मंगलबार र बुधबार हिमपात तथा वर्षाको सम्भावना

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

माघ १३ गते मंगलबार र १४ गते बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा  मध्यम वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा मेघगर्जन÷चट्याङ्ग सहित वर्षाको समेत सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । महाशाखाले भनेको छ‘ सो को प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’ 

यस्तो छ तीन दिनको मौसम पूर्वानुमानः 
२०८२ माघ १२ गते (सोमबार)

राति : कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

२०८२ माघ १३ गते (मंगलबार)

दिउँसोः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागी  बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । 

राति : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा तराई भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गको समेत सम्भावना रहेको छ। 

२०८२ माघ १४ गते (बुधबार)

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ । सबै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । 

राति : देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । 

सुझावित समाचार