सुन्तला, जुनार र कागती बिक्रीबाट उदयपुरमा ३१ करोडभन्दा बढी नगद भित्रियो

मंगलबार, २० माघ, २०८२
डिजिटल संस्करण

उदयपुरका पहाडी क्षेत्रमा पछिल्लो समय नगदे बालीका रूपमा परिचित हुँदै गएको हिउँदे फलफूलमा सुन्तला, जुनार र कागती किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ । 

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्र यी फलफूलको बिक्रीबाट ३१ करोड १८ लाख ५० हजार रुपैयाँ नगद भित्रिएको छ ।
कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवका अनुसार उक्त आम्दानी उत्पादन गर्ने कृषकले घरमै उपभोग गरेको, कोसेली वा उपहारका रूपमा दिएको परिमाण कटाएर बिक्रीबाट प्राप्त भएको हो । ‘३१ करोड रुपैयाँको आम्दानी भन्नाले बजारमा बिक्री भएर आएको रकम हो,’ यादवले भने, ‘त्यसमध्ये केही उत्पादन जिल्लाबाहिर निर्यात भएको छ भने केही जिल्लाभित्रै बिक्री भएको छ ।’

यादवका अनुसार गाउँगाउँमा ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै बजार पहुँच सहज बन्दै गएको छ, जसका कारण पहाडी क्षेत्रमा हिउँदे फलफूल खेती विस्तार हुँदै गएको हो । उनका अनुसार जिल्लाका आठवटै पालिकामा हाल ५४५ हेक्टर क्षेत्रफलमा सुन्तला, जुनार र कागती खेती हुँदै आएको छ । ‘पाँच वर्षअघिको तुलनामा यसको क्षेत्रफल झन्डै दोब्बरले विस्तार भएको छ,’ उनले भने ।

यस वर्ष जिल्लामा ४७० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीबाट तीन हजार ९९५ मेट्रिक टन उत्पादन भएको छ । उक्त उत्पादन बिक्रीबाट २७ करोड ९६ लाख ५० हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । त्यसैगरी ६४ हेक्टर क्षेत्रफलमा जुनार खेतीबाट ५२५.६ मेट्रिक टन उत्पादन भई तीन करोड १५ लाख रुपैयाँ आम्दानी भएको छ । कागती खेती भने ११ हेक्टर क्षेत्रफलमा हुँदै आएको छ, जसबाट ७० लाख रुपैयाँ आम्दानी भएको ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार सुन्तला जोन कार्यक्रमले सुन्तला जातका फलफूल खेती विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्याएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, दिक्तेल खोटाङअन्तर्गतको जोन प्राविधिक इकाइ, गाईघाट उदयपुरका अनुसार उदयपुरमा विगत १० वर्षदेखि सुन्तला जोन कार्यक्रम सञ्चालनमा छ । यसैका कारण सुन्तला जातका फलफूल खेती निरन्तर विस्तार हुँदै गएको हो ।

जोन प्राविधिक इकाइ, गाईघाट उदयपुरका प्रमुख दीपेन्द्र मनोहर चौधरीका अनुसार हाल सुन्तला जातका फलफूल खेती ५७६ हेक्टर क्षेत्रफलमा विस्तार भइसकेको छ । ‘सुन्तला जोनअन्तर्गत सुन्तला, जुनार र कागतीलाई समेटिएको छ,’ उनले भने, ‘जोन कार्यक्रमको विस्तारले उत्पादन वृद्धिमा उल्लेखनीय योगदान दिएको छ ।’

जोन प्राविधिक इकाइ, गाईघाटका अनुसार जिल्लाको कटारी नगरपालिकाका वडा नं. ९, १०, ११, १३ र १४, ताप्ली गाउँपालिकाका वडा नं. १ देखि ५ सम्म, लिम्चुङबुङ गाउँपालिकाका वडा नं. १ देखि ५ सम्म तथा रौतामाई गाउँपालिकाका वडा नं. २ देखि ८ सम्म सुन्तला जातका फलफूल जोन सञ्चालनमा छन् । यसका साथै अन्य पालिकाका पहाडी क्षेत्रमा पनि सुन्तलासहित विभिन्न फलफूल खेती हुँदै आएको छ ।
 

सुझावित समाचार