कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट वन क्षेत्रमा जालीको पासोमा फसेको चितुवालाई करिब ६ घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ।
वन क्षेत्रमा चितुवा जालीमा फसेको देखेपछि स्थानीयवासीले डिभिजन वन कार्यालय कपिलवस्तुलाई जानकारी गराएका थिए। सूचनापछि डिभिजन वन कार्यालय कपिलवस्तु मोतिपुर र पिपरा सवडिभिजन वन कार्यालयको संयुक्त टोलीले जेसिबीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो।
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलका अनुसार उद्धार कार्य अत्यन्तै सावधानीपूर्वक गरिएको थियो। ‘चितुवा फसेको स्थान भौगोलिक रूपमा जोखिमपूर्ण र कठिन रहेकाले जेसीबी प्रयोग गर्नुप¥यो। करिब पाँच घण्टाको प्रयासपछि चितुवालाई कुनै क्षति नपु¥याई सुरक्षित रूपमा उद्धार गर्न सफल भयौं,’ पौडेलले भने।
उनका अनुसार यसअघि पनि सो क्षेत्रमा चितुवा हिँडडुल गर्ने सूचना प्राप्त हुँदै आएको थियो। ‘वन क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन र जाली तथा पासो प्रयोग नगर्न पटकपटक आग्रह गर्दै आएका छौं,’ उनले भने।
सामुदायिक वनका अध्यक्ष सुशील सिंह ठकुरीले स्थानीयवासीको सक्रियताले समयमै चितुवा फसेको जानकारी पाएकाले ठूलो क्षति हुनबाट जोगिएको बताए। उद्धारपछि चितुवाको अवस्था सामान्य रहेको र आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित स्थानतर्फ व्यवस्थापन गरिएको वन कार्यालयले जनाएको छ।