नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्यहाँ क्याबिन उपलब्ध नभएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार नेता नेपाललाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने तथा घ्यार–घ्यार आवाज आउने समस्या देखिएको छ। हाल उनको उपचार त्रिवि शिक्षण अस्पतालको छातीरोग विभागका चिकित्सकहरूले गरिरहेका छन्।
उनको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको अस्पतालले जनाएको छ।