अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका दीपक खतिवडाले सोमबार उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । खतिवडाले सोमबार पत्रकार सम्मेलन गर्दै एन्फाको अहिलेको निर्वाचन प्रक्रिया विधानसम्मत नभएको भन्दै उम्मेदवारी लिने घोषणा गरेका हुन् । उच्च अदालत पाटनको आदेशपछि एन्फाले २८ माघमा हुने भनिएको एन्फाको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । अदालतले निर्वाचनको विषयमा परेको रिटमा आगामी २३ माघमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
एन्फामा एकजना वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडासँगै साफका उपाध्यक्ष सुन्दर नरसिंह केसीले उम्मेदवारी दिएका थिए । दावा अध्यक्ष पंकज नेम्बाङको प्लानलमा परेपछि खतिवडा असन्तुष्ट बनेका हुन् । उनले पछिल्लो समय नेम्वाङको साथ दिएका थिए । गत ६ असार २०७९ मा भएको निर्वाचनमा नेम्वाङ र खतिवडा एकै प्यानलबाट विजयी भएका थिए ।
पत्रकार सम्मलेनमा खतिवडाले एन्फा भित्र विधान विपरीत कार्य र बेथिति सर्वाजनिक गर्न सडक आन्दोलनको आफूले अगुवाई गर्ने चेतावनी दिएका छन् । ‘मैले पटक–पटक उहाँहरूलाई संस्थाको हितविपरीत नजान र विधानको पालना गर्न सचेत गराउँदासमेत कुनै सुनुवाइ नभएपछि, नेपाली फुटबललाई जोगाउन र सत्यतथ्य बाहिर ल्याउनैपर्छ,’ उनले भने, ‘उहाँहरू नसुध्रिएको अवस्थामा सडक आन्दोलन गर्न तयार छु ।’ उपाध्यक्ष खतिवडाले नेम्वाङमाथि चार बुँदामा रहेर विभिन्न आरोप लगाएका छन् ।