काठमाडौं महानगरपालिकाको वडा नं. २७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ। त्यसको बदलामा महानगरले प्रहरीलाई रामशाहपथस्थित जग्गा दिने भएको छ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरपालिका वडा नं २७ भोटाहिटी चोकमा, नेपाल प्रहरीको साइबर ब्युरोले प्रयोग गरिरहेको जग्गा तथा उक्त जग्गामा रहेको घर काठमाडौं महानगरपालिकालाई प्रयोग गर्ने गरी गृह मन्त्रालयले सहमति प्रदान गर्ने निर्णय गरेको हो। यस्तै, महानगरपालिकाको वडा नं २८ रामशाहपथमा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न काठमाडौं महानगरपालिकाले सहमति प्रदान गर्ने निर्णय भएको छ।
बैठकले भोटाहिटीस्थित कित्ता नम्बर ३५३, ३५४ र ३५५ को ४ आना, २ पैसा १ दाम भएको उक्त जग्गा र सो जग्गामा बनेको भवन महानगरपालिकालाई प्रयोग गर्न दिने गरी सहमति दिएको हो । यो जग्गा समरजंग कम्पनीको नाममा रहेको छ।
यो भवनमा वडा कार्यालय राख्न महानगरपालिकाले माग गरेको थियो। साइबर ब्युरोको सामाखुसीमा नयाँ भवन बनिरहेकाले त्यो महानगरलाई दिन प्रहरी तयार भएको हो।
बैठकमा रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगरपालिकाले सहमति प्रदान गर्ने निर्णय भएको छ। यसरी सहमति प्रदान गरिएको जमिनमध्ये कम्तीमा ८ आना जमिनमा समरजंग कम्पनी कार्यालय र बाँकी जमिनमा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपभोग गर्ने गरी प्रक्रिया अगाडि बढाइने बैठकले निर्णय गरेको हो ।