नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बेंग्लोरबिच समझदारीपत्रमा हस्ताक्षर

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आइआइएस्सी), बेंग्लोर र नेपाल विश्वविद्यालयबिच हिजो विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, अनुसन्धान तथा अन्य प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यका साथ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

सो अवसरमा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यले ‘बोर्ड अफ ट्रस्टी’मा आधारित स्वायत्त शासकीय स्वरूपलगायत नेपाल विश्वविद्यालयको समग्र संरचना तथा भावी योजनाबारे प्रस्तुति गर्दै उत्कृष्ट प्राज्ञिक गुणस्तर सुनिश्चित गर्न आइआइएस्सीजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यको महत्त्वमाथि प्रकाश पारे । 

आइआइएस्सी बेंग्लोरका निर्देशक प्रा. गोविन्दन रंगराजनले नेपाल विश्वविद्यालयको विकासका लागि विभिन्न प्राज्ञिक गतिविधिमा सहकार्यमार्फत सहयोग गर्ने तत्परता व्यक्त गरे । उनले नेपाल विश्वविद्यालयले स्नातक तहमा ‘लिबरल आर्ट एन्ड साइन्स’ अवधारणाअन्तर्गत सुरु गर्न लागेको ‘एकीकृत विज्ञान’को पाठ्यक्रम संरचना आइआइएस्सीको स्नातक कार्यक्रमसँग धेरै हदसम्म मिल्दोजुल्दो रहेकाले दुवै संस्थाबिच साझेदारीको राम्रो सम्भावना रहेको भन्दै प्रा. रंगराजनले टिप्पणी  गरे । 

आइआइएस्सी बेंग्लोरको सहकार्य तथा सहयोगप्रतिको सदासयताप्रति धन्यवाद ज्ञापन गर्दै नेपाल विश्वविद्यालय संरक्षक परिषद् सदस्य तथा कार्यकारी समितिका अध्यक्ष लालकृष्ण केसीले आइआइएस्सीजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यबाट प्राप्त हुने हरेक सम्भावनालाई नेपाल विश्वविद्यालयले विद्यार्थीको अध्ययन–अध्यापन, फ्याकल्टीको क्षमता अभिवृद्धि तथा संयुक्त अनुसन्धानका लागि सदुपयोग गर्ने बताए । 

आइआइएस्सी बेंग्लोरको निमन्त्रणामा नेपाल विश्वविद्यालयका संरक्षक परिषद् सदस्य तथा कार्यकारी समितिका अध्यक्ष ई. लालकृष्ण केसी, रजिस्ट्रार डा. सूर्यराज आचार्य तथा स्नातक कार्यक्रमका निर्देशक डा. करण ठगुन्ना सहभागी तीन सदस्यीय प्रतिनिधिमण्डलले आइआइएस्सीका अन्तर्राष्ट्रिय विभागका प्रमुख, विभिन्न संकायका डिनहरू, विभागका प्रमुखहरू तथा अन्य प्राध्यापकहरूसँग सहकार्यका विविध पक्षबारे छलफल तथा अन्तर्क्रिया गरेको थियो। यस क्रममा नेपाल विश्वविद्यालयको टोलीले विज्ञान शिक्षक तालिम, हावापानी परिवर्तन अध्ययन, दिगो प्रविधि विकास, विज्ञान–प्रविधि सिप विकासलगायतका क्षेत्रमा अत्याधुनिक सुविधासम्पन्न कर्नाटकको चल्लाकेरमा अवस्थित आइआइएस्सीको नयाँ क्याम्पसको समेत अवलोकन–भ्रमण गरेको थियो।

सुझावित समाचार