सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार निर्वाचनलक्षित वरिष्ठ अधिकृत सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका थिए। वरिष्ठ अधिकृत सम्मेलनममा सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण बाहिनीपतिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले फागुन २१ गते हुने निर्वाचनमा सशस्त्र प्रहरी कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको पक्ष नलिई निर्वाचनका उम्मेदवारहरूसँग सम्पर्कमा रहिरहन र निर्वाचन भयरहित शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गराउन सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन्। फिल्डमा खटिएका कमान्डर निर्वाचनलक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहेको बताउँदै उनले निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई मर्यादित र सभ्य व्यवहार गर्दै निर्वाचनमा परिचालित हुनसमेत उनले निर्देशन दिएका छन्।
सम्मेलनमा आगामी निर्वाचनलक्षित सुरक्षा चुनौती, विध्यमान परिस्थतिलगायत विविध विषय र निर्वाचनको समयमा कुनै पनि मानवीय क्षति हुन नदिनेतर्फ अन्य सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।