माघ १७ देखि २३ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १७ माघ, २०८२
डिजिटल संस्करण

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको माघ १७ गते शनिबारदेखि माघ २३ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । तत्काल खर्च लागे पनि पछिका लागि सञ्चय हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । बिहीबारदेखि परिवारजनसँगको सम्पर्कले उत्साह जाग्नेछ । अनावश्यक जमघटले काममा बाधा पुर्याउला । पठनपाठनमा समय दिन नसकिए पनि व्यावसायिक काम सम्पादन हुनेछन् । सप्ताहान्तमा प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सुरुमा चिताएको काम बन्नाले मनग्ये लाभ हुनेछ । दिगो आम्दानीका स्रोत प्राप्त हुनेछन् । बुधबारदेखि आकस्मिक खर्च बढ्नाले समस्या उत्पन्न होला । पहिले गरेको काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि शुक्रबारपछि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । रोकिएको काम बिस्तारै बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन् । प्रतिष्ठित व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । केही खर्च लागे पनि विशेष दायित्व वहन गर्दै यात्रा गर्ने अवसर जुट्न सक्छ । बिहीबार अर्थ अभावले ऋणकर्जा बढाउन सक्छ ।  सप्ताहान्तमा लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नेछ । रमाइलो भेटघाटले पारिवारिक आनन्द दिलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूका काममा जुट्नुपरे पनि फाइदा आफैँलाई हुनेछ । इतिहास एवं संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ । सुख–दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीहरूलाई समेत पन्छाउन सकिनेछ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ । कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानीसमेत बढ्नेछ । दिगो आम्दानीको स्रोत फेला परे पनि सप्ताहान्तमा खर्च बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रारम्भमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ । शारीरिक अस्वस्थताको पनि योग छ । शुक्रबारदेखि स्थितिमा सुधार आउनेछ । शनिबार र आइतबार आफ्नै निर्णयले अप्ठ्यारो पर्न सक्छ, अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । चुनौती सामना गर्नुपरे पनि मिहिनेत गर्दा काम बन्नेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धनसमेत कसिने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रियजनसँगको भेटघाटले सुरुवात रमाइलो रहनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइने समय छ । बुधबार परिस्थिति अलि प्रतिकूल रहन सक्छ । आँटेको काम रोकिन सक्छ । शुक्रबारदेखि मिहिनेत गर्दा विभिन्न अवसर जुट्न सक्छन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिष्ठा बढ्नुका साथै पछिसम्म फाइदा हुने कामको जिम्मेवारी प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) परिबन्धले झमेला निम्त्याउने समय भएकाले मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । विलासितामा धन खर्च हुनेछ । पतिपत्नीमा असमझदारी बढ्न सक्छ । आफ्ना योजना गोप्य राखी हिम्मत जुटाउनुहोला । रमाइलो क्षणमा अचानक समस्या देखापर्न सक्छ । खर्च भए पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्य कमजोर रहे पनि बौद्धिक जमातलाई आकर्षित गर्न सकिनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइपर्ला । प्रेममा अविश्वास जाग्नेछ भने मनको डरले पनि सताउन सक्छ ।  सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा फाइदा उठाउन सकिनेछ । बुधबारदेखि प्रतिस्पर्धीहरूले दु:ख दिन सक्छन् । समयको गतिलाई पछ्याउन नसक्दा अलि दु:ख पाइनेछ । महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला । सप्ताहान्तमा कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या आउला । अरूको मात्र भर पर्दा महत्वाकांक्षा पूरा नहुन सक्छ । नाता गाँस्नेहरूसँग सजग रहनुहोला । लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ । सप्ताहान्तमा भने मौका आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रारम्भमा बोलीको भरमा काम बन्नेछ भने मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । चिनजानले पनि अवसर दिलाउन सक्छ । प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ । सहयोगीहरू जुट्नाले व्यवसायमा राम्रै फाइदा हुनेछ । शुभचिन्तकहरूको सुझाबलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । रोकिएका काम बन्नेछन् भने प्रतिस्पर्धीहरूले हार खानेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । रमाइलो जमघटका बिच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । बिहीबारदेखि अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउलान् । सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ भने पुरानो समस्या सुल्झाउन पनि सफल भइनेछ ।

See More On

सुझावित समाचार