नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत जनस्तरको कूटनीति थप बलियो बनायो : मन्त्री श्रेष्ठ

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिएकी छिन्।

कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्लाई यस्तो अर्थपूर्ण पहलका लागि धन्यवाद दिँदै खेलकुदले भाषा, भूगोल र राजनीतिभन्दा माथि उठेर मित्रता, सहकार्य र विश्वास निर्माण गर्ने प्रभावकारी माध्यम बन्ने बताइन्।

मन्त्री श्रेष्ठले नेपालको विकास यात्रामा चीनबाट प्राप्त सहयोग, विशेषतः पूर्वाधार विकास तथा २०१५ को भूकम्पपछिको मानवीय सहायता र पुनर्निर्माण सहयोगप्रति आभार व्यक्त गरिन्। साथै, चिनियाँ पर्यटकले नेपालको पर्यटन र आर्थिक विकासमा योगदान पुर्याइरहेको उल्लेख गर्दै बुद्ध जन्मभूमि लुम्बिनी र सगरमाथाको देश नेपाल भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रोत्साहित गरिन्।

चिनियाँ नयाँ वर्षको महत्वबारे बोल्दै उनले यसलाई नवीकरण, सद्भाव, सहनशीलता र आशाको प्रतीक भएको बताइन्। पछिल्ला वर्षहरूमा नेपालमा लालटिन महोत्सव, ड्रागन बोट उत्सवलगायत सांस्कृतिक कार्यक्रमहरू लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यी कार्यक्रमहरूले दुई देशका समुदायलाई नजिक ल्याउने भूमिका खेलेको बताइन्।

उद्घाटनको अवसरमा नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत (चार्जे द’अफेयर्स) झोउ पान, नेपालको युवा तथा खेलकुद मन्त्रालयका स्थायी सचिव लोकनाथ पौडेल, राष्ट्रिय खेलकुद परिषद् नेपालका सदस्य सचिव राम चरित्र मेहता, एन्फा महासचिव किरण राई, युनान विश्वविद्यालय खेलकुद संस्थानका उप-निर्देशक चेन-हेन छिङको उपस्थिति थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्‌को समन्वयमा नेपाल यू-२० महिला राष्ट्रिय टिम र चीनको युनान प्रान्तको युथ महिला टिमबिच मैत्रीपूर्ण खेल भएको हो। उक्त खेलमा नेपाल यू-२० महिला टोलीले युनान प्रान्तको टोलीलाई ३-१ ले हरायो।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो। चीनको ड्र्यागन नृत्य प्रस्तुत गरिएको थियो भने नेपालको तर्फबाट पन्चेबाजाको प्रस्तुति थियो।

सुझावित समाचार