भ्रामक सूचना रोक्न निर्वाचन आयोग र टिकटकले सहकार्य गर्ने

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण
भ्रामक सूचना रोक्न निर्वाचन आयोग र टिकटकले सहकार्य गर्ने

तस्बिर : निर्वाचन आयोग

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलक्षित भ्रामक सूचना रोक्न निर्वाचन आयोग र भिडियो स्ट्रिमिङ प्लेटफर्म टिकटकले सहकार्य गर्ने भएका छन्। निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार आयोग र टिकटकबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले आयोगमा निर्वाचन नैतिकतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशालासमेत सञ्चालन गरेको छ। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुधे उपाय र सरोकारवालाहरूबिच निर्वाचनको गरिमासम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो।

निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यशालामा आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लेटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो। टिकटकको कम्युनिटी गाइडलाइन, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो।

निर्वाचन नैतिकता सुदृढ गर्न र नेपाली समुदायका लागि विश्वसनीय सूचनाको वातावरण बनाउन आयोगसहित अन्य सरोकारवाला निरन्तर सहकार्य गर्ने टिकटकले जनाएको छ।

सुझावित समाचार