टी–२० विश्वकपका पाँच युवा खेलाडी

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

१०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आगामी ७ फेब्रुअरीदेखि सुरु हुँदै छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० राष्ट्र सहभागी छन् । प्रत्येक सहभागी राष्ट्रले १५ खेलाडीको अन्तिम टोली घोषणा गरेका छन् । एक महिनासम्म चल्ने विश्वकपमा ५५ खेल हुनेछन् । भारतका पाँच तथा श्रीलंकाका तीन मैदानमा प्रतियोगिता हुनेछन् ।

समूह चरणमा ४० खेलपछि सुपर आठ सुरु हुनेछ । प्रतिस्पर्धामा तीन सयजना खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आइसिसीले सहभागीमध्ये पाँच खेलाडीलाई सबैभन्दा युवा क्रिकेटरका रूपमा समावेश गरेको छ । जसमध्ये क्यानडाका युवराज शर्मा सबैभन्दा कान्छा खेलाडी हुन् । नेपालका अलराउन्डर गुल्सन झा चौथो कान्छा खेलाडीमा पर्छन् । 

युवराज शर्मा (क्यानडा), वर्ष १९
खेल : १६, रन : ४४२

१०औँ संस्करणको टी–२० विश्वकपमा क्यानडाका अलराउन्डर युवराज सहभागीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन् । आइसिसीले युवराजलाई युवा खेलाडीमध्ये आकर्षक र आक्रामक ब्याट्सम्यानका रूपमा विश्लेषण गरेको छ । क्यानडाको राष्ट्रिय टोलीमा स्थान बनाएका युवराजले अहिलेसम्म १६ टी–२० आई खेलेका छन् । जसमा उनले ४४२ रन जोडेका छन् । उनको ब्याटिङ औसत ३७ रन रहेको छ । युवराजको बलियो पक्ष नै ब्याटिङ स्ट्राइक हो । समग्रमा उनको ब्याटिङ स्ट्राइक १६० भन्दा माथि रहेको छ । उनले टी–२० आईमा तीन अर्धशतकीय इनिङ्स खेलेका छन् । बलिङका क्रममा उनले १६ खेलमा दुई विकेट हात पारेका छन् । 

केवेना माफका (द. अफ्रिका), १९ वर्ष २२९ दिन
खेल : १६, विकेट : १६

विश्वकपमा दोस्रो कान्छा खेलाडी दक्षिण अफ्रिकाका केवेना हुन् । उनी अहिले १९ वर्ष २२९ दिनका भए । दक्षिण अफ्रिकाले विश्वकपका लागि खेलाडी घोषणा गर्दा केवेनालाई अप्रत्याशित रूपमा समावेश गरेको थियो । टेस्ट राष्ट्र दक्षिण अफ्रिकाले केवेनालाई सरप्राइज खेलाडी भनेको छ । १९ वर्षको उमेरमा पनि उनले माथिल्लो लेभलमा प्रदर्शन गरिरहेका छन् । बायाँ हाते फास्ट बलरले सन् २०२४ को इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सबाट प्रतिस्पर्धा गरेका थिए । त्यसवेला केवेना १७ वर्षका मात्र थिए । दक्षिण अफ्रिकाबाट उनले दुई टेस्ट र तीन एकदिवसीय खेल खेलेका छन् । अफ्रिकाले उनलाई टी–२० फम्र्याटका उदीयमान खेलाडीका रूपमा राखेको छ । उनले अहिलेसम्म १६ टी–२० आईमा १६ विकेट हात पारेका छन् । यसैगरी ब्याटिङमा ६ इनिङ्समा १९ रन जोडेका छन् । टी–२० आईमा केवेनाले एकपटक चार विकेट लिएका छन् । २०२४ को अगस्टमा उनले वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । 

जैनुलाह इहसान (स्कटल्यान्ड) १९ वर्ष ३१० दिन 
टी–२० आई खेल : ०, रन : ०

अर्को साताबाट सुरु हुने विश्वकपमा स्कटल्यान्डलाई चिट्ठा परेको हो । स्कटल्यान्ड आइसिसी विश्वकप युरोपियन छनोटबाट बाहिरिएको थियो । बंगलादेशले भारतमा गएर विश्वकप नखेल्ने भनेपछि स्कटल्यान्डले वरीयताका आधारमा मौका पाएको हो  । आइसिसीको यस निर्णयसँगै स्कटल्यान्डले सातौँपटक विश्वकप खेल्ने अवसर पाएको हो । तत्कालै स्कटल्यान्डले टी–२० विश्वकप खेल्ने टोली घोषणा ग¥यो । यू–१९ राष्ट्रिय टोलीका इहसानले पनि स्थान सुरक्षित गरे । इहसान पहिलोपटक स्कटल्यान्डको सिनियर टोलीमा छनोट भएका हुन् । उनीसँग अन्तर्राष्ट्रियस्तरको अनुभव छैन । अफगानिस्तानका पूर्वखेलाडीसमेत रहेका इहसान दायाँहाते फास्ट बलर हुन् । आगामी २८ मार्चमा उनी २० वर्षका हुनेछन् । स्कटल्यान्डको यू–१९ टोलीमा उनलाई स्ट्राइक बलरका रूपमा प्रयोग गरेको देखिन्छ । टी–२० विश्वकपमा उनले सुरुवात खेलमै मौका पाउन सक्छन् । 

गुल्सन झा (नेपाल), १९ वर्ष ३४९ दिन
खेल : ५१, विकेट : २९, रन : ६२९

विश्वकपका चौथो कान्छा खेलाडी नेपालका अलराउन्डर गुल्सनकुमार झा हुन् । उनी अहिले १९ वर्ष ३४९ दिनका भएका छन् । गुल्सनको यो लगातार दोस्रो विश्वकप यात्रा हो । सन् २०२२ मा फिलिपिन्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका उनले अहिलेसम्म नेपालबाट ५१ खेल खेलिसकेका छन् । नेपालका युवा खेलाडीमध्ये उनी चर्चित छन् । बायाँहाते बलर गुल्सनले अहिलेसम्म टी–२० आईमा २९ विकेट लिएका छन् । ब्याटिङमा उनको स्ट्राइक रेट १४५ छ । आगामी २० फेब्रुअरीमा २० वर्षका हुने गुल्सनले एकदिवसीय ४० खेलमा ७२६ रन तथा टी–२० आईमा ६२९ रन जोडेका छन् । उनले एकदिवसीयमा ३४ विकेट लिएका छन् । पुछारमा ब्याटिङ गरी आकर्षक स्ट्रोक लगाउन उनी खप्पिस छन् । 

अजयवीर हुन्डाल (क्यानडा), २० वर्ष १४५ दिन
खेल : १, विकेट : ०, रन : ०

विश्वकपका पाँचौँ कान्छा खेलाडी क्यानडाका अजयवीर हुन् । २० वर्षका युवा खेलाडी अजयवीरको यो पहिलो विश्वकप यात्रा हो । अलराउन्डर भूमिका निर्वाह गर्ने उनले छोटो समयमै क्यानडाको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । गत वर्षको मार्चमा उनले नामिबियाविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । अहिलेसम्म करिअरमा उनले एकपटक लिस्ट ‘ए’ र टी–२० आई खेलेका छन् । ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गर्न सक्ने अजयवीरले त्यति मौका पाएका छैनन् । आइसिसीले उनलाई विश्वकपमा उदीयमान युवा खेलाडीका रूपमा राखिएको छ ।

सुझावित समाचार