भाइसहित ट्याक्टरचालक खान गएका वेला यादवको गोली हानी हत्या

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

सिराहाको जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिका– ७ स्थित खेतबाट माटो ओसार्ने ट्याक्टरचालकसँगै सहोदर भाइ पनि घर गएका वेला करिब ४५ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या भएको छ । 

प्रहरीका अनुसार सिराहा– १ घर भएका यादवमाथि सिराहाको बाइपास सडकनजिकै रहेको मैनाबत्ती खोलाको पूर्वपट्टि शुक्रबार दिउँसो अज्ञात समूहले गोली हानेर हत्या गरेको हो । मृतक यादवका कान्छो भाइ अभयनाथ यादवले चलाएको मधेश प्रदेश ०१–००१ त २९५६ नम्बरको बकेट जडान गरिएको ट्याक्टरले उठाएको माटो अर्को ट्याक्टरमा हालेर भाइसमेत खाना खान घर गएका वेला उनीमाथि दिउँसो करिब डेढ बजेतिर गोली प्रहार भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

 जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार खोलावारि खेतमा घाँस काट्न गएकी करिब ७० वर्षीया आमा कपलीदेवीले पटाका पड्केजस्तो आवाज सुनेको भन्दै हल्ला गरेकी थिइन् । ‘उनले हल्ला गरेपछि खेतबारीको काममा रहेका अन्य पनि जुटेपछि प्रहरीलाई खबर भएको हो,’ उनले भने, ‘घटनास्थलमा प्रहरी पुग्दा यादवको मृत्यु भइसकेको थियो ।’ उनका अनुसार यादवको छातीमा गोली लागेको छ । 

प्रहरीले घटनास्थलकाे प्रकृति मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको सहमतिमा शव पोस्टमार्टमका लागि शुक्रबार साँझ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । मृतक यादवका भाइ बिहानदेखि  स.१ त ५७९४ नम्बरको ट्याक्टरमा माटो भरेपछि बकेट जडान गरिएको ट्याक्टर खेतमै छोडेर चालक सन्तोष शर्मासँगै खाना खान घर फर्किएको बताइएको छ । त्यही वेला ट्याक्टर हेर्न खेत पुगेका यादवमाथि गोली प्रहार भएको हुन सक्ने गाउँलेहरूले बताए । 
 

करिब डेढ वर्षअघि जेठी श्रीमतीको निधन भएपछि गत मंसिरमा दोस्रो विवाह गरेका उनका जेठी श्रीमतीपट्टिका छोराहरू करिब २० वर्षीय रामजनम यादव र १७ वर्षीय हरि यादव छन् । स्थानीयका अनुसार कोही कसैसँग विवाद नगर्ने स्वभावका यादवका माहिलो भाइको पनि वैदेशिक रोजगारीको क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीय बद्री यादवले बताए । 
 

सुझावित समाचार