सोमबार : १० बजेसम्मका १० मुख्य खबर

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

बालेन सुदूरपश्चिम पुगे

चुनावी दौडधुपका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह पश्चिमका जिल्ला पुगेका हुन्। सोमबार उनी नेपालगन्ज हुँदै बर्दिया पुगेका छन्। उनी कैलाली, कञ्चनपुर, डडेल्धुरा हुँदै अछामसम्म पुग्ने कार्यक्रम छ। 

बाँके र बर्दियामा बालेनले स्वागत गर्नेको ठुलो भिड लागेको थियो। खासगरी ठुलो संख्यामा युवा वर्ग उनलाई भेट्न पुगेका छन्। ती जिल्लामा उनले रास्वपाका उम्मेदवार तथा नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। 

रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेनले गत साता पूर्वी पहाडमा ६ दिन बिताएका थिए। पूर्वी जिल्लामा पनि उनको क्रेज देखिएको थियो। 

गगन सर्लाही झरे

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन् । सोमबार सर्लाही निर्वाचन क्षेत्र नम्बर–४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेश पढ्न र बुझ्न आएको बताए । सिमरा विमान स्थलबाट आर्लेपछि ठाउँठाउँमा मधेशका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई निकै उत्साहित बनाएको सभापति थापाले बताए । 

आफू नेपाली कांग्रेसको कार्यकर्ता भएको हैसियतले मधेशले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुण आफूले पढेर जानेको उनको भनाई थियो । केही समय पहिला सम्म सिराहा, सप्तरी, सर्लाहीबाट शिक्षक नगए पहाडी क्षेत्रमा गणित र विज्ञान पढाउने शिक्षक नहुने अवस्थाबाट मधेशमा कसरी शिक्षाको अवस्था यस्तो भयो भनेर प्रश्नसमेत गरे । यस पहिला आफूले मधेशको प्रश्नमात्र बुझेको भन्दै उहाँले यस पटक जवाफ खोज्नेसमेत दाबी गरे ।

नेपालको विश्वकप खेल्ने सपना अधुरै

स्कटल्यान्डसँग समूह ‘बी’को निर्णायक खेलमा ७२ रनले पराजित हुँदा घरेलु टोली नेपालको आइसिसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरै रहेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको ग्लोबल छनोटमा नेपालले तेस्रो हार व्यहोरेसँगै सुपरसिक्सबाट आउट भएको हो।

नेपालले पहिलोपटक विदेशी प्रशिक्षक भित्र्याउँदै विश्वकप खेल्ने सपना बनाएको थियो। तर, भारतीय प्रशिक्षक हर्षल पाठकले पनि यो योजना सफल बनाउन सकेनन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदा १४१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले १३.४ ओभरमा अलआउट हुँदा मात्र ६८ रन बनाउन सक्यो।

प्रतियोगिताको समूह ‘बी’मा तेस्रो हार व्यहोरेपछि नेपालको इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप खेल्ने सम्भावना सकिएको छ। नेपालको हारसँगै समूह ‘बी’मा नेदरल्यान्ड्ससँगै विजयी भएको स्कटल्यान्ड र एक खेलअघि नै थाइल्यान्ड पनि सुपरसिक्समा प्रवेश गरेका छन्। यसअघि नै समूहबाट जिम्बावे पनि बाहिरिएको थियो।

भारतीयलाई नेपाली नागरिकता दिने कर्मचारीसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा कर्मचारीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो।

दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवास, राजपुर गाउँपालिका– ४ का वडाध्यक्ष रामेश्वर अहिर, सोही वडाका तत्कालीन वडासचिव राजेशकुमार कहार र कार्यालय सहायक मीना चौधरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। भारतीय नागरिक आलम जोल्हा र आएसा जोल्हालाई पनि मतियारका रूपमा अख्तियारले प्रतिवादी बनाएको छ।

मंगलबार र बुधबार हिमपात तथा वर्षाको सम्भावना 

माघ १३ गते मंगलबार र १४ गते बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा  मध्यम वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा मेघगर्जन÷चट्याङ्ग सहित वर्षाको समेत सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । महाशाखाले भनेको छ‘ सो को प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’ 

रवि लामिछाने र बालेनलाई प्रकाश सपूतको आग्रह–अब जनतालाई निराश बनाउने छुट तपाईंहरूलाई छैन

गायक प्रकाश सपूतले नेता र निर्वाचनप्रति जनताको विश्वास उडिसकेकाले अब उनीहरूलाई निरास नबनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई आग्रह गरेका छन्। रास्वपाको समानुपातिक उम्मेदवार रहेका सपूतले विचारको भारी नभई सुधार, विकास र समृद्धिको जिम्मेवारी बोक्नु आग्रह गरेका छन्। 

उम्मेदवार मनोनयनका क्रममा पैसा बाँडेको भन्दै नेकपाका शक्ति बस्नेतसँग आयोगले माग्यो स्पष्टीकरण

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार बनेका शक्ति बस्नेतसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सोमबार जाजरकोट निर्वाचन आयोगले पत्र काट्दै तीन दिनभित्र आयोगमा स्पष्टीकरण दिन आग्रह गरेको छ ।

उनले उम्मेदवार मनोनयनका क्रममा पाँच सय रुपैयाँका नोट बाँडिएको श्रव्यदृश्य सामग्री बाहिरिएकाले सत्यसत्य के हो बताउन आयोगले आग्रह गरेको छ । यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत भएको आयोगको ठहर छ ।  

रजत महोत्सवका अवसरमा आयोजित सशस्त्र प्रहरीको पूर्व–पश्चिम झन्डा मार्च कार्यक्रम समापन

२५औँ स्थापना दिवस (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरीले सञ्चालन भएको पूर्व–पश्चिम झन्डा मार्च कार्यक्रम समापन भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यक्रमको समापन गरेका हुन्। 

 कार्यक्रममा महानिरीक्षक अर्यालले सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग र समर्पण महत्वपूर्ण रहेको चर्चा गर्दै राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा, अपराध नियन्त्रणमा यस अभियानले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।  

भौगोलिक रूपमा कठिन सीमा सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिका उल्लेख  गर्दै यो झन्डा मार्चसँगै सीमा सुरक्षित छ भन्ने कुरा महसुस भएको बताए। 

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

सरकारले चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्ने स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

अर्यालका अनुसार सुतीखोला जलविद्युत आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको हो।

रौतहटमा मूर्ति विसर्जनका क्रममा झडप, आधा दर्जनभन्दा बढी घाइते

रौतहटको परोहा नगरपालिका– ९, रामपुर टोलमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा झडप भएको छ।

सार्वजनिक सडक हुँदै प्रहरीको सुरक्षा व्यवस्थाबिच मूर्ति विसर्जनका लागि लैजाँदै गरिएको ट्याक्टरमाथि मुस्लिम टोलनजिक अचानक ढुंगामुढा सुरु भएको स्थानीयले बताए। घटनामा आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

घटनापछि सम्पूर्ण क्षेत्र तनावग्रस्त बनेको छ। शान्ति–सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीयवासी त्रसित बनेका छन्। स्थानीयका अनुसार यस क्षेत्रमा यस किसिमका झडप तथा तनावपूर्ण अवस्था पटकपटक दोहोरिँदै आएको छ।

नेप्से तीन अंकले घट्दा १६ अर्ब बढीको कारोबार

आइतबार ५७ अंकले बढेको नेप्से परिसूचक सोमबार ३.०७ अंकले घटेको छ। नेप्से ०.११ प्रतिशतले घटेर दुई हजार ७६९.०९ विन्दुमा कायम भएको हो।

नेप्से सूचक घट्दा कारोबार रकममा भने वृद्धि भएको छ। आइतबार साढे १३ अर्बको सेयर कारोबार भएकोमा आज १६ अर्ब १९ करोड ३४ लाख ७४ हजार रुपैयाँ पुगेको छ। ३३२ कम्पनीका तीन करोड ६२ लाख ६४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सो रकमबराबरको कारोबार भएको हो।

आज नेप्सेका १३ समूहमध्ये चार समूहको सूचक मात्रै उकालो लागेको छ। होटेल तथा पर्यटन सर्वाधिक १.६७ प्रतिशत बढ्दा बाँकी सबै समूहमा एक प्रतिशतभन्दा कमको घटबढ देखिएको हो।

बजार घटे पनि आज पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्वी इनर्जी, सप्तकोशी विकास बैंक र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

आज सर्वाधिक गुमाउनेमा नेसनल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त कम्पनी ३.१२ प्रतिशतले घट्दा कालिका पावर र ज्योति विकास बैंक दुई प्रतिशतभन्दा धेरैले घटेका छन्।

सुझावित समाचार