पाठेघरको मुखको क्यान्सरविरुद्ध सिराहामा ‘एचपिभी’ खोप अभियान

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

महिलामा हुने पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन किशोरीहरूलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान संचालन गरिने भएको छ।

खोप अभियानका लागि सिराहाको लहानमा सोमबार पालिकास्तरीय खोप समन्वय समितिद्वारा अभिमुखीकरण कार्यक्रम गरिएको छ। अभिमुखीकरणमा एचपिभी खोपसम्बन्धी अभियानको पहिलो चरणमा जिल्लाका १७ मध्ये आठवटा पालिकामा २५ माघदेखि २ फागुनसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय सिराहाकी खोप सुपरभाइजर निरीक्षक सुनिता कँडेलले जानकारी दिइन्।

कँडेलका अनुसार दोस्रो चरणमा आगामी ४ फागुनदेखि १० गतेसम्म बाँकी नौवटा पालिकामा खोप अभियान संचालन गरिनेछ। नेपाल सरकारको मापदण्डअनुसार नियमित खोप अभियानअन्तर्गत पछिल्लो वर्ष जिल्लाभर करिब नौ प्रतिशत किशोरी छुटेका थिए। यो पटक ती सबैलाई समेट्ने गरी सामुदायिक र संस्थागत विद्यालय, त्यसमा छुटेकाको लागि नियमित खोप केन्द्र र त्यहाँ पनि छुटेकाहरुलाई सम्बन्धित स्वास्थ्य संस्थामा खोप लगाइने योजना रहेको उनले बताइन्।

लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सिअहेव अधिकृत बिन्देश्वर चौधरीका अनुसार खोप अभियानको मुख्य लक्षित समूह सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गरिरहेका कक्षा ६ का छात्राहरु, विद्यालय बाहिर रहेका १० वर्षसम्मका किशोरीहरू हुन्। पछिल्लो वर्ष ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरु छुटेकाले योपटक उनीहरूलाई पनि खोप लगाइने उनले बताए। उनका अनुसार लहान नगर क्षेत्रमा गत वर्षको खोप अभियानमा दुई प्रतिशत छात्रा खोपबाट बञ्चित भएका थिए।

पालिकास्तरीय खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख महेशप्रसाद चौधरीले महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको चर्चा गर्दै यसको रोकथामका लागि संचालन गरिएको खोप अभियान सफल बनाउन सबैले सघाउनु पर्ने बताए।

नगरपालिकाको स्वास्थ्य शाखाले गत २१ पुसमा लहान २० र २१ का महिलाहरुका लागि संचालन गरेको ‘प्रजनन् स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ् तथा व्यवस्थापन’ शिविरमा १४० महिलाको पाठेघरको मुख परीक्षण गर्दा १० जनामा क्यान्सर फेला परेको थियो। शाखाका अनुसार त्यसअघि गत जेठ महिनामा वडा नम्बर १५ र १७ मा सञ्चालन गरिएको शिविरमा पाँच महिलामा प्रारम्भिक चरणको क्यान्सरको लक्षण भेटिएको थियो।

सुझावित समाचार