषी ठहर गरिएको थियो । प्रहरी दमनका क्रममा एक हजार ४०० जना मारिएका थिए । नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आइसिटी) ले उनको अनुपस्थितिमा मुद्दा चलाएको र मृत्युदण्डको सजाय सुनाएको थियो । तर, अहिलेसम्म भारतले उनलाई सुपुर्दगी गर्न अस्वीकार गरेको छ ।
हसिनाले आगामी चुनावको निन्दा गर्दै गत महिना एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई भनेकी थिइन्, ‘बहिष्करणबाट जन्मिएको सरकारले विभाजित राष्ट्रलाई एकताबद्ध गर्न सक्दैन ।’ उनको बर्खास्तपछि बंगलादेशको भूराजनीतिक स्थितिमा ‘उदाहरणीय परिवर्तन’ आएको राजनीतिक विश्लेषक बताउँछन् । ‘पाकिस्तानसँगको न्यानो सम्बन्धविपरीत भारतसँगको द्विपक्षीय सम्बन्धमा ऐतिहासिक गिरावट आएको छ । यसबाहेक, चीनसँगको रणनीतिक सम्बन्ध उल्लेखनीय रूपमा गहिरो भएको छ,’ बंगलादेशको इन्डिपेन्डेन्ट युनिभर्सिटीका विश्वव्यापी अध्ययन र शासनका व्याख्याता तहमिद रेजवान बताउँछन् । ‘हसिनाकोे १५ वर्षे कार्यकालमा धेरै प्रमुख विशेषता थिए, जसले बाह्य संलग्नताको सन्दर्भमा ढाकाको विदेश र सुरक्षा नीतिलाई परिभाषित गर्यो । यी विशेषतामध्ये महत्वपूर्ण भारतसँग घनिष्ठ र समग्र द्विपक्षीय सम्बन्ध विकास गर्नु, पाकिस्तानसँग द्विपक्षीय सम्बन्धको सन्दर्भमा बेवास्ता र कूटनीतिक एक्लोपन र चीनसँग बलियो तर गणना गरिएको रक्षा, व्यापार र पूर्वाधार विकास साझेदारी कायम राख्नु थियो,’ उनले भने ।
‘ढाकाको यो भविष्यसूचक र ढाँचाबद्ध पंक्तिबद्धता अब भारत र पाकिस्तानको सन्दर्भमा उल्ट्याइएको छ वा चीनको सन्दर्भमा परिमार्जन गरिएको छ,’ उनले भने । त्यसो भए भारत, पाकिस्तान र चीनले आगामी चुनावलाई कसरी हेर्छन् ? के चुनावको नतिजा यी तीन राष्ट्रका लागि महत्वपूर्ण छ ?
भारत–बंगलादेश सम्बन्ध कस्तो छ ?
हसिनाको सत्ताच्युत हुनुभन्दा अगाडिसम्म भारतले दक्षिण एसियामा सुरक्षा कायम राख्न बंगलादेशलाई ठुलो मात्रामा एक महत्वपूर्ण रणनीतिक साझेदार र सहयोगीको रूपमा हेथ्र्यो । भारत एसियामा बंगलादेशको सबैभन्दा ठुलो व्यापारिक साझेदार पनि हो । हसिना सत्ताच्युत हुनुअघि अप्रिल २०२३ र मार्च २०२४ को बिचमा भारतले कपडा, चिया, कफी, अटो पाट्र्स, बिजुली, कृषि, फलाम र स्टिल र प्लास्टिकलगायत सामान बेचेको थियो (११.१ अर्ब डलर मूल्यबराबरको) र १.८ अर्ब डलरबराबरको तयारी पोसाक, छाला र छालाका उत्पादन आयात गरेको थियो ।
जारी तनावका कारण हसिना भारत भागेदेखि दुवै देशले एक–अर्काको भूभाग र समुद्रबाट निर्यातमा प्रतिबन्ध लगाएका छन् । १९७१ मा पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको दशकौँदेखि ढाकामा कुन राजनीतिक दल सत्तामा छ भन्ने आधारमा उनीहरूको सम्बन्धमा उतारचढाव आएको छ ।
१९९६ देखि २००१ र फेरि २००९ देखि २०२४ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेकी हसिनाले भारतसँग घनिष्ठ सम्बन्ध कायम राखिन् । ‘पछिल्लो पाँचदेखि ६ वर्षमा भारत र बंगलादेशले द्विपक्षीय सम्बन्धको सुनौलो अध्याय लेखेका छन् र हाम्रो साझेदारीलाई नयाँ आयाम र दिशा दिएका छन्,’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २०२० मा भनेका थिए । तर, बंगलादेशका विपक्षी दलहरूले भारतसँग सम्बन्ध राख्ने कुरा आउँदा हसिनालाई ‘धेरै कमजोर’ भएको भन्दै प्राय: आलोचना गर्थे ।
भारतीय दैनिक इकोनोमिक टाइम्सका अनुसार २०१६ मा बिएनपीका एक प्रमुख सल्लाहकारले हसिनालाई भारतसँगको केही संयुक्त उद्यम शक्ति साझेदारी परियोजनाहरू रद्द गर्न आह्वान गरेका थिए, किनभने ती परियोजना बंगलादेशको वातावरणका लागि हानिकारक हुन सक्छन् । दशकौँदेखि, बिएनपीको बंगलादेशको सबैभन्दा ठुलो इस्लामवादी समूह जेआइबीसँग पनि गठबन्धन छ, जसले भारतको प्रमुख शत्रु पाकिस्तानसँग बलियो सम्बन्धको वकालत गर्छ र सन् १९७१ मा पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रताको विरोध गर्छ । २०२४ मा हसिनालाई पदच्युत गरेपछि र त्यसको जवाफमा भारतले उनलाई देश फर्काउन अस्वीकार गरेपछि बंगलादेशमा भारतविरोधी भावनाले गति लिएको थियो ।
विगत एक वर्षदेखि दुई देशबिचको सम्बन्ध अझ चिसिएको छ, विशेषगरी २०२४ मा भारतविरोधी प्रदर्शनकारी नेता उस्मान हादीको हत्यापछि । उक्त घटनापछि गत वर्षको अन्त्यतिर बंगलादेशमा भारतविरुद्ध विरोध प्रदर्शन तीव्र भए । भारतले बंगलादेशको अन्तरिम सरकारको अधीनमा हिन्दु अल्पसंख्यकमाथि दुव्र्यवहार गरिएको आरोप पनि लगाएको छ ।
गत डिसेम्बरमा इस्लाम धर्मविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा देशको भालुका क्षेत्रमा एक हिन्दु बंगलादेशी पुरुषलाई कुटपिट गरी हत्या गरिएको थियो । हादीको मृत्युपछि व्यापक विरोध प्रदर्शनबिच यो घटना भएको थियो । साथै गत महिना बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले भारतमा तय भएको आफ्नो टोलीको सबै आइसिसी मेन टी २० विश्वकप खेल श्रीलंकामा सार्न अनुरोध गरेको थियो ।
तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गत सप्ताहन्तमा बंगलादेशलाई प्रतियोगिताबाट निष्कासन गरेर यो मागको जवाफ दियो । ऐक्यबद्धताको प्रदर्शनमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले तुरुन्तै बंगलादेशको समर्थन गर्यो र आइतबार पाकिस्तानले फेब्रुअरी १५ मा हुने भारतविरुद्धको खेलमा भाग लिन अस्वीकार गर्ने बताएको छ ।
‘हसिनालाई हटाइँदा भारतले ठुलो रणनीतिक क्षति व्यहोर्नुपरेको थियो र नयाँदिल्ली अन्तरिम सरकारसँग धेरै असहज महसुस गरेको छ । नयाँदिल्लीले बुझाइमा बंगलादेश जमात र अन्य धार्मिक अभिनेताबाट धेरै प्रभावित छ, जसले भारतको हितलाई खतरामा पार्छ,’ एट्लान्टिक काउन्सिलका दक्षिण एसियाका वरिष्ठ फेलो माइकल कुगेलम्यान भन्छन् ।
यद्यपि, जारी तनावबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युनुसले गत वर्ष अप्रिलमा थाइल्यान्डको बैंककमा भएको बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा पहिलो भेटवार्ता गरेका थिए । भारतका विदेश सचिव विक्रम मिश्रीले पत्रकारलाई भने कि मोदीले ‘लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण, प्रगतिशील र समावेशी बंगलादेशका लागि भारतको समर्थन दोहोर्याएका छन् ।’ मिश्रीले थपे कि युनुस र मोदीले हसिनाको प्रत्यर्पणबारे पनि छलफल गरेका थिए । तर, आजसम्म, हसिना भारतमै छिन् ।
आगामी निर्वाचनलाई भारतले कसरी हेर्छ ?
विश्लेषकले भारतका लागि दाउ उच्च रहेको बताएका छन् । ‘भारतले आशा गरेको छ कि यो आगामी चुनावले भारतसँग संलग्न हुन इच्छुक सरकार निर्माण गर्नेछ र भारत आफ्नो हितलाई खतरामा पार्ने खालका कलाकारबाट प्रभावित हुनेछैन,’ कुगेलम्यान भन्छन् । यदि यसमा जेआइबी वा अन्य इस्लामिक दल समावेश भए पनि कुनै पनि नयाँ सरकारले भारतसँग बढ्दो तनावलाई बेवास्ता गर्ने सम्भावना कम रहेको इन्डिपेन्डेन्ट युनिभर्सिटीका रेजवान बताउँछन् ।
‘ढाकामा सत्तामा आउने कुनै पनि सरकारले गैरपरम्परागत सुरक्षा खतरा, व्यापार र खाद्य सुरक्षा, सांस्कृतिक र मानवीय सम्बन्धमा पारस्परिक हितका खातिर आफ्नो सबैभन्दा ठुलो छिमेकी र भारतजस्तो क्षेत्रीय शक्तिलाई बेवास्ता गर्न गाह्रो हुनेछ,’ उनले भने, ‘भोटको लागि प्रतिस्पर्धा गर्दा भारतविरुद्ध भड्काउने र लोकप्रिय बयानबाजी गर्न सजिलो छ, तर जब तपाईं सरकारमा हुनुहुन्छ, शक्तिशाली र प्रभावशाली छिमेकीसँग व्यवहार गर्दा लोकतान्त्रिक मुद्रा अन्तत: परिवर्तन हुन्छ ।’
अलजजिराबाट