प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको स्थलगत अनुगमन गरेकी छिन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको फास्ट ट्र्याकको निर्माण प्रगति, गुणस्तर तथा समग्र अवस्थाको मूल्यांकन गर्न प्रधानमन्त्री स्वयं अनुगमनमा आएकी हुन्।
सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री कार्कीले फास्ट ट्रयाकको ललितपुरको खोकना, मकवानपुरको लेनडाँडा र बाराको निजगढमा अनुगमन गरेकी हुन्। केही माग सडकबाट समेत अनुगमन र निरीक्षण गरिन्। प्रधानमन्त्री कार्कीले फास्ट ट्र्याक निर्माणको अवस्थाबारे सेनासँग विस्तृत जानकारी लिएकी छिन्।
फास्ट ट्रयाकको लम्बाई ७२.५ किलोमिटर निर्धारण गरिएको छ। द्रुतमार्गको इन्टरसेक्सन निर्माण गरिने र ६.४ किलोमिटरमा सुरुङ बन्ने छन्। फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि १ घण्टा २ मिनेटमा काठमाडौँबाट बारा जिल्लाको निजगढ पुग्न सकिने छ।
सेनाले २०७० सालमा फास्ट ट्रयाकको १२० किलोमिटर ट्रयाक खोलेको थियो। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यसको जिम्मा सेनालाई दिइएको हो।
स्मार्ट सिटीका आयोजना रोकिँएको भन्दै नगरप्रमुखले गराए ध्यानाकर्षण
प्रधानमन्त्री कार्की मंगलबार निजगढ आएको अवसरमा निजगढ नगरपालिकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। निजगढ नगरपालिकाले स्मार्ट सिटी अवधारणाअन्तर्गत संघीय सरकारबाट विनियोजित भए पनि हालसम्म रोकिएका ५ वटा महत्वपूर्ण पूर्वाधार आयोजनाहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो।
नगरप्रमुख सुरथ पुरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै निजगढ नगरपालिका राष्ट्रिय गौरवका चार ठूला आयोजनाको संगमस्थल भएको स्मरण गराएका छन्। फास्ट ट्र्याकको प्रवेश विन्दु, प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग तथा वीरगन्ज–काठमाडौं रेलमार्गको संयुक्त स्टेसनजस्ता आयोजनाहरू निजगढसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा यहाँको विकास देशकै रणनीतिक विकाससँग सम्बन्धित रहेको नगरपालिकाले जनाएको छ।
स्मार्ट सिटी कार्यक्रमअन्तर्गत प्रतिआयोजना ३ करोड रुपैयाँका दरले ५ वटा आयोजना संघीय सरकारबाट छनोट भई बजेट विनियोजन भए पनि हालसम्म ती आयोजनाहरु कार्यान्वयनमा आउन नसक्दा नगरको समग्र विकास प्रक्रिया प्रभावित भएको पत्रमा उल्लेख छ। रोकिएका आयोजनाहरुमा स्मार्ट एप्लिकेशन सहितको बसपार्क निर्माण, विभिन्न वडाहरुमा सडक स्तरोन्नति तथा कालोपत्रे, गौरीशंकर क्याम्पस तथा सामुदायिक विद्यालय भवन निर्माण, साथै गणेशमान सिंह पार्क मोहोरी व्यवस्थापन जस्ता परियोजना छन्।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले निजगढका विकास आयोजनाहरुको कार्यान्वयनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले स्मार्ट सिटीअन्तर्गत रोकिएका आयोजनाहरु नगरको दीर्घकालीन विकाससँग जोडिएको उल्लेख गर्दै संघीय सरकारको प्राथमिकतामा राखिने बताइन्।