गृहमन्त्री अर्यालद्वारा कारागारहरुको निरीक्षणः सुधारका लागि निर्देशन

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौंमा रहेका दुई कारागार कार्यालयहरु केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गरेका छन्। 

गृह सचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत उच्च अधिकारीको टोली लिई उनी कारागार निरीक्षणको लागि पुगेका हुन्।  मन्त्री अर्यालले दुई कारागार कार्यालयहरु र एक कारागार अस्पतालको निरिक्षणको क्रममा कारागारहरु र अस्पतालको वस्तुस्थितीबारे जानकारी लिई गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन  दिएका छन्। 

  केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गर्नुभई त्यहाँ राखिएका कैदिबन्दीसँग भेट गरी उनीहरुका पीरमर्का, गुनासाहरुबारे जानकारी  लिएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरुमा पुगी त्यहाँ राखीएका बन्दीहरुसँग समेत भेटघाट  गरी राज्यका तर्फबाट बन्दीहरुलाई उपलब्ध गराईएका सुविधा प्राप्तिको अवस्थाबारे चासो व्यक्त गरे। 

निरीक्षणको क्रममा सम्बन्धित कारागारका कारागार प्रशासकहरुले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरुको संख्या लगायतबारे मन्त्री अर्याललाई जानकारी गराएका थिए। मन्त्री अर्यालले कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरुको सम्बन्धमा चिन्ता र चासो व्यक्त गर्नुभई उनीहरुको सजाय भुक्तानका सम्बन्धमा कानून अनुसार प्राप्त हुने राहत उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे। 

मन्त्री अर्यालले कारागारहरुको निरीक्षण पश्चात बन्दीगृहमा मानव अधिकारको प्रत्याभूतीमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।त्यस्तै मन्त्री अर्यालले कारागार कार्यालयहरुको भौतिक पुर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोगको प्रतिवबद्धा व्यक्त गरे।  कारागार व्यवस्थापन विभाग मार्फत कारागार कार्यालयहरुको सुधारको मार्गचित्र यथासिघ्र मन्त्रालयमा पेश गर्न सम्बन्धित कारागार प्रशासकहरुलाई  उनले निर्देशन दिएका छन्। 

केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरी मन्त्री अर्यालले अस्पतालमा उपचाररत बन्दीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

केन्द्रीय कारागारमा उनले पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वप्रदेश प्रमुख राजेश अहिराज(झा) पनि भेटेर पनि उनीहरुका गुनासा सुनेका थिए। रायमाझी नक्कली भुटानी प्रकरण तथा झा बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार परेका हुन्। 

सुझावित समाचार