देउवाविना सुदूरपश्चिममा कस्तो रहला कांग्रेसको प्रभाव ?

०४८ यताका अधिकांश निर्वाचनमा देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेस ठुलो दल बन्दै आएको थियो, यसपटक आन्तरिक किचलोका कारण कार्यकर्ता विभाजित मनस्थितिमा रहेका वेला देउवा पनि चुनावी प्रचारमा नदेखिने भएका छन्

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

 १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा विगतका निर्वाचनमा अधिकांश देउवानिकट हुन्थे, अहिले चारजनाले मात्र पाए टिकट

 कांग्रेसका असन्तुष्ट मत आफूलाई आउने विपक्षीको अपेक्षा

कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा यसपटक एकैपटक दुई भूमिकाबाट बाहिर छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि उनी पार्टी सभापतिबाट मुक्त भएका छन् र ०४८ यताका सात संसदीय चुनावमा डडेलधुराबाट निर्वाचित भए पनि यसपटक ‘टिकट नपाएर’ मैदानबाहिर छन् । यस्तोमा कांग्रेसभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमा एउटा प्रश्न छ– देउवाको अनुपस्थितिमा उनको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेसको प्रभाव 
कस्तो रहला ?

देउवा पार्टी नेतृत्वमा नहुँदा सबैभन्दा पहिलो असर कांग्रेसको टिकट वितरणमा देखा परेको छ । पार्टी सभापतिबाट पदमुक्त भएसँगै संसदीय राजनीतिबाट देउवा मात्र होइन, सुुदूरपश्चिमभरि लामो समयदेखि एकछत्र दबदबा रहँदै आएको उनको खेमा नै किनारामा परेको छ । १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा देउवा पक्षमा खुलेरै लागेका चार नेता मात्र टिकट पाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघिका निर्वाचनहरूमा टिकट पाउने अधिकांश देउवा खेमाका हुन्थे । 

टिकट वितरणमा यसपटक सभापति थापा पक्ष हाबी देखिएको छ । कञ्चनपुर २ बाट उम्मेदवार बनेका एनपी साउद, कैलाली ४ मा गोरखबहादुर विष्ट ‘आनन्द’ र अछाम २ बाट पुष्पबहादुर शाह देउवानिकट हुन् । डडेलधुरामा देउवानिकट नैनसिंह महर प्रतिस्पर्धामा छन् । अरू सबै क्षेत्रमा संस्थापन पक्षकालाई उम्मेदवार बनाइएको छ ।

देउवा मात्रै होइन, उनका विश्वासपात्र मानिने नेता रमेश लेखकले कञ्चनपुर ३ बाट टिकट पाएनन् । यहाँ हरि बोहरा उम्मेदवार बनेका छन् । यसअघि देउवा खेमामै रहेका बोहरा विशेष महाधिवेशनदेखि संस्थापन पक्षको कित्तामा उभिएको कांग्रेस नेताहरू बताउँछन् । केपी ओली नेतृत्वको अघिल्लो सरकारमा गृहमन्त्री हुँदा लेखक भिजिट भिसाको आवरणमा त्रिभुवन विमानस्थलबाट हुने गरेको ‘मानव तस्करी’ प्रकरणदेखि अन्तरजातीय विवाह गरेका युवालाई अपहरणकारीको आरोपमा पक्राउ गर्ने उद्देश्यसहित मुम्बईसम्म प्रहरी पठाउनेलगायतका प्रकरणमा मुछिएर ‘बदनाम’ भएका थिए । 

त्यस्तै, देउवा तथा नेतृ आरजु राणाको नाम कैलाली ५ बाट सिफारिस गरिएको थियो । तर, कांग्रेसले पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह मनुलाई टिकट दिएको छ । उनी नेता शेखर कोइरालानिकट हुन् । दार्चुलामा लामो समयदेखि कोइराला पक्षमा रहँदै आएका नेता दिलेन्द्रप्रसाद बडूनिकट धर्मानन्द जोशी कांग्रेसबाट उम्मेदवार बनेका छन् ।

देउवानिकट कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर कैलाली ४ मा टिकट पाएर पनि चुनाव लड्न तयार भएनन् । देउवासहित आफ्नो पक्षलाई प्रदेशभरि उपेक्षा गरिएको विरोधस्वरूप बलायरले चुनाव लड्न अस्वीकार गरेको उनीनिकट एक नेताले बताए । ०७९ मा कांग्रेस, तत्कालीन माओवादी र एकीकृत समाजवादी गठबन्धनसहित निर्वाचनमा जाँदा सुदूरपश्चिमका १६ मध्ये ९ क्षेत्र कांग्रेसको भागमा परेका थिए । जसमा सात उम्मेदवार देउवा पक्षका थिए । डडेलधुराबाट देउवा आफँै चुनाव लडेका थिए भने अछाम २ मा आफ्नो खेमाका पुष्पबहादुर शाह, कैलाली ५ मा डिल्लीराज पन्त, कैलाली ४ मा वीरबहादुर बलायर, कैलाली १ मा रामजनम चौधरी, कञ्चनपुर २ मा एनपी साउद र कञ्चनपुर ३ मा रमेश लेखकलाई टिकट दिएका थिए । इतरसमूहबाट दार्चुलामा दिलेन्द्रप्रसाद बडू र बाजुरामा बद्री पाण्डेले मात्रै टिकट पाएका थिए । कैलाली १ बाट उम्मेदवार बनेका चौधरी मात्रै निर्वाचनमा पराजित भएका थिए । १६ मध्ये आठ सिट जितेर कांग्रेस सुदूरपश्चिममा पहिलो दल बनेको थियो । 

यो निर्वाचनमा सुदूरपश्चिममा कुल १७ लाख १६ हजार ६६० मतदाता छन् । ४२ हजार ३१ मतदाता यसपटक नयाँ थपिएका हुन् । पार्टीभित्रको आन्तरिक किचलोबिच पुराना परम्परागत प्रतिस्पर्धीसँगै मैदानमा उत्रिएका नयाँ दलसमेतले कांग्रेसलाई यसपटक चुनौती दिँदै छन् । सुदूरपश्चिममा पार्टीभित्र देउवा पक्षको बलियो उपस्थिति छ । प्रदेश सभापतिसहित नौमध्ये ६ जिल्लाका सभापतिले पार्टीको विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ति नै जारी गरेका थिए । बैतडी सभापति चतुरबहादुर चन्द मात्र विशेष महाधिवेशनको पक्षमा खुलेरै लागेका थिए । उनी अहिले बैतडीबाट चुनावी मैदानमा छन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका एक पदाधिकारीका अनुसार सुदूरपश्चिममा क्रियाशील सदस्यता संख्यादेखि पार्टीका कमिटीमा करिब ७० प्रतिशत देउवा र ३० प्रतिशत इतर पक्षको प्रतिनिधित्व रहँदै आएको थियो । विगतदेखि प्रदेशभरि नै कमजोर प्रतिनिधित्व रहेको तत्कालीन इतर पक्ष टिकटमा हाबी देखिएपछि कार्यकर्ता तहसम्मै तीव्र असन्तुष्टि छ । ‘देउवालाई अपमानजनक रूपमा कर्नरमा पारिएपछि यहाँ कार्यकर्ताको ठुलो पंक्ति रुष्ट छ,’ देउवापक्षीय ती पदाधिकारीले भने, ‘टिकट वितरण पनि एकलौटीजस्तै गरियो । निर्वाचनका वेला कार्यकर्ता तहसम्मै पुगेको विभाजित मनस्थितिको असर स्वाभाविक रूपमा चुनावमा पर्छ नै ।’ नेता–कार्यकर्ताको विभाजित मन मिलाएर चुनावमा एकढिक्का भएर जाने विषय उम्मेदवारमा पनि भर पर्ने उनले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक कामदेव चटौत सुदूरपश्चिममा कांग्रेसभित्र बलियो पकड रहेको देउवा पक्षलाई टिकट वितरणमा गरिएको उपेक्षाले चुनावमा असर पर्न सक्ने बताउँछन् । त्यसको फाइदा खासगरी नयाँ पार्टीका उम्मेदवारलाई हुन सक्ने उनको विश्लेषण छ । ‘चुनावको मुखमा देखिएको विशेष महाधिवेशनको विवाद र टिकट वितरणको अवस्थाले कार्यकर्ता तहसम्म विभाजित मनस्थिति देखिन्छ । यद्यपि, मनोविज्ञान एक दिनमै पनि परिवर्तन हुन सक्छ,’ चटौतले भने, ‘नेता–कार्यकर्ता चुनावी अभियानमा सहभागी त होलान्, तर उपस्थित हुनु र मिहिनेत गरेर लागिदिनु फरक हो । उम्मेदवारले पार्टीभित्रको कुरा कसरी मिलाएर लैजान्छन् भन्नेमा पनि भर पर्ला ।’ 

देउवाप्रति सहानुभूति राख्ने परम्परागत मत प्रभावित हुन सक्ने उनको बुझाइ छ । कतिपय कार्यकर्ता र नागरिक तहमा भने प्रमुख तीन दलका पुरानो नेतृत्व फेरिनुपर्छ भन्ने मत रहेको चटौतले बताए । ‘पटक–पटक शासन गरेर पनि देश विकासका लागि पुराना दलले केही गरेनन्, पुरानो नेतृत्व फेरिनुपर्छ भन्ने आवाज पनि छ,’ उनले भने ।

राजनीतिशास्त्रका सेवानिवृत्त प्राध्यापक डा. मुकुन्द कलौनी भने पार्टीभित्र समूहगत मतभिन्नता हुनु सामान्य विषय भएको बताउँछन् । सोही कारणले मात्र कांग्रेसलाई चुनावमा खासै असर नपर्ने उनको बुझाइ छ । ‘पहिले देउवा पक्ष हाबी थियो, अहिले अर्को पक्ष हाबी छ । कांग्रेसमा एउटा समूहको आधिपत्यता देखिए पनि विचारधारा एउटै भएकाले निर्वाचनमा खासै असर पर्ने देखिँदैन,’ कलौनीले भने, ‘राजनीति शक्तिउन्मुख हुन्छ । हिजो देउवा समूहमा रहेकाहरू बिस्तारै गगनतिर जान्छन् ।’ कांग्रेस, एमाले र माओवादीप्रति असन्तुष्टिको फाइदा यो चुनावमा नयाँले लिने देखिएको उनले बताए । कांग्रेसमा टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कैलाली २ मा मोहनसिंह राठौर र बैतडीमा तेजबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, दुवैजनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । कैलाली २ मा कांग्रेसबाट विजयबहादुर स्वाँर र बैतडीमा चतुरबहादुर चन्द उम्मेदवार छन् । 

सुदूरपश्चिममा विगतदेखि नै देउवाइतर पक्षको नेतृत्व गर्नेमध्येका नेता भरतबहादुर खड्काले आन्तरिक विवादले केही असहज भए पनि चुनावसम्म सबै मिलेर जाने बताए । पार्टीभित्रको असन्तुष्टि अरूलाई मत दिएर व्यक्त नहुने उनको दाबी छ । उनले मनोनयन दर्ता र त्यसपछि चुनावी अभियानमा देखिएको दुवै पक्षको उपस्थितिले पनि विवादका कारण चुनावमा असर पर्दैन भन्ने देखिएको बताए । उनी डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत हुन् । 

‘पार्टीको आन्तरिक विवादले केही असहजता महसुस त भएकै हो । तर, अहिले सहज हुँदै गएको छ । देउवाले पनि यसलाई अहिले सहजताका साथ लिनुभएको छ,’ खड्काले भने, ‘हिजो हामी एकजना उम्मेदवार नपर्दा पनि एकढिक्का भएर लाग्यौँ । म आफैँ विगतमा सातपटकसम्म उम्मेदवार सिफारिस भएर अहिले टिकट पाएँ । अहिले पनि साथीहरू एकढिक्का भएरै लाग्नुहुन्छ । केही न केही असन्तुष्टि होला, तर पार्टीबाहिर जाने भन्ने हँुदैन ।’ उनले डोटीमा भने पार्टीभित्रको असन्तुष्टिको असर चुनावी अभियानमा नदेखिएको दाबी गरे ।

कांग्रेसभित्रको आन्तरिक विवाद र असन्तुष्टिको फाइदा लिने कुरा उम्मेदवारमा निर्भर हुन सक्ने विश्लेषकहरू बताउँछन् । असन्तुष्ट मत कहाँ जाने भन्ने विषय अरू उम्मेदवारको व्यक्तित्व र सम्बन्धमा पनि भर पर्ने सहप्राध्यापक चटौतले बताए । टिकट वितरणमा असन्तुष्टि जनाउँदै उम्मेदवार बन्न अस्वीकार गरेका कांग्रेस प्रदेश सभापति बलायरले भने पार्टीमा खासै असन्तुष्टि नरहेको दाबी गरे । ‘खासैै असन्तुष्टि छैन । ‘ग्रासरुट लेभल’मा के छ, हेर्दै छौँ । असन्तुष्टि भए पनि मिलिहाल्छ,’ उनले औपचारिक प्रतिक्रिया दिए । 

विपक्षीको बुझाइ– असन्तुष्ट मत आउँछ
रास्वपा सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सैद्धान्तिक रूपमा पनि प्रजातान्त्रिक शक्ति भएकाले स्वाभाविक रूपमा कांग्रेसको मत रास्वपालाई आउने दाबी गरे । ‘सैद्धान्तिक रूपमा पनि नजिक भएकाले असन्तुष्ट मत हामीलाई आउँछ भन्ने आकलन गरेका छौँ,’ उनले भने, ‘कांग्रेस मात्र नभई अरू पार्टीका असन्तुष्ट र समग्रमा देशमा परिवर्तन चाहनेले हामीलाई मत दिन्छन् । किनकि रास्वपाप्रति आममान्छेको अपेक्षा छ ।’ एमालेको पनि त्यस्तै अपेक्षा छ । ‘कांग्रेसमा देखिएको विवादले केही मत डाइभर्ट होला जस्तो छ । त्यस्तो मत कता जान्छ भन्ने कुरा उम्मेदवार हेरेर पनि हुन्छ । मलाईचाहिँ त्यस्ता मत हामीले पाउँछौँ जस्तो लाग्छ,’ एमाले नेता तथा कञ्चनपुर ३ का उम्मेदवार डा. दीपकप्रकाश भट्टले भने, ‘कांग्रेस–एमाले लोकतान्त्रिक शक्ति भएको र विगतमा सहकार्य पनि गरेकाले डाइभर्ट हुने मतहरू हामीकहाँ आउलान् । म आफ्नो क्षेत्रमा आफूले विगतमा गरेका काम र आगामी योजना लिएर मतदातामाझ गइरहेको छु ।’

देउवा चुनाव प्रचारमा पनि नहिँड्ने
निवर्तमान सभापति शेरबहादुर देउवा कांग्रेसको चुनावी प्रचारप्रसारमा नहिँड्ने भएका छन् । जेन–जी आन्दोलनपछि तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आराम गर्न बसेका उनी विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएपछि प्रचारमा पनि नजाने निर्णयमा पुगेका हुन् । हाल उनी महाराजगञ्जस्थित निवासमै आराम गरेर बसेका छन् । ‘उहाँ निर्वाचन प्रचारप्रसारमा जाने कुनै कार्यक्रम छैन । आराम गरेर बस्नुभएको छ, प्रचारप्रसारमा हिँड्नुहुन्न,’ कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवानिकट नेता मीन विश्वकर्माले भने, ‘उहाँको नेतृत्वमा चुनावमा जाँदा पार्टीलाई फाइदा गर्दैन भनेर हस्ताक्षर गरेर विशेष महाधिवेशन गरेपछि फेरि उहाँ प्रचारमा जाने कुरा पनि भएन । उहाँ जानुहुन्न ।’

सुदूरपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक कामदेव चटौतको विश्लेषण– देउवाप्रति सहानुभूति राख्ने परम्परागत मत प्रभावित हुन सक्छ
चुनावको मुखमा देखिएको विशेष महाधिवेशनको विवाद र टिकट वितरणको अवस्थाले कार्यकर्ता तहसम्म विभाजित मनस्थिति देखिन्छ । यद्यपि, मनोविज्ञान एक दिनमै पनि परिवर्तन हुन सक्छ । नेता–कार्यकर्ता चुनावी अभियानमा सहभागी त होलान्, तर उपस्थित हुनु र मिहिनेत गरेर लागिदिनु फरक हो । उम्मेदवारले पार्टीभित्रको कुरा कसरी मिलाएर लैजान्छन् भन्नेमा पनि भर पर्ला । देउवाप्रति सहानुभूति राख्ने परम्परागत मत प्रभावित हुन सक्छ । पटक–पटक शासन गरेर पनि देश विकासका लागि पुराना दलले केही गरेनन्, पुरानो नेतृत्व फेरिनुपर्छ भन्ने आवाज पनि छ ।

सुदूरपश्चिममा विगतदेखि नै देउवाइतर पक्षको नेतृत्व गर्नेमध्येका नेता भरतबहादुर खड्का भन्छन्–पार्टीमा केही असहजता महसुस त भएकै हो, सहज बन्दै छ
पार्टीमा केही असहजता महसुस त भएकै हो । तर, अहिले सहज हुँदै गएको छ । देउवाले पनि यसलाई अहिले सहजताका साथ लिनुभएको छ । हिजो हामी एकजना उम्मेदवार नपर्दा पनि एकढिक्का भएर लाग्यौँ । म आफैँ विगतमा सातपटकसम्म उम्मेदवार सिफारिस भएर अहिले टिकट पाएँ । अहिले पनि साथीहरू एकढिक्का भएरै लाग्नुहुन्छ । केही न केही असन्तुष्टि होला, तर पार्टीबाहिर जाने भन्ने हुँदैन ।

सुझावित समाचार