सुनसरीमा झन्डै १०० केजी गाँजासहित दुईजना पक्राउ

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै अवैध रूपमा लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले सुनसरीबाट ठुलो परिमाणमा गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति करिब ९:३० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–६, भोटेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन चेकजाँच गरिरहेको थियो। सो क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को २ ह ६१२५ नम्बरको अटो रोक्न खोज्दा चालकले अटेरी गर्दै भाग्न प्रयास गरेपछि अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाको सहयोगमा इनरुवा–४ क्षेत्रबाट अटो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अटोको खानतलासी गर्दा करिब ९९ दशमलव १ केजी गाँजा बरामद भएको प्रहरीले पुष्टि गरेको छ। उक्त घटनामा अटोचालक धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–७ निवासी २५ वर्षीय साजन लिम्बू र अटोमा सवार १९ वर्षीय गगन लिम्बूलाई लागुऔषध तथा सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जानकारी दिएको छ।

सुझावित समाचार