संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ८ बजेतिर मोरङ केराबारी गाउँपालिका–१० घर भई हाल अरुण तेस्रोमा कार्यरत २२ वर्षका बाउट तामाङ मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
उनका अनुसार जिल्लाको मकालु गाउँपालिका–५ स्थित अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानको उत्तर-दक्षिण कोशी राजमार्गको नालीमा तामाङ मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमान्डमा टोली खटिएको छ। घटनास्थललाई सुरक्षित राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको काम अगाडि बढेको प्रहरीले जनाएको छ।