निर्वाचनको मिति नजिकिएसँगै रामेछापका उम्मेदवारको दौडधुप बढ्यो

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिएसँगै रामेछापका विभिन्न पार्टीका उम्मेदवारहरूको दौडधुप बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू जनताको घरदैलोमा पुग्न थालेका छन् । अहिले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र केही स्वतन्त्र उम्मेदवारहरू दैनिकजसो जनताको घरदैलोमा आफ्नो पक्षमा मत माग्न पुगेका छन् । यी दलबाहेक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारहरू भने राजधानीकेन्द्रित कार्यकर्ताहरूसँग भेटघाटमा व्यस्त रहेका छन् । कांग्रेस माघ १९ गतेदेखि गाउँकेन्द्रित कार्यक्रम लिएर जनताको घरदैलोमा पस्ने कार्यक्रम तय गरेको छ । 

रामेछापबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्टिय प्रजातन्त्र पार्टीलगायत १४ राजनीतिक दलका उम्मेदवार र अन्य तीन स्वतन्त्र उम्मेदवार गरी १७ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाका ठुला राजनीतिक दलहरूमध्ये नेपाली कांग्रेसले पूर्पार्टी सभापति रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ । खड्का १७ वर्षसम्म पार्टी सभापतिको भूमिका निभाइसकेका र पार्टीभित्र कुनै दाग नलागेकाे नेता मानिन्छन् । अहिले उम्मेदवार बनेका खड्का ०७० सालमा सांसद पदमा उम्मेदवार बनेका थिए । खड्का नेकपा माओवादीका उम्मेदवार श्यामकुमार श्रेष्ठसँग झिनो मतले पराजित भएका थिए । 

त्यस्तै, नेकपा एमालेले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष माधव ढुंगेललाई पहिलाेपटक रामेछापमा टिकट दिएर पार्टीले उम्मेदवारी बनाएको छ  । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीवाट ०७० र ०७४ सालको निर्वाचनमा नेकपा माओवादी पार्टीबाट निर्वाचित बनेर पूर्वगृहराज्यमन्त्रीसमेत बनेका श्यामकुमार श्रेष्ठलाई उम्मेदवारी बनाएको छ । 

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएको छ । बुढाथोकीको यो पहिलो अनुभव हो । उनी यसअघि राजधानीका विभिन्न बैंकिङ र सहकारी क्षेत्रमा काम गर्दै आएका थिए । स्वतन्त्र पार्टीले उनलाई अघि सारेर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । ०७४ सालको निर्वाचन जितेर गाउँ नफर्किएका नेताहरू अहिले चुनावी अभियान लिएर गाउँ पसेका छन् । जनताले मत दिएर पठाएका नेता गाउँ फर्किएसँगै अहिले गाउँका चिया पसलदेखि गाउँटोलमा भेला भएका नागरिकहरू यसपटकको निर्वाचनमा कुन दललाई मतदान भन्ने बहस चलाउन थालेका छन् । 

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुल एक लाख ८७ हजार ९५२ जना मतदाताले मतदान गर्नेछन् । जसका लागि जिल्लाभर ९६ वटा मतदानस्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ भन्दै मुख्य निर्वाचन कार्यालयले सम्बन्धित पक्षसँग छलफलमा जुटेसँगै रामेछाप निर्वाचनमय भएको छ । 

सुझावित समाचार