पोखरा रंगशालामा पहिलोपटक दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिप (साफ) शनिबारदेखि सुरु हुँदै छ । यू–१९ महिला साफ ३१ जनवरीदेखि ७ फेब्रुअरीसम्म चल्नेछ । प्रतियोगितामा आयोजक नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक उमेर समूहको साफ च्याम्पियनसिप पोखरामा आयोजना गर्न लागेको हो । काठमाडौंमा राष्ट्रिय लिग फुटबल चलिरहेका कारण रंगशाला उपलब्ध नहुँदा एन्फाले यू–१९ साफ च्याम्पियनसिप पोखरामा आयोजना गर्न लागेको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको सबै तयारी पूरा भएको बताएका छन् । ‘यू–१९ साफ च्याम्पियनसिपका लागि आवश्यक सबै तयारी पूरा गरेका छौँ । सहभागी राष्ट्रका खेलाडी आइसकेका छन्,’ पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शाहले भने, ‘सहभागी टोलीको प्रशिक्षणको व्यवस्था लामाचौरस्थित गोस्ते खेलमैदानमा गरिएको छ ।’ एन्फाले साधारण प्यारापिटमा दुई सय र भिआइपी प्यारापिटमा पाँच सय रुपैयाँ टिकट मूल्य राखेको छ ।
साफका महासचिव पुरुषोत्तम कट्टेलले च्याम्पियनसिपमा सात देशको सहभागिता रहनुपर्ने बताए । तर, श्रीलंका, पाकिस्तान र माल्दिभ्स विविध कारण देखाउँदै सहभागी हुन नसकेको कट्टेले बताए । ‘नियमअनुसार प्रतियोगितामा सातै राष्ट्रले भाग लिनुपर्ने हो । तीन राष्ट्रले आन्तरिक कारण देखाउँदै भाग लिएनन् । यसकारण चार राष्ट्रबिच मात्र च्याम्पियनसिप हुन लागेको हो ।’
नेपाल तीनपटक उपविजेता
नेपालको महिला उमेर समूहले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जितेको छैन । यसै संस्करणमा नेपालले तीनपटक फाइनल स्थान सुरक्षित गरेको थियो । तर, तीनवटै फाइनलमा नेपाल पराजित भएको छ । यू–१९ साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली बंगलादेश हो । बंगलादेश सर्वाधिक पाँचपटकको विजेता हो । भारतले दुईपटक उपाधि हात पारेको छ । सन् २०१८ र २०२३ कोे फाइनलमा नेपाल बंगलादेशसँग नै पराजित भएको थियो । नेपालको यू–१८ देखि २० उमेर समूहको टोली उपाधिविहीन छ । यसपटक चार राष्ट्र मात्र सहभागी हुँदा घरेलु टोली नेपालसमक्ष उपाधि जित्ने अवसर छ । यद्यपि, नेपालले उपाधि दाबेदार भारत र बंगलादेशलाई निराश बनाउनुपर्ने हुन्छ ।
घरमै आयोजना हुने च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने मुख्य प्रशिक्षक सुमन श्रेष्ठले बताए । ‘नेपाली टोली हेरेको तीन साता भएको छ । खेलाडीले प्रशिक्षणका क्रममा धेरै सुधार गरेका छन्,’ प्रशिक्षक सुमनले भने, ‘हाम्रो लक्ष्य उपाधि घरमै राख्ने हो ।’ यसपटकको प्रतियोगिता पनि पहिलेभन्दा फरक फर्म्याटमा छ । सिंगल राउन्ड रोबिनका आधारमा हरेक टोलीले एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । ६ खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तीन साताको तयारी
एन्फाले पछिल्लो समयमा दक्षिण एसियाली उमेर समूहको च्याम्पियनसिपमा नेपाली खेलाडीलाई सहभागी गराइराखेको छ, तर उपाधि जित्न सकेको छैन । यसपटक पनि नेपालको उपाधिमाथि दाबेदारी रहनेछ । एन्फाले गत पुसमा महिला यू–१९ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुमन श्रेष्ठलाई दिएको थियो । उनी आएपछि टोलीले तीन साता काठमाडौंमै प्रशिक्षण गर्यो । ‘तयारीको समय कम भए पनि राम्रो भएको छ,’ प्रशिक्षक सुमनले भने, ‘कहिले टर्फ र घाँसेमैदानमा प्रशिक्षण भयो ।’ उनले पोखरामा नेपालले अघिल्लोपटकको भन्दा सुधारिएको नतिजा निकाल्ने बताए ।
नेपाली टोलीको जिम्मेवारी पाएका सुमन घरेलु फुटबलकै अनुभवी प्रशिक्षक हुन् । उनले पछिल्लो समय ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड हेरेका थिए । उनीसँग मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी पोखरा थन्डर्स, भुटानी क्लब फुएन्सोलिङ हिरोज एफसीलाई प्रशिक्षण गरेको अनुभव छ ।
गत संस्करण यू–२० फर्म्याटमा
साफले गत संस्करणको प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना गरेको थियो । साफले उमेर समूहको प्रतियोगिता फरक–फरक फर्म्याटमा आयोजना गरिरहेको छ । यसपटक यू–१९ फर्म्याटमा हुँदा नेपालका खेलाडी पनि मिश्रित रूपमा छनोट भएका छन् । गत संस्करणमा सहभागी खेलाडीमध्ये सुशीला केसी, सेनु परियार, माया मास्के र वर्षा ओलीले प्रतिस्पर्धा गर्नेछन् । यी खेलाडीले नियमित रूपमा नेपालको राष्ट्रिय उमेर समूहबाट खेलिरहेका छन् । प्रशिक्षक सुमनले घोषणा गरेका राष्ट्रिय खेलाडीमा सुशीला, सेनु, माया र वर्षा नै सर्वाधिक अनुभवी छन् ।
प्रशिक्षकले नेपाली टोली खडा गर्ने क्रममा यू–१७ का अनुभवी खेलाडी समावेश गरेका छन् । सन् २०२५ मा बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा पनि चार राष्ट्र सहभागी थिए ।
भारतले प्रतियोगितामा भाग लिएको थिएन । प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा भएको थियो । बंगलादेशले ६ खेलमा जित निकाली उपाधि जितेको थियो ।