१४औँ साग खेलकुद आगामी वर्षको मार्चमा

२३ देखि ३१ मार्च २०२७ मा इस्लामाबाद, लाहोर र फैसलाबादमा १४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने ओसिएको निर्णय

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण
१४औँ साग खेलकुद आगामी वर्षको मार्चमा

उज्वेकिस्तानमा बुधबार ओलम्पिक काउन्सिल एसिया (ओसिए)को साधारणसभामा सहभागी सार्क राष्ट्रका ओलम्पिक अध्यक्ष र महासचिवहरू ।

पाकिस्तानले आगामी २३ देखि ३१ मार्च २०२७ मा १४औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा नेपालबाट साग खेलकुदको झन्डा बोकेको पाकिस्तानले अहिलेसम्म प्रतियोगिता आयोजना गर्न सकेको छैन । उज्वेकिस्तानमा बुधबार ओलम्पिक काउन्सिल एसिया (ओसिए)को साधारणसभामा दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले १४औँ सागको मिति तय गरेको हो । 

सार्क राष्ट्रका ओलम्पिक अध्यक्ष र महासचिवले १४औँ साग अर्को वर्ष आयोजना हुने तय गरेको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको हो । पाकिस्तान ओलम्पिक काउन्सिलले पनि सर्वसम्मत रूपमा दक्षिण एसियाली खेलकुद आगामी वर्षको मार्चमा हुने निर्णय गरेको पुष्टि गरेको छ । ‘अर्को वर्ष हामी साग खेलकुद आयोजना गर्दै छौँ, सञ्चालन वा व्यवस्थापनका कारण आवश्यक परेमा पाकिस्तानले एक हप्तासम्मको लचकता राखेर मितिमा केही समायोजन गर्न सक्छ,’ पाकिस्तानले भनेको छ । 

पाकिस्तानले लाहोर, इस्लामाबाद र फैसलाबादमा साग गर्नेछ । सन २००४ मा पाकिस्तानले नवौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । सागको चक्रिय प्रणालीअनुसार प्रतियोगिता प्रत्येक दुई–दुई वर्षमा हुनुपर्छ । नियमअनुसार सन २०२१ मा पाकिस्तानले १४औँ साग गर्नुपर्ने थियो, तर कोभिड–१९ का कारण प्रतियोगिता भएन । यद्यपि, आयोजनाको झन्डा लिएको ६ वर्षसम्म साग गर्न नसकेपछि प्रतियोगिता आयोजना गर्न अन्य सार्क राष्ट्रले चासो देखाएका थिए । 

पाकिस्तानले आफूले प्राप्त गरेको आयोजना जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाएपछि बैठकमा प्रतिनिधिहरूले सहमति जनाए । बैठकमा नेपालबाट एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले भाग लिएका थिए । 

बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव सहभागी थिए । यसैबिच, ओसिएको ४६औँ साधारणसभाले शेख बिन हमद बिनलाई अध्यक्ष चयन गरेको छ । बैठकको अध्यक्षता ओसिएका दक्षिण एसिया उपाध्यक्ष प्रिन्स जिग्येल उग्येन वाङचुकले गरेका थिए ।

२७ खेल हुने
दक्षिण एसियाली राष्ट्रका खेलाडीले १४औँ सागमा २७ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सागमा समावेश खेल संख्या गत वर्ष नै तय भइसकेको थियो । २०२५ फेब्रुअरीमा पाकिस्तानको लाहोरमा भएको कार्यकारी समिति बैठकले २७ खेल समावेश हुने निर्णय गरेको थियो । यद्यपि, यसमा खेल संख्या थपघट हुन सक्ने जनाइएको छ । ‘खेलसंख्या अन्तिम भइसकेको छ, यद्यपि प्रतियोगिता आउन अझै एक वर्ष बाँकी छ । 

यसमा केही परिवर्तन हुन सक्छ,’ पाकिस्तान ओलम्पिक कमिटी अध्यक्ष अध्यक्ष आरिफ सइदले भने, ‘हामीले सबैका सहमतिअनुसारै खेलसंख्या समावेश गरेका हौँ ।’ 

उज्वेकिस्तानमा भएको बैठकमा दक्षिण एसियाली देशहरूले खेलकुदलाई अझ दिगो र भविष्योन्मुख बनाउने मोडेल विकास गर्न थप छलफल गर्ने सहमति गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठले बताए । ‘क्षेत्रीय सहयोग र बहुखेलकुद आयोजनालाई प्रभावकारी बनाउनेमा जोड दिएको छ,’ उनले भने । यसैबिच पाकिस्तानले दक्षिण एसियाली राष्ट्रहरूलाई आगामी मेमा पाकिस्तान भ्रमणको निम्तो दिएको छ । सो भ्रमणमा १४औँ सागको तयारीको प्रगति समीक्षा गर्ने, अनुगमन गर्ने र खेलकुदमा क्षेत्रीय सहकार्यको छलफल हुनेछ । 

भारतको भूमिका निर्णायक हुने
पाकिस्तानले अर्को वर्ष १४औँ साग आयोजना गर्ने भनेको छ । तर, प्रतियोगिता हुने वा नहुने पक्षमा छिमेकी राष्ट्र भारतको निर्णयमा निर्भर रहनेछ । भारत र पाकिस्तानबिचको सम्बन्ध राम्रो छैन । यसको प्रभाव खेल क्षेत्रमा परेको छ । भारतले पाकिस्तानको भूमिमा आफू सहभागी हुने कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा नगर्ने अडान राख्दै आएको छ । पाकिस्तानले क्रिकेटको एसिया कप तथा आइसिसी च्याम्पियन्स ट्रफी आयोजना गर्दा भारत छिमेकी राष्ट्रमा गएन । उसले हाइब्रिड शैलीमा तटस्थ भूमिमा पाकिस्तानविरुद्ध खेल्यो । सन २०२४ को एसिया कपमा भारतले पाकिस्तानविरुद्ध श्रीलंकामा खेलेको थियो ।

गत वर्ष च्याम्पियन्स ट्रफीमा भारत युएईमा खेल्न गएको थियो । अहिले आसन्न आइसिसी पुरुष टी–२० विश्वकपमा पाकिस्तानले पनि भारतीय भूमिमा प्रतिस्पर्धा नगर्ने भनिरहेको छ । साग खेलकुदमा सातै राष्ट्रहरू सहभागी हुनुपर्ने प्रावधान छ । यस्तोमा भारतले सहभागिता नजनाउँदा साग हुने वा नहुने भन्ने द्विविधा रहन्छ । पाकिस्तानी ओलम्पिक कमिटीले भने साग खेलमा भारत आउन सक्ने विश्वास गरेको छ । ‘दक्षिण एसियाली राष्ट्रका खेलाडीबिच प्रतिस्पर्धा हुँदा भारतले पनि छिमेकी राष्ट्रमा खेलाडी पठाउने विश्वास लिएका छौँ,’ पाकिस्तानी ओलम्पिक कमिटीले डवान पत्रिकालाई भनेको छ, ‘राजनीतिक तनाव खेलकुदमा पर्न नहुने हाम्रो भनाइ हो ।’ 

समावेश खेल
स्विमिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, विलियार्ड एन्ड स्नुकर, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, स्क्वास, कराँते, सुटिङ, टेबुलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, बिच ह्यान्डबल, कबडडी, रग्बी, भलिबल, बिच भलिबल र रोइङ ।

सुझावित समाचार