स्वास्थ्य जागरणका लागि महिला स्वयंसेविकाको सम्मेलन

मंगलबार, १३ माघ, २०८२
डिजिटल संस्करण

समुदायको भरोसाको रूपमा मानिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई समाजमा थप सक्रिय बनाउने उद्देश्यका साथ बागलुङमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मेलन गरिएको छ। बागलुङ नगरपालिकाको आयोजनामा प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङ नगरभित्रका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाको सहभागितामा सम्मेलन सम्पन्न गरिएको हो । स्वास्थ्यमा जागरणका साथै सचेतना अभिवृद्धि गर्ने र उनीहरूको समस्या बुझ्नका निम्ति सम्मेलन गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।   

सम्मेलनमा सुरक्षित मातृत्व, पोषण, खोप, परिवार नियोजन तथा मातृमृत्युको अवस्थाबारे छलफल गरिएको थियो । अल्पकालीन सेवा केन्द्रबारे जानकारीका साथै लैंगिक हिंसा न्यूनीकरण दीर्घरोगको प्रारम्भिक पहिचानमा महिला स्वयंसेविकाको भूमिकाबारे समेत स्वयंसेविकासँग छलफल गरिएको थियो। कार्यक्रममा समाजमा बढ्दो आत्महत्या न्यूनीकरणका निम्ति गर्न सकिने प्रयास र स्वस्थ समाज निर्माणमा महिला स्वास्थ्य स्वयंसेविकाले खेल्न सक्ने भूमिकाको विषयमा समेत छलफल गरिएको जनस्वास्थ्य अधिकृत खनालले बताए । 

नगरपालिकाभित्रका १९७ जना महिला स्वास्थ्य स्वयंसेविकामध्ये १३८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीय तह र स्वास्थ्य संस्थाबिच समन्वय मजबुत बनाएर स्वयंसेविकामार्फत समुदाय तहमा स्वास्थ्य जागरण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूको समुदायमा सेवा प्रदान गर्दा भोग्नुपरेका चुनौती, तालिम र सामग्रीको आवश्यकता तथा प्रोत्साहनका विषयमा आफ्ना अनुभव राखेका थिए । उनीहरूले समुदायमा स्वास्थ्यसम्बन्धी गलत धारणा तोड्न निरन्तर सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

सम्मेलनमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविका हाम्रो समाजको धरोहर भएको बताए । ‘तपाईंहरू समाजको पहिलो डाक्टर हो, तपाईंहरू केवल स्वयंसेविका मात्र हाेइन, आमाको जीवन रक्षक हो, शिशुको पहिलो सुरक्षा घेरा हो र समुदायको भरोसा हो,’ उनले भने, ‘स्वस्थ समाज निर्माणका निम्ति तपाईंहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । स्वास्थ्यका हरेक सूचकलाई माथि ल्याउने भूमिका स्वयंसेविकाकै हो ।’ उनले घर–घरमा स्वास्थ्य सन्देश पुर्याउने, जोखिममा परेका गर्भवती र सुत्केरीको पहिचान गर्ने तथा स्वास्थ्य संस्थासँग समुदायलाई जोड्ने काममा स्वयंसेविकाको योगदान महत्त्वपूर्ण रहेको बताएका थिए । 

सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा  स्वयंसेविकालाई स्वास्थ्य विकास कार्यक्रम निःशुल्क र निरन्तर हुनुपर्ने, चाडपर्वमा भत्ताको व्यवस्था हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा सबै स्वास्थ्य स्वयंसेविकालाई दिनुपर्ने र त्यसका लागि बजेटको व्यवस्था गर्नुपर्ने, सबै वडामा स्वयंसेविका कोषको व्यवस्था हुनुपर्ने र आगामी सम्मेलनमा वडाध्यक्ष र स्वास्थ्य संस्था प्रमुखसहित सम्मेलनमा सहभागिता हुने लगायतका विषयवस्तु समेटिएको छ । कार्यक्रममा स्वयंसेविकाले राखेका समस्यालाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आगामी नीति तथा कार्यक्रममार्फत क्रमशः  सम्बाेधन गर्ने बताए । 

सुझावित समाचार