उदयपुरका लागि आएको अनुदानको मल सिन्धुलीका व्यापारीको गोदाममा

शनिबार, १७ माघ, २०८२
डिजिटल संस्करण
उदयपुरका लागि आएको अनुदानको मल सिन्धुलीका व्यापारीको गोदाममा

कटारी नगरपालिका– १४ का किसानलाई वितरण गर्न जारी गरिए पनि सिन्धुलीको दुधौलीस्थित व्यापारीको गोदामबाट बरामद गरिएको युरिया मल ।

  • उदयपुरको कटारीका किसानका लागि कृषि सामग्री कम्पनी विराटनगर कार्यालयबाट आएको २१६ बोरा युरिया सिन्धुलीका व्यापारीको गोदामबाट बरामद, सहकारीको दर्ता प्रमाणपत्र खारेज गर्न कटारी नगरपालिकाको सिफारिस

उदयपुरको कटारी क्षेत्रका किसानलाई वितरण गर्नुपर्ने सरकारी अनुदानको रासायनिक मल सिन्धुलीको दुधौली बजारस्थित एक व्यापारीको गोदामबाट बरामत गरिएको छ । कटारी नगरपालिका– १४ का किसानलाई वितरण गर्न स्थानीय दुर्गा भवानी कृषि सहकारी संस्थाले ल्याएको अनुदानको युरिया मल अन्यत्र बिक्री गरेको सूचनापछि स्थानीय किसान संघर्ष समिति अनुगमनमा निस्किएको थियो । 

अनुगमनका क्रममा दुधौली बजारमा ५० किलो तौलका दुई सय १६ बोरा मल व्यापारीको गोदाममा भेटिएपछि स्थानीय प्रहरीलाई जिम्मा लगाएको किसान संघर्ष समितिका संयोजक गणेश थापाले जानकारी दिए । कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काका अनुसार दुधौली बजारमा भेटिएको युरिया मल प्रहरीले जफत गरेको छ । साथै, कटारीका स्थानीय पेशल भट्टराई र हिरा बाँस्तोलाले सञ्चालन गर्दै आएको दुर्गा भवानी कृषि सहकारी संस्थाको सहकारी प्रमाणपत्र खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।

‘कटारीको दुर्गा भवानी कृषि सहकारी संस्थाबाटै तस्करी भई सरकारी अनुदानको मल दुधौली पुगेको पुष्टि भएको छ । त्यसपछि उक्त सहकारीको प्रमाणपत्र खारेजीका लागि सिफारिस गरेका छौँ,’ उपप्रमुख खड्काले भनिन् । प्रहरीले घटनाबारे विस्तृत छानबिन पनि थालेको उनले जानकारी दिइन् । कटारीका किसान मल नपाएर हैरान भइरहेका वेला सहकारी संस्थाबाटै अनुदानको मल अन्यत्र बिक्रीका लागि पठाइनु गम्भीर र रहस्यमय भएको संघर्ष समितिका संयोजक थापाले बताए । ‘मल वितरण प्रक्रियामा कमिसन, मिलेमतो तथा कृत्रिम अभाव सिर्जना गर्ने गिरोह सक्रिय रहेको छ,’ उनले भने ।

यसअघि पनि लुकाइएको थियो मल
गत १२ भदौमा पनि कटारी बजारमा अवैध रूपमा सरकारी अनुदानको युरिया मल लुकाएर बिक्री–वितरण गरिरहेको अवस्थामा स्थानीय व्यापारी दिलीप चौधरी पक्राउ परेका थिए । त्यतिवेला उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा गएको अनुगमन टोलीले चौधरीको आशुतोष सप्लायर्स एन्ड ट्रेडर्स तथा जयमाँ काली प्रालिबाट दुई सय बोरा अवैध युरिया मल बरामद गरेको थियो । 

बरामद गरिएको मल कटारी नगरपालिकामार्फत किसानलाई वितरण गरिएको थियो भने कालोबजारी गरेको आरोपमा चौधरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दा टुंगिसकेको छैन ।

सुझावित समाचार