दुई करोड ३० लाख समानुपातिक मतपत्र तयार

प्रत्यक्षका दुई करोड तीन लाख माघ मसान्तसम्म सकिने

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ । भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रले दुई करोड ३० लाख मतपत्र छापेको हो । सुरुमा निर्वाचन आयोगले दुई करोड ५० लाख स्टिमेट गरेको थियो । तर, दुई करोड ३० लाख मात्रै भए पनि पुग्ने भनेपछि यति नै छापिएको जनक शिक्षाका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

आयोगका अनुसार समानुपातिक मतपत्र तयार भएपछि मंगलबार साँझदेखि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त रामचन्द्र भण्डारीले उद्घाटन गरेपछि डोल्पाको प्रत्यक्षतर्फको मतपत्र छापिएको थियो । प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र चाहिने बताइएको छ ।

‘प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र चाहिन्छ, यही माघ मसान्तसम्म छापेर सकिन्छ,’ जनक शिक्षाका प्रवक्ता कुँवरले भने, ‘त्यसपछि ढुवानी सुरु हुन्छ, हामी सुरुमा कर्णालीको मतपत्र ढुवानी गर्छौँ ।’

उनका अनुसार टाढा र उच्च हिमाली क्षेत्रको मतपत्र हेलिकोप्टरबाट ढुवानी गरिनेछ । मतपत्र ढुवानी गर्दा सेनाले सुरक्षा दिनेछ । १० फागुनसम्म सबै जिल्लाहरूमा मतपत्र पुर्याउने लक्ष्य छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र राखिनेछ । 

See More On

सुझावित समाचार