अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदान सहयोग र नेपाल सरकारको लगानीमा बनाइन लागेको प्रसारणलाइनको दायाँ–बायाँ संरचना निर्माणमा रोक लगाइएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरेर प्रसारणलाइनको २३ मिटर दायाँ र २३ मिटर बायाँतर्फ पर्ने जग्गामा संरचना नबनाउन र रुख रोप्न निषेध गरेको हो ।
एमसिसीको अनुदान र नेपालको लगानीमा चार सय केभीका तीन सय १५ किमि लामो चार प्रसारणलाइन र चार सय केभीका तीन सबस्टेसन निर्माण सुरु गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सोही परियोजनाको दायाँ–बायाँ संरचना निर्माण गर्न र रुखबिरुवा रोप्न रोक लगाइएको हो ।
‘एमसिए नेपालले निर्माण गर्ने चार सय केभी क्षमताको आवश्यक नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौं जिल्लाका जग्गामा पर्ने विद्युत् प्रसारणलाइनको मध्यरेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिब एक हजार तीन सय ८१ हेक्टर क्षेत्रफल जग्गामा कसैले कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गरेको सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा उल्लेख छ ।