रजत महोत्सवका अवसरमा आयोजित सशस्त्र प्रहरीको पूर्व–पश्चिम झन्डा मार्च कार्यक्रम समापन

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

२५औँ स्थापना दिवस (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरीले सञ्चालन भएको पूर्व–पश्चिम झन्डा मार्च कार्यक्रम समापन भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यक्रमको समापन गरेका हुन्। 

  कार्यक्रममा महानिरीक्षक अर्यालले सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग र समर्पण महत्वपूर्ण रहेको चर्चा गर्दै राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा, अपराध नियन्त्रणमा यस अभियानले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।  

भौगोलिक रूपमा कठिन सीमा सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिका उल्लेख  गर्दै यो झन्डा मार्चसँगै सीमा सुरक्षित छ भन्ने कुरा महसुस भएको बताए।  

    सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी बल नेपाल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल र नं. ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले झन्डा हस्तान्तरण गरेका थिए । सो झन्ड सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रीय संग्रहालयमा राखिने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

    पौष २० गतेदेखि झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुल तथा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११, गड्डाचौकी सीमा इलाकाबाट पूर्व–पश्चिम झन्डा मार्च कार्यक्रम सुरु गरिएको थियो । नेपालको राष्ट्रिय झन्डा र सशस्त्र प्रहरी बल नेपालको झन्डासहित मार्च गर्ने टोलीले एक जिल्लाबाट अर्को जिल्लामा रहेका सशस्त्र प्रहरी कर्मचारीलाई सो झन्डा हस्तान्तरण गरी सो कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

 सीमा सुरक्षाको प्रतिबद्धता, सतर्कता र उपस्थिति सशक्त रूपमा प्रदर्शन गर्न, संगठनभित्रको समन्वय, टोली भावना सुदृढ र सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । झन्डा मार्चले सशस्त्र प्रहरी बल नेपालको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका झल्काउने विश्वासकासाथ सो कार्यक्रम सञ्चालन गरिएको डिएसपी थापा बताउँछन्। 
 

सुझावित समाचार