आठ वर्षको दौडधुपपछि ७८ वर्षीया वृद्धाले पाइन् नागरिकता

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ४, नवराजपुर गाउँकी करिब ७८ वर्षीया कपलेश्वरी यादवले करिब आठ वर्षको दौडधुपपछि बुधबार नागरिकता पाएकी छिन् । नागरिकताका कागजात जुटाउन घरनजिकै रहेको वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय धाउन थालेको आठ वर्षपछि गाउँपालिकाको विशेष पहलमा जिल्ला प्रशासन कार्यालय सिराहाबाट नागरिकता बनेको हो । नागरिकता प्राप्त गरेपछि भावुक हुँदै उनले भनिन्, ‘छाेराछोरी छैनन्, श्रीमान् बितिसके, नागरिकता बनेपछि सरकारले दिने सामाजिक सुरक्षा भत्ताले थोरै भए पनि भरथेग हुने भयो ।’ 

नवराजपुर गाउँका बौवेलाल यादवको ०३१ माघमा निधन भएपछि कान्छी श्रीमतीको रूपमा रहेकी कपलेश्वरीको नागरिकता बनाउन चाहिने सिफारिसका लागि सबै कागजात जुटाए पनि कार्यवाहक वडाध्यक्ष देवराम यादवले सिफारिस रोक्नेदेखि अदालतमा स्थानीय बासिन्दा नै नरहेकोजस्ता किर्ते मुद्दा हालेर आलटाल गर्दै आएका थिए । राजनीतिक पूर्वाग्रहको कारणले कार्यवाहक वडाध्यक्ष यादवले सिफारिससमेत नदिने बताएपछि गाउँपालिका अध्यक्ष शिवउदगार यादवको पहलमा वडाबाट सिफारिस लिएपछि प्रशासनबाट नागरिकता बनेको नाति रामपरीक्षण यादवले बताए। 

नयाँ पत्रिकाको गत १२ मंसिरको अंकमा ‘७८ वर्षको उमेरमा पनि अनागरिक : आठ वर्षदेखि प्रशासन कार्यालयको ढोका धाउँदै कपलेश्वरी’ शीर्षकमा समाचार प्रकाशित भएपछि गाउँपालिका अध्यक्षले चासो देखाउनुका साथै वडादेखि प्रशासन कार्यालयसम्म नागरिकताका लागि सहजीकरण गरेका हुन् । डाँडामाथिकी घामजस्ती भइसकेकी वृद्धाको नागरिकताको सिफारिस रोकेर कार्यवाहक वडाध्यक्षले नागरिकको संवैधानिक हकमाथि धावा बोलिरहेको प्रतिक्रिया दिँदै उनले आफ्नो पहलमा सहजीकरणसहित सम्पूर्ण कागजात जुटाएर सिफारिस गराएपछि नागरिकता बनेपछि आफू पनि हर्षित भएको उनले बताए । 

अंश कायमसहित सबै प्रमाण, तर वडाध्यक्षको बदनियत
श्रीमानको ०३१ सालमा नै निधन भएपछि उनले सिराहा जिल्ला अदालतमा हालेको अंश मुद्दामा अदालतले पक्षमा फैसला गरी तीन कित्ताको साढे ११ धुर जग्गा हक कायम गरिदिएको थियो । घर, माइती सबैतिर वंशजको नागरिकता, जग्गाको लालपुर्जा, माइतीतर्फको नाता प्रमाणित सिफारिस हुँदाहुँदै वडाध्यक्षले बदनियतपूर्वक नागरिकताको सिफारिस रोक्दै आएका थिए ।

 परिवारमा देवरपट्टिका भतिज उपेन्दर, उनका तीन छोरा र बुहारीहरू, एक नातिनी तथा माइतीपट्टि ठुलोबा र काकाका छोराहरू सत्यनारायण, रामकुमार, घुरन, आफ्नी कान्छी बहिनी सुजानवतीको समेत वंशजको नागरिकता रहेको प्रमाणसमेत बुझाएकी थिइन् । औरही गाउँपालिका– ३, पिपरास्थित वडा कार्यालयले माइतीपट्टिका दाजुभाइ, बहिनीहरूको नाता प्रमाणित सिफारिस, जन्म प्रमाणित गरेको दिएको कागजातलाई गाउँका कार्यवाहक वडाध्यक्षले अस्वीकार गर्दै नागरिकताको सिफारिस रोकेका थिए ।  

पछिल्लो आठ वर्षदेखि वडा कार्यालय हुँदै जिल्ला प्रशासनको चक्कर काट्दा पनि वडाध्यक्षले सिफारिस दिन इन्कार गरेपछि नाति रामपरीक्षणले तत्कालीन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहित जिल्ला प्रशासन कार्यालय सिराहा, वडाध्यक्ष र वडा कार्यालयलाई विपक्षी बनाएर १० भदौ ०८१ मा उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेश जारीको माग गर्दै निवेदन दिएका थिए। न्यायाधीशद्वय सरलाकुमारी पाण्डे र कोशलचन्द्र सुवेदीको संयुक्त इजलासले ३ वैशाख ०८२ मा निवेदकलाई नेपाली नागरिकताको सिफारिस गर्दासमेत सिफारिस रोकिएको थियो । 
 

सुझावित समाचार