कपिलवस्तु प्रहरीद्वारा भन्सार छली भित्र्याइएको १७ लाखभन्दा बढी मूल्यको फलफूल र पिकअप गाडी बरामद

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको करिब १७ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको फलफूल तथा सवारीसाधन बरामद गरेको  बताएको छ। प्रहरीका अनुसार  माघ ११ गते इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले नियमित सवारीसाधन चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको लु.३च १११७ नम्बरको पिकअप गाडीलाई चेकजाँचका क्रममा उक्त गाडीमा भन्सार नतिरी ल्याइएको अन्दाजी १,३३५ केजी विभिन्न फलफूल (केरा, जुनार र अनार) फेला परेको  कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए। 

बरामद फलफूलको बजार मूल्य एक लाख चार हजार आठ सय  र पिकअप गाडीको मूल्य रु. १५ लाख  गरी जम्मा रु. १६ लाख चार हजार आठ सयबराबरको सामान नियन्त्रणमा लिइएको  कपिलवस्तु प्रहरीले जनाएको छ। पिकअपचालक जिल्ला दाङ, राप्ती गाउँपालिका– १ निवासी अन्दाजी २५ वर्षीय मोहम्मद अकरम र सहचालकलाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको बताएको  छ।

त्यसैगरी, कृष्णनगर  नगरपालिका– २ स्थित प्रहरी चेकपोस्टनजिक भारतबाट भन्सार छली गरी ल्याइएको अन्दाजी रु. एक लाख नाै हजार तीन सय मूल्यबराबरको फलफूल (केरा, जुनार र अंगुर) बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उक्त फलफूलसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको  बताएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले सीमानाकाबाट हुने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि प्रहरीले चेकजाँचलाई थप कडाइ गरिएको  बताएका छन् । सीमा क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा खटिएको छ। भन्सार छली ल्याइने सामानमाथि कडाइका साथ निगरानी जारी रहने बताउँदै प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गर्दै नियमित गस्ती तथा चेकजाँचलाई निरन्तरता दिइने बताएको छ ।

सुझावित समाचार