दक्षिण एसियाली पत्रकारिताका निडर व्यक्तित्वको अवसान

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण
  • यदि पत्रकार विलियम मार्क टलीलाई एक शब्दमार्फत चिनाउने हो भने ‘निडर’ शब्द सबैभन्दा उपयुक्त हुन्छ 

पत्रकारिता क्षेत्रका एक दिग्गज व्यक्तित्व, बिबिसीका ‘भ्वाइस अफ इन्डिया’का पत्रकार, प्रख्यात लेखक र मेरा प्रिय मित्र तथा गुरु सर विलियम मार्क टली अब हामीमाझ रहेनन् । २५ जनवरीमा ९० वर्षको उमेरमा उनको दिल्लीमा निधन भयो । दिल्ली सहरलाई उनी ५० वर्षभन्दा लामो समयदेखि आफ्नो घरका रूपमा चिनाउँथे । उनले दिल्लीलाई केन्द्र बनाएर दक्षिण एसियाभरका महत्वपूर्ण घटनाको रिपोर्टिङ गरे । 

यदि मलाई टलीलाई एक शब्दमार्फत व्याख्या गर्न भनियो भने म ‘निडर’ शब्दको प्रयोग गर्छु । उनी आफूले सही ठानेको कामकुराप्रति बलियो समर्थन व्यक्त गर्थे । यस्तो समर्थन उनी प्रणालीबाहिरैबाट होस् वा भित्रैबाट व्यक्त नगरी बस्न सक्दैनथे । दुई दशकभन्दा लामो समयसम्म बिबिसीको ‘दिल्ली ब्युरो प्रमुख’ रहे पनि उनले सन् १९९३ मा यस संस्थाको अवस्थाप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्न हिच्किचाएनन् ।

तत्कालीन बिबिसीका महानिर्देशक जोन बर्टकाबारे उनले व्यक्त गरेका कठोर टिप्पणीका कारण उनले पद त्याग्नुपर्यो । टलीले बर्टकामाथि बिबिसीमा ‘डरको संस्कृति’ विकास गरेको र सो प्रसारक संस्था ‘रहस्यमयी एकाधिकार’मा बदलिँदै गएको आरोप लगाएका थिए । बर्टकाका व्यवहारले संस्थाका स्टाफहरू निरुत्साहित भएको आलोचनाकै कारण जुलाई १९९४ उनले राजीनामा दिनुपर्यो । उनले यस अवज्ञामार्फत पत्रकारितामा सबैभन्दा माथि नैतिकता हुने आफ्नो अडानलाई जोड दिएका थिए । उनी आफ्ना भनाइलाई व्यवहारमा उतार्न डराउँदैनथे, जुन उनका धेरै प्रशंसनीय गुणमध्ये यो एक थियो ।

तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आपत्काल घोषणा गरेपछि मैले मार्क टलीलाई चिन्न थालेको हुँ । त्यतिवेला उनका रिपोर्ट बिबिसी हिन्दी र उर्दू सेवामा बज्थे । आपत्कालमा मेरा बुबा स्वर्गीय क्याप्टेन अब्बास अली खान ‘मेन्टिनन्स इन्टरनल सेकुरिटी एक्ट (मिसा)’ र ‘डिफेन्स अफ इन्डिया–रुस (डिआइआर)’ अन्तर्गत पटक–पटक गरी उन्नाइस महिनासम्म जेल परे । मेरा पिताजस्तै मार्क टली पनि गान्धी सरकारका आलोचक थिए । पछि, आपत्कालप्रतिको आलोचनात्मक रिपोर्टिङका लागि टलीलाई भारतबाट निष्कासित गरियो । सन् १९७७ मा आपत्काल हटेपछि मात्र उनी फेरि भारत फर्किएका थिए । सन् १९८४ मा पन्जाबको अमृतसरमा शिखहरूको पवित्र धार्मिक स्थल स्वर्णमन्दिरमा भारत सरकारले सञ्चालन गरेको ‘अप्रेसन ब्लू स्टार’को समाचार प्रसारण गरेबापत फेरि कंग्रेस सरकार उनीसँग रुष्ट बन्यो । तर, सरकारी दबाबका बाबजुद टलीले आफ्नो परम्परागत शैली परित्याग गरेनन् । उनले उच्चतम पत्रकारिता मापदण्ड पालना गर्दै घटनाको निष्पक्ष र सटिक कभरेज गरिरहे । त्यतिवेला फिल्डमा सतीश ज्याकब थिए, टलीले नयाँदिल्लीमा बसेर समन्वय गर्थे, म रिपोर्टिङ गर्थें । 

मार्क टलीसँग जोडिएकामध्ये सबैभन्दा बढी सम्झना सन् १९९२ को बाबरी मस्जिद भत्किएको दिनको आउँछ । त्यस भयानक दिन, हामी टलीको नेतृत्वमा अयोध्यामा रिपोर्टिङ गर्दै थियौँ । हामी पुग्दा त्यहाँ बाबरी मस्जिद भत्काउन ठुलो संख्यामा करसेवकको भिड जम्मा भइसकेको थियो । बिहान १० बजेपछि त्यो भिड मस्जिदमाथि जाइलाग्यो । बिबिसीका दक्षिण एसिया प्रमुखका रूपमा मार्क टली भारतीय इतिहासको सबैभन्दा कुख्यातमध्ये एक घटनाका रूपमा द्रुत गतिमा विकास भइरहेको त्यस दिनको अवस्थाबारे आफ्नो रिपोर्ट दर्ता गर्न फैजाबादतर्फ लागे । त्यतिवेला लन्डनमा बिबिसी कार्यालयलाई सबैभन्दा छिटो सम्पर्क गर्ने माध्यम फैजाबादस्थित केन्द्रीय टेलिग्राफ कार्यालय मात्र थियो । 

दिउँसो पहिलो रिपोर्टिङ दर्ता गरेपछि हाम्रो टोलीले अयोध्या फर्किने प्रयास गर्यो । दिउँसो १ बजेसम्ममा मस्जिदको पहिलो गुम्बज ढालिसकिएको थियो । अन्य संरचना भत्काउने काम चलिरहेको थियो । भिडले प्रमुख सडक अवरुद्ध गरेको थियो । त्यसैले, हाम्रो टोलीले आरएएफ र सिआरपिएफ अर्धसैनिक बलको सवारी पछ्याउने प्रयास गर्यो । तर, ती सैन्य बललाई पनि रेलवे क्रसिङमा छेकेर सहर प्रवेश गर्नबाट रोकियो । 

पत्रकार विनोद शुक्लाको सहयोगमा हामी जसोतसो अन्तत: घटनास्थलमा पुग्यौँ । तर, त्यतिवेलासम्म मुख्य मस्जिद भत्किसकेको थियो । अगाडि बढ्दै जाँदा हामी चढेको गाडीमा त्रिशूल र लाठी बोकेका स्थानीय करसेवकको भिडले आक्रमण गर्यो । उनीहरूले मार्क टलीलाई चिनिहाले । उनीहरू अघिल्लो बिबिसी कभरेजप्रति क्रोधित देखिन्थे । कारमा थप आक्रमण गर्नुको सट्टा भिडले हाम्रो पाँचजनाको टोलीलाई नजिकै एक घरमा लगेर बन्द गर्ने निर्णय गर्यो । उनीहरू सायद बचेखुचेका संरचना भत्काउने कामलाई पहिलो प्राथमिकता दिन चाहन्थे । 

दुई घण्टा एउटा कोठामा बन्द भएपछि ‘बडा स्थान’का एक महन्त हामीलाई सहयोग गर्न आइपुगे । उनले मार्क टलीलाई आफ्नो पहिचान लुकाउन गम्छा दिए र समूहलाई ‘करसेवक’ले लगाएको बन्दना लगाउने सुझाव दिए । हामीलाई उत्तर प्रदेश प्रहरीको ट्रकमा राखेर होटेल सान–ए–अबधमा लगियो । होटेलमा राति आठ बजे पुगेपछि बल्ल हामीले सुरक्षित महसुस गरेका थियौँ । 

सन् १९८९ को आमचुनाव होस् वा भिपी सिंहको राष्ट्रिय मोर्चा सरकारको गठन र त्यसपछिको पतन होस्, वा १९९० मा चन्द्रशेखरको सरकारको गठन होस्, म भारतमा घटेका ठुल्ठुला घटनामा मार्क टलीसँगै घटनास्थलमै उत्रिन पाएँ । यसप्रति म सौभाग्यशाली महसुस गर्छु । 

(भारतका भेट्रान पत्रकार अलीले आधुनिक भारतका प्रमुख राजनीतिक, सामाजिक र आर्थिक विकासको कभर गरेका छन्)
द वायरबाट 

सुझावित समाचार