राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाकी प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विनिता कठायतले राप्रपाका उम्मेदवार ज्ञानेन्द्रबहादुर शाहीले हलो र घन्टी एउटै चुनाव चिह्न हो भनेर दुष्प्रचार गरेको आरोप लगाएकी छिन् । मतदातासँग गएर राप्रपाका शाहीले प्रत्यक्षतर्फ हलोमा र समानुपातिकतर्फ घन्टीमा भाेट हाल्नुहाेला भनेर गलत प्रचार गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
‘प्रत्यक्ष हलोमा र समानुपातिकतर्फ घन्टीमा मतदान गर्न भनेर गलत सूचना फैलाइएको रहेछ,’ उनले भनिन्, ‘ज्ञानेन्द्र शाहीले झुटको सीमा नाघेका छन् । हामी काठमाडौंबाट आएदेखि निरन्तर चुनावी मैदानमा छौँ । तर, ज्ञानेन्द्रले बालेनलाई जुम्ला आउनबाट आफूले रोकेको भनेर भन्दै हिँडेका रहेछन् जुन कुरा शतप्रतिशत गलत छ । गाउँमा गएर हलो र घन्टी एउटै हौँ भनेर गलत प्रचारको हामी गम्भीर आपत्ति जनाउँदछौँ ।’
ज्ञानेन्द्रले रास्वपाबाट टिकट दिनुहोस्, सुर्खेतबाट लड्छु भन्ने मान्छेले अहिले गलत प्रचार गरिरहेका छन्। ज्ञानेन्द्र शाहीलाई मतदातासामु गएर माफी माग्नसमेत उम्मेदवार कठायतले चेतावनी दिएकी छन् । ‘आफ्ना ठोस एजेन्डा नभएपछि जनतालाई भ्रममा पार्न घन्टी र हलो एउटै हो भनेर गलत प्रचार गर्ने ? फागुन पहिलो हप्तामै बालेन र रवि जुम्ला आएर सत्य कुरा बताएपछि त्यसपछि ज्ञानेन्द्रको अवस्था के हुन्छ ?’ भन्दै आक्रोश पोखिन् ।
उनले भनिन, ‘रास्वपाले संविधान मान्छ। तर, अन्त्य भइसकेको राजतन्त्र मान्ने ज्ञानेन्द्रबहादुर शाहीसँग कुनै पनि गठबन्धन हुँदैन । यस विषयमा कुनै सत्यता छैन ।’