पुरुष टी–२० विश्वकप : २०२६ यस्ता छन् नेपालका प्रतिद्वन्द्वी

शनिबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेपाल (तीनपटक सहभागी)
आइसिसी मान्यता : सन् १९८८, वरीयता : १७
टी–२० आई खेल : ११२, जित : ६५, हार : ४१

भारत र श्रीलंकाले अर्को सातादेखि आइसिसी पुरुष टी–२० विश्‍वकप क्रिकेट २०२६ आयोजना गर्दै छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वकपलाई रोमाञ्चक बनाउन पहिलोपटक सहभागी संख्या बढाएको यसै संस्करणमा हो । यसपटक उपाधिका लागि २० राष्ट्रले चुनौती प्रस्तुत गर्नेछन् । सहभागी नेपाल भने समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकप खेल्दै छ ।

आइसिसीले सहभागी राष्ट्रलाई चारवटा समूहमा विभाजन गरी प्रत्येक एक समूहमा पाँच टोली समावेश गरेको छ । प्रत्येक समूहका दुई शीर्ष टोली सुपर आठ चरणमा पुग्नेछन् । प्रतियोगिताको ‘ड्र’ निकालिँदा नेपाल समूह ‘सी’मा रह्यो । यो समूहलाई सबैभन्दा कठिन मानिएको छ । समूह ‘सी’मा दुई राष्ट्र यस्ता छन्, जसले समान दुईपटक टी–२० विश्वकप जितेका छन् । इंग्ल्यान्ड र वेस्ट इन्डिजले दुई–दुईपटक विश्वकप हात पारेका छन् । नेपालले एसोसिएट राष्ट्र स्कटल्यान्ड र इटालीविरुद्ध खेल्नेछ । नेपालको टी–२० आई इतिहासमा इंग्ल्यान्ड र इटाली नयाँ प्रतिद्वन्द्वी हुन् । नेपालले वेस्ट इन्डिजविरुद्ध गत असोजमा युएईमा टी–२० आई सिरिज खेलेको थियो । आइसिसी विश्वकप लिग १ मा रहेको स्कटल्यान्डसँग नेपालले यसअघि पनि प्रतिस्पर्धा गरिसकेको छ ।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा  नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको थियो । दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो । यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेन । नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ । सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन् । अर्को सातादेखि हुने विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुनेछन् । 

इंग्ल्यान्ड (दुईपटकको विजेता)
आइसिसी मान्यता : सन् १९०९, वरीयता : ३
टी–२० आई खेल : २१५, जित : १११, हार : ९०

इंग्ल्यान्ड विश्व क्रिकेटकै पुरानो टोली हो । टी–२० फर्म्याट सुरु भएको नै इंग्ल्यान्डबाट हो । त्यहाँको काउन्टी क्रिकेट खुबै प्रसिद्ध छ । इन्डियन प्रिमियर लिग (आइपिएल)ले विश्व क्रिकेटमा मार्केट लिनुअघि काउन्टी नै प्रख्यात थियो । यद्यपि, अहिले पनि काउन्टी क्रिकेट प्रतिष्ठित फ्रेन्चाइज लिगमै पर्छ । क्रिकेटको छोटो फर्म्याट टी–२० मा इंग्ल्यान्डको प्रदर्शन जबरजस्त छ । नेपालको प्रतिद्वन्द्वी इंग्ल्यान्डले आइसिसी टी–२० विश्वकप दुईपटक जितेको छ । सन् २०१० मा इंग्ल्यान्डले पहिलोपटक टी–२० विश्वकप जित्यो । पाउल कालिउडको कप्तानीमा इंग्ल्यान्डले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराएको थियो । इंग्ल्यान्डले दोस्रोपटक विश्वकप ट्रफी उचाल्न ठ्याक्कै १० वर्ष प्रतीक्षा गर्‍यो । सन् २०२२ को संस्करणमा इंग्ल्यान्डले फाइनलमा पाकिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो । इंग्ल्यान्डलाई दोस्रोपटक विश्वकप च्याम्पियन बनाउन जोस बटलरले कप्तानी गरेका थिए । इंग्ल्यान्ड अब तीनपटक उपाधि जित्ने अभियानमा छ । अहिले इंग्ल्यान्डको कप्तानी युवा खेलाडी ह्यारी ब्रुकले गरिरहेका छन् । 

टोलीमा विश्वकपका पूर्वकप्तान जोस बटलर, फिल साल्ट, बेन डकेट र विल ज्याक्सजस्ता खेलाडी छन् । फास्ट बलर जोफ्रा आर्चर उत्कृष्ट फर्ममा छन् । स्पिन बलिङमा इंग्ल्यान्ड आदिल राशिदमाथि निर्भर छ । नेपालले इंल्यान्डविरुद्ध ८ फेब्रुअरीमा वानखडे रंगशालामा प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल्न लागेको हो ।

वेस्ट इन्डिज (दुईपटकको विजेता)
आइसिसी मान्यता : सन् १९२६, वरीयता : ७
टी–२० आई खेल : २४४, जित : १०१, हार : १२८

कुनै समयमा वेस्ट इन्डिजले लामो समय क्रिकेटमा राज गरेको थियो । सन् १९७० देखि ८० सम्म वेस्ट इन्डिजले क्रिकेटमा कब्जा जमाएको थियो । यो अवधिमा वेस्ट इन्डिज दुईपटक एकदिवसीय विश्वकप तथा एकपटक उपविजेता बनेको थियो । क्रिकेटको माथिल्लो उचाइमा पुगेको वेस्ट इन्डिज बिस्तारै खस्कँदै गयो । तर, वेस्ट इन्डिजले टी–२० फर्म्याटमा भने आफ्नो प्रभुत्व जमाउन सफल भएको देखिन्छ । वेस्ट इन्डिजको विशेषता नै पहिलोदेखि ११ नम्बरका ब्याट्सम्यानहरू लामो सर्ट प्रहार गर्न सक्छन् । अझ भनौँ, वेस्ट इन्डिज टोलीमा अलराउन्डले भरिएको हुन्छ । वेस्ट इन्डिजले सन् २०१२ मा पहिलोपटक टी–२० विश्वकप जितेको थियो । वेस्ट इन्डिजले फाइनलमा श्रीलंकामाथि ३८ रनको जित निकालेको थियो । डेरेन सामीको कप्तानीमा वेस्ट इन्डिजले आफ्नो पुरानो साख फर्काएको थियो । दोस्रोपटक विश्वकप उचाल्न वेस्ट इन्डिजले चार वर्ष मात्र लगायो । सन् २०१६ मा दोस्रोपटक उपाधि जित्दा वेस्ट इन्डिजले भारतलाई सात विकेटले हराएको थियो । तर, घरमै आयोजना भएको गत संस्करणमा भने वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो ।

नेपालका लागि वेस्ट इन्डिज नौलो प्रतिद्व्रन्द्वी भने होइन । गत असोजमा नेपालले ऐतिहासिक रूपमा वेस्ट इन्डिजविरुद्ध युएईमा टी–२० आई सिरिज खेलेको थियो । जसमा नेपालले पहिलोपटक पूर्वविश्व च्याम्पियनविरुद्ध सिरिज २–१ ले हात पारेको थियो । यसपटक विश्वकपको मैदानमा भने वेस्ट इन्डिज फरक छ । यस किसिमको प्रतियोगितामा उनीहरूसँग अनुभव भरपूर छ । फेरि वेस्ट इन्डिज सधैँ ब्याटिङमा पावर हिटिङ मानिन्छ । यसपटक वेस्ट इन्डिजको कप्तानी साई होपले गरिरहेका छन् । उनी अलराउन्डर भूमिकामा छन् । सिमरन हेटमायर, रोभमन पावेल र पूर्वकप्तान जेसन होल्डरजस्ता पावर हिटर खेलाडी रहँदा वेस्ट इन्डिज बलियो नै छ । नेपालले वेस्ट इन्डिजविरुद्ध १५ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । वेस्ट इन्डिजका खेलाडी स्पिन बलमा कमजोर छन् । यसको फाइदा नेपालका बलरले लिन सक्नुपर्छ । 

स्कटल्यान्ड (सातपटक सहभागी)
आइसिसी मान्यता : सन् १९९४, वरीयता : १४
टी–२० आई खेल : १०९, जित : ४९, हार : ५५

विश्वकपमा स्कटल्यान्डलाई ‘लक्की ड्र’ परेको भन्दा फरक नहोला । युरोपियन छनोटबाट बाहिरिएर विश्वकप गुमाएको स्कटल्यान्डलाई भाग्यमानी राष्ट्र नै भन्नुपर्छ । बंगलादेशले भारतमा गएर विश्वकप खेल्न अस्वीकार गर्दा आइसिसीले कारबाहीस्वरूप उसको स्कटल्यान्डलाई इन्ट्री दिएको हो । यसपटक विश्वकप खेल्ने कुनै पनि चान्स नभएको स्कटल्यान्डले आइसिसीको निर्णयले विश्वकपमा स्थान बनायो । एसोसिएट राष्ट्रमा स्कटल्यान्ड शीर्ष स्थानमा छ ।

समूह ‘सी’मा वेस्ट इन्डिज र इंग्ल्यान्डपछि धेरैपटक विश्वकप खेलेको राष्ट्र स्कटल्यान्ड नै हो । योसमेत उसको सातपटक विश्वकप यात्रा हुनेछ । विश्वकपमा उत्कृष्ट प्रदर्शन नै सन् २०२१ को संस्करण थियो । त्यसवेला स्कटल्यान्ड पहिलोपटक सुपर १२ मा पुगेको थियो । सन् २०२४ मा स्कटल्यान्डले आफ्नो समूहमा इंग्ल्यान्ड र अस्ट्रेलियालाई अन्तिम समयसम्म चुनौती दिएको थियो । स्कटल्यान्ड नेपालका लागि नयाँ प्रतिद्वन्द्वी भने होइन । दुवै राष्ट्रका एक–आपसका बलिया र कमजोरी पक्ष थाहा छ ।

अहिलेसम्म यी दुईबिच ११ पटक टी–२० आई खेल भएको छ । जसमा नेपालले ६ र स्कटल्यान्डले पाँच खेलमा जित निकालेको छ । नेपालले अन्तिमपटक स्कटल्यान्डसँग गत वर्षको जुनमा नेदरल्यान्ड्स सम्मिलित टी–२० आई सिरिज खेलेको थियो । स्कटल्यान्डको बलियो पक्ष फास्ट बलर हो । नेपालले स्कटल्यान्डविरुद्ध १७ फेब्रुअरीमा खेल्नेछ ।  

इटाली (पहिलोपटक सहभागी)
आइसिसी मान्यता : सन् १९८४, वरीयता : २७
टी–२० आई खेल : ३९, जित : २५, हार : १३

समूह ‘सी’ इटाली नवप्रवेश राष्ट्र हो । अझ समूहमा रहेका राष्ट्रमध्ये इटाली सबैभन्दा कमजोर टोली हो । युरोपियन छनोटमा इटालीले स्कटल्यान्डलाई स्तब्ध पार्दै विश्वकपमा पहिलोपटक स्थान बनाएको हो । डेब्यु विश्वकपमा इटालीको लक्ष्य पनि टेस्ट मान्यताबाहेक अन्य राष्ट्रलाई हराउनु नै हो । यस्तोमा स्कटल्यान्ड र नेपाल नै उसको प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहनेछन् । तर, विश्वकपको मञ्चमा इटालीभन्दा नेपाल र स्कटल्यान्डको अनुभव राम्रो छ ।

इटालीलाई कमजोर रूपमा लिँदा नेपालले नराम्रो नतिजा सामना गर्नुपर्ने हुन्छ । किनभने, युरोपियन छनोटमा इटालीले नेदरल्यान्ड्स र स्कटल्यान्डजस्ता बलिया टोलीलाई पाखा लगाएको थियो । फेरि इटालीमा मिश्रित खेलाडी छन् । यहाँ एसियालीदेखि अमेरिकन मूलका खेलाडी छन् । इटालीले विश्वकप छनोट पार गर्दा स्वदेशीभन्दा पनि विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । अहिले इटालीका कप्तान वेन म्याडसेनले पहिलो सहभागी विशेष बनाउने बताइसकेका छन् । भारतको पिचमा इटालीका स्पिनरले राम्रो प्रदर्शन गर्न सक्छन् । इटालीले पहिलो टी–२० आई खेल सन् २०१९ मा जर्मनीविरुद्ध खेलेको थियो । आइसिसी टी–२० वरीयतामा उसको उत्कृष्ट स्थान नै सन् २०१९ मा २२औँ थियो ।

See More On

सुझावित समाचार